शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वलेवामा अब उड्नेछन् हप्तामा दुई विमान

सोमबार, ०५ चैत २०७४, १५ : १०
सोमबार, ०५ चैत २०७४

बबिता शर्मा

काठमाडौं–बाग्लुङको वलेवा विमानस्थल अव नियमित संचालनमा आउने भएको छ ।

यसका लागि सोमवार तारा एयरले उडान परिक्षण गरेको छ । 

सफल उडान परिक्षणपछि विमानस्थल नियमित संचालनमा आउने भएको हो । 

यो विमानस्थल २६ बर्षदेखि बन्द थियो । 

परिक्षण उडान सफल भएको प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणले दिएपछि चैत ९ गतेवाट नियमित उडान हुने छ । 

विमानस्थल संचालनको लागि नागरिक उड्ययन प्राधिकरण, निजि विमान कम्पनि तारा एयर र बागलुङ नगरपालिकाबीच सहमति भएको छ । 

सहमति अनुसार चैत्र ९ गते देखि तारा एयर र नेपाल एयरलाइन्सले हप्तामा दुईपटक एक एक उडान भर्ने छन् । 

नागरिक उड्ययन प्राधिकरणका प्रवन्धक इन्दुराज अधिकारीको नेतृत्वमा प्राविधिक टोलीले विमानस्थलको अनुगमन गरेका थिए । 

पोखरावाट तारा एयरको ९एन४केएच विमानले प्राविधिक टोली लिएर उडान परिक्षण गरेको थियो । 

उडान परिक्षण सफल रहेको तारा एयर पोखराका प्रमुख राम लामिछानेले वताए । 

‘सोमवारको परिक्षण उडान सफल भएको र अव नियमित उडान गर्ने भन्ने सन्र्दभमा प्राविधिक टोलीले रिपोर्ट दिन्छ ।’ उनले भने ।

उडान परिक्षणमा प्राविधिक टोलीले अव नियमित उडानमा कुनै समस्या नरहने वताएको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले वताए । ‘ठुला समस्या छैनन्, रनवे केही मिलाउनुपर्छ र वरिपरिका केही काटिएका रुख अझै घटाउनुपर्ने सुझाव आएको छ’ प्रमुख पौडेलले भने, ‘त्यो कामको प्रक्रिया अघि वढाउन समय लाग्दैन ।’

२६ वर्ष देखि बन्द थियो ​

२०१८ सालमा स्थानीय र नेपाल सरकारको संयुक्त पहलमा वलेवा विमानस्थल संचालन गरिएको थियो ।

२०४८ सालमा भूपि शेरचन राजमार्गले पोखरा बागलुङलाई सडक संजालले जोडेपछि हवाई सेवा नचल्ने भन्दै उडान बन्द गरिएको स्थानीय चक्रबहादुर खत्री सम्झन्छन् । ‘२६ वर्ष भयो विमानस्थल संचालनमा नआएको’ उनले भने ।  

पहिलोपटक २०१८ सालमा पिल्सपोर्टर जहाजले बलेवा विमानस्थलमा उडान परिक्षण गरेको थियो । 

उडान परिक्षण पश्चात विमानस्थल संचालनमा आएको थियो । 

३१ बर्षसम्म उडान भरेको विमानस्थल २०४९ मा यात्रु समस्या देखाउँदै वन्द भएको थियो । 

त्यतिवेला वलेवा विमानस्थलवाट पोखरा, भैरहवा र काठमाडौँ उडान हुन्थ्यो । 

चारवर्ष तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मासहित अन्य जिल्लाका अन्य नेताको पहलमा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बिष्टसँगै नेपाल एयरलाईन्सको विमानले उडान परीक्षण गरेको थियो । 

त्यतिवेला केही प्राविधिक कठिनाई देखिएपछि नियमित उडान स्थगित भएको थियो । 

प्राविधिक कठिनाई देखाई तत्काल संचालनमा आउन नसक्ने प्राधिकरणले प्रतिवेदन दिएको थियो । 

त्यसपछि विमानस्थल मर्मतसंभारको लागि सरकारले १ करोड विनियोजन गरेको थियो । 

सोही रकमले धावनमार्गका मर्मत तथा जीर्ण तारबार व्यवस्थापनको काम भएको थियो । 

टर्मिनलको फर्निचर तथा विद्युत मर्मत तथा व्यवस्थापन एंव उडान प्रभावित हुने स्थानका रुख काट्ने कामसमेत पूरा भईसकेको छ । 

विमानस्थल संचालनको सहमति

नेपाल नागरिक उडड्यन प्राधिकरण बबरमहलमा गत पुष ३० गते भएको छलफलपछि बलेवा विमानस्थलमा उडान हुने पक्का भएको थियो ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल र उपमहानिर्देश नरेन्द्र थापा, माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र निवर्तमान सांसद प्रकाश पौडेल तथा नेपाल वायु सेवा निगम, तारा एयर, मकालु एयर, सिम्रिक एयरका प्रतिनिधिबीच तीन बुँदे सहमति भएको थियो ।

जसअनुसार प्राधिकरणले एयरपोर्टको मर्मतसंभार र उपकरणसहितको आवश्यक भौतिक व्यवस्था र कर्मचारीको खटनपटन गर्नेछ । यात्रुको सुनिश्चितता र व्यवसाय विस्तारमा सहयोग पुर्याउने काम बागलुङ नगरपालिकाले गर्ने छ ।

विमानस्थल संचालन गर्न पुन फागुन २३ गते बागलुङ जिल्लाका सांसद, नगरपालिका, व्यवसायी र अन्य सरोकारवाला छलफलका लागि वसेको थियो । 

प्राधिकरण र निजी विमान कम्पनीका प्रतिनिधिको रोहवरमा भएको सम्झौतामा बागलुङ नगरप्रमुख जनकराज पौडेल र नेपाल एयरलाइन्स वाणिज्य विभाग प्रमुख जनकराज कालाखेतीले हस्ताक्षर गरेर आउदो ९ गतेदेखी नियमित उडानको टुंगो लगाएका थिए ।

पौडेल र कालाखेतीले हस्ताक्षर गरेकोे सम्झौतामा प्रत्येक उडानमा १२ सिटभन्दा कम यात्रु भए नगरपालिकाले सिट भारवहन गर्ने उल्लेख छ । 

नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराउने तथा टेष्ट फ्लाईट लगत्तै दुई वायुसेवा कम्पनीलाई दश दश लाख रुपैयाँ अग्रीम जम्मा गर्ने सहमति भएको थियो ।

४५ मिनेटमा काठमाडौं –वलेवा

पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका अनुसार काठमाण्डौदेखि बलेवा सम्म ९६ माइल रहेको छ ।  जसअनुसार काठमाडौं देखि वलेवा सम्म ४० देखि ४५ मिनेटको समय लाग्ने छ । साना जहाजले उडान भर्ने भएकाले समय धेरै लाग्ने तारा एयरका प्राविधिक वताउँछन् ।  

परिक्षण उडान अगावै भाडा दर कायम हुने भन्ने सहमति भए पनि त्यो विषय भने टुङ्गिसकेको छैन । 

उडान परिक्षणको प्रतिवेदन पाए पश्चात पुन वैठक वसि भाडादार कायम गर्ने नगर प्रमखु पौडेलले वताए । पौडेलका अनुुसार न्युनतम ४३०० देखि अधिकतम् ६७०० सम्म भाडाको छलफल भएको छ । हामी न्युनतम गरौँ भनेका छौँ उहांँहरु म्याक्सिमम हुनुपर्छ भन्नु भएको छ । हामी पुन वसेर भाडादर टुङ्गाउछौँ ।’ उनले भने । 

धेरै मिहिनेत पछि विमानस्थल संचालनमा 

वलेवा विमानस्थल संचालनमा ल्याउनको लागि स्थानीयले धेरै मिहिनेत गर्नु पर्यो । ‘धेरै लामो मिहिनेत र प्रतीक्षापछि वलेवा विमानस्थल संचालनको निर्णय गराउन सफल भएका हौँ ।’ बागलुङ नगरपालिकाका मेयर पौडेलले भने, ‘अझै अन्य सेवा–सुविधाका लागि उपयुक्त वातावरण बनाउनुपर्ने छ । 

अहिले मुख्य चुनौति सडकको हो । बागलुङ सदरमुकामदेखि बलेवा विमानस्थलसम्मको सडक विस्तार भएको र अब यसलाई ग्राभेल गरेर कालोपत्रे गर्नतर्फ ध्यान केन्द्रित गरिने उनले वताए । 

धार्मिक तथा पर्यटकीय सम्भावना
विमान संचालनमा आए बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ गुल्मीलगायतका वासिन्दालाई सहज हुने छ । त्योसँगै धौलागिरीका विभिन्न पर्यटकीयस्थल पुग्न सहज हुने छ । पर्यटकको संख्या वृद्धि हुने अपेक्षा छ ।

बलेवासम्मको हवाईयात्रा गरेर म्याग्दी हुदै मुस्ताङको मुक्तिनाथ जाने पर्यटकका लागि सहज हुने छ । मुक्तिनाथ जाने धार्मिक पर्यटकका लागि बाग्लुङको कालिका भगवती मन्दिर र पञ्चकोट, म्याग्दीको गलेश्वरलगायत धार्मिक सम्पदा र म्याग्दीको रूपसे झरना हुुँदै मुस्ताङ पुग्न सकिने छ । 

विमानस्थलछेउबाट उत्तर–दक्षिण जोड्ने कालिगण्डकी करिडोर निर्माण भएको छ । 

मध्यपहाडि राजमार्ग बागलुङ हुदै गएको छ । जसले नेपालको एकमात्र पुरानो ढोरपाटन शिकार आरक्ष सम्म पुग्न अझै सहज हुने भएको छ । 

वलेवा विमानस्थलवाट विभिन्न हिमशृखलाका दृष्य देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप