शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाली चिकित्सक नेपालमा लुकिछिपी डाक्टरी गर्दै

मङ्गलबार, ०६ चैत २०७४, ०६ : २८
मङ्गलबार, ०६ चैत २०७४

तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् ।

बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । अध्यागमन नियमावली २०५१ को दफा २० उपदफा २ मा बिजनेस भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा लिएको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ ।

ने कोर्यो अस्पतालमा १० जना उत्तर कोरियालीले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक हुन् । दुई जनाले प्रशासनिक काम गर्दै आएका छन् ।

उनीहरू कसैसँग पनि कामदार भिसा छैन । उनीहरू कसैले पनि मेडिकल काउन्सिल र श्रम विभागबाट समेत स्वीकृति लिएका छैनन् । सेफरमा कार्यरत डा. को पेक सानले मेडिकल काउन्सिलबाट अनुमति लिएका छन् तर श्रम स्वीकृति लिएका छैनन् ।

श्रम विभागका निर्देशक वरुणकुमार झाले श्रम स्वीकृतिबिना कुनै पनि विदेशी नागरिकले काम गर्न नपाउने बताए । ‘कुनै पनि उत्तर कोरियाली नागरिकले अहिलेसम्म श्रम स्वीकृति लिएका छैनन्,’ निर्देशक झाले अन्नपूर्णसँग भने, ‘वर्क पर्मिट नलिई कुनै विदेशीले काम गर्न पाउँदैनन् । उत्तर कोरियालीले श्रम स्वीकृति लिएको हाम्रो रेकर्डमा देखिँदैन ।’,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप