शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधन गरी सर्वस्वीकार्य बनाइनु पर्छ : डा. भट्टराई

मङ्गलबार, ०६ चैत २०७४, ११ : १६
मङ्गलबार, ०६ चैत २०७४

सिरहा – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनमार्फत् संघीयताको व्यवस्थापन गरी  सर्वस्वीकार्य बनाउनु पर्ने बताएका छन् । 
उक्त पार्टीको सोमबारदेखि लहानमा आयोजित ‘प्रदेश नं. १ र २ को लुम्बिनी बैठक भाव सम्प्रेषण’ कार्यक्रम अन्तर्गत मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक डा. भट्टराईले त्यसका लागि पहिलो संविधानसभाको राज्य पुनःसंरचना समिति र आफू प्रधानमन्त्री रहेको बेला बनेको राज्य पुनःसंरचना आयोगको प्रतिवेदनलाई आधार बनाउनु पर्ने औंल्याए । 
‘जातीय एकता कायम गर्दै तत्काल संविधान संशोधन गरे मात्र मुलुकमा दिगो शान्ति स्थापना हुने र त्यसले विकास समृद्धि कायम हुन्छ’ पत्रकार भेटघाट कार्यक्रममा संयोजक भट्टराईले भने ‘अन्यथा मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने खतरा रहन्छ ।’ 
‘संविधान जारी नै नगर्ने र जसरी भएपनि जारी गर्ने दुई अतिवादी प्रवृत्तिलाई चिर्दै अपूर्ण रहेको संविधानलाई संशोधनमार्फत् पूर्ण बनाउनु पर्ने मान्यतासहित मैले पनि हस्ताक्षर गरें’ उनले भने ‘त्यतिबेला संविधान विरुद्ध ब्ल्याक आउन गर्नेहरु अहिले हात जोडेर सत्ताको भागबण्डामा लाग्दैछन्, त्यसले संविधान संशोधनको मुद्दा पुनः ओझेल पर्ने त होइन भन्ने आशङ्का बढेको छ ।’ 
मुलुकको मधेशी थारु– आदिवासी जनजाती र खस आर्यसहितको मुख्य क्लष्टरलाई समावेशी समानुपातिक प्रतिनिधित्वसहितको राज्य सत्ता बन्न सके मात्र मुलुकमा दिगो शान्ति स्थापना हुने र त्यसका लागि आफ्नो पार्टी लडिरहेको संयोजक डा. भट्टराईले औंल्याए । 
बाम गठबन्धनको सरकारप्रतिको नयाँ शक्तिको धारणाको विषयमा संयोजक भट्टराईले विचार मरिसकेको र आवरण मात्र रहेको गठबन्धन सरकारले मुलुकको समृद्धि र विकासको नारा लगाएपनि मुख्य कुरा संविधान संशोधन नगरी समस्याको हल नहुने र त्यसका लागि आफ्नो पार्टीले प्रतिपक्षमा बसेर राम्रो कामका लागि सघाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप