शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भनिरोधक चक्कीको गलत प्रयोग, ज्यानै जाने खतरा

सोमबार, ०५ चैत २०७४, १३ : ५२
सोमबार, ०५ चैत २०७४

काठमाडौँ । यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । पछिल्लो समय पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको रुपमा नेपाली महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । तर, गर्भनिरोधक चक्की खानु पहिला यसको बारेमा जानकारी लिन जरुरी रहेको चिकित्सकहरुले बताएका छन् ।

यदी गर्भनिरोधकको रुपमा खाने चक्की प्रयोग गर्ने हो भने एक पटक चिकित्सकको सल्लाह लिँदा उचित हुने ग्रिनसिटी अस्पतालकी स्त्रीरोग विशेषज्ञ डाक्टर रुपा झाले बताइन् ।

उनी  भन्छिन्, ‘गर्भनिरोधकको सही तरिकाले प्रयोग गर्दा फाइदा छ  । गलत प्रयोग गर्नुभयो भने ज्यान पनि जान सक्छ ।’

पिल्स, निलोकन, डिपो प्रोभेरालगायत गर्भनिरोधकका अस्थाई साधन हुन । जुन २८ वटा चक्की रहेको हुन्छ । २१ दिनसम्म सेतो चक्की र त्यस पछि खैरो रंगको चक्की खानुपर्ने हुन्छ । डाक्टर झाका अनुसार खैरो चक्की खान शुरु गरेको २ देखि ३ दिनको बीचमा महिनावारी शुरु हुन्छ ।

उनी भन्छिन्, ‘जबसम्म सन्तान जन्माउने तयारी गरिँदैन । त्यो समयसम्म चक्की नियमित खाँदा राम्रो हुन्छ ।’

गलत प्रयोग गर्दा ज्यान जान सक्छ

–डा. झाका अनुसार गर्भनिरोधक खाने चक्कीको मुख्य काम भनेको गर्भ रहनको लागि अण्डा बन्न नदिनु हो  ।  अण्डा बन्नलाई दबाउने काम खाने चक्कीले गरिरहेको हुन्छ ।

–यदी सम्बन्धित दम्पत्तिमा सन्तान जन्माउने चाहना छ भने चक्की खान छाडेको ३ महिना पछि अण्डा राम्रोसँग बन्छ  । कसैको ६ महिनासम्म पनि लम्बिन सक्छ ।  यसमा आत्तिनु पर्ने जरुरी नरहेको उनी बताउँछिन् ।

–खाने चक्की यौनसम्पर्क भएको ४८ घण्टाभित्रमा खाइसक्नुपर्ने हुन्छ । यदी सो समयमा खाने चक्की खान बिर्सिए र  ४८ घण्टा कटेपछि खाएमा चक्कीले काम गर्दैन ।  औषधि ढिला खाँदा बच्चा पाठेघरमा नभई ट्यूबमानै बस्ने सम्भावना हुन्छ । बच्चा बस्नु पर्ने ठाँउ पाठेघर तर त्यहाँ नबसेर ट्युबमा बस्दा पछि ट्युब फुट्ने सम्भावना हुन्छ ।  ट्युब फुटेको खण्डमा ब्लड धेरै बग्ने अनि आमाको ज्यानै पनि जान सक्छ । डा. झाका अनुसार महिनावारी भएको ५ दिन पछि नियमित चक्की खान शुरु गर्नुपर्छ ।

 —यौन सम्पर्क भएको ४८ घण्टा सम्म पनि चक्की खान विर्षनु भयो भने इमेरजेन्सी औषधि खानुपर्ने हुन्छ । 

— यदि तपाईले अस्थाई साधनको रुपमा गर्भनिरोधकको चक्की खाईहरनु भएको छ तर विर्षनु भयो भने जतिबेला सम्झीयो त्यती बेला खानुस । निको ,पिल्स २४ घण्टा भित्र खाईसक्नु पर्छ ।  त्यस पछि नियमित रुपमा खाएको समयलाई पनि निरन्तर्ता दिनुपर्ने हुन्छ ।

– यसो त अनियमित ढङ्गले चक्की खाँदासमेत महिनावारीमा समस्या हुन्छ । एक महिनामा २ पटक सम्म महिनावारी हुने, रगत धेरै जाने, बच्चा बस्न गाह्रो हुने, पाठेघरमा बच्चा नबसेर गलत ठाउँमा बस्ने, जस्ता समस्याहरु देखिन सक्ने डा झाको भनाई छ ।
 
औषधि खाँदा पनि बच्चा रहन सक्छ
झाका अनुसार चक्की सेवन गरेको २८ दिनसम्म महिनावारी भएन भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । ‘खाने चक्की प्रयोग गर्नेको सङ्ख्या मध्ये ०.२३ प्रतिशतलाई औषधि खादा खादै पनि बच्चा बस्ने सम्भावना रहन्छ’, डा. झाको भनाई छ ।

उनी थप्छिन्, ‘तपाईंले अरु एन्टीबायोटीक औषधि पनि खानु भएको छ भने चक्कीको पावर घट्ने हुँदा चक्की खाँदा–खाँदै पनि गर्भ रहन सक्छ  ।’

अहिले चिकित्सकको सल्लाहमा भन्दा पनि आफै सिधै औषधि पसलबाट किनेर खानेहरु धेरै छन् । तर, गर्भनिरोधक साधन प्रयोग गर्नुभन्दा पहिला एकपटक सम्बन्धित चिकित्सकबाट जानकारी लिएर प्रयोग गर्दा राम्रो हुने डा. झाको सुझाव रहेको छ ।

खाने चक्की यदी नियमित सेवन गर्न सम्भव हुन्न भने गर्भनिरोधक अस्थाई साधनमध्ये कण्डम, कपर्टीजस्ता साधनहरु प्रयोग गर्न उनको अनुरोध छ । यस्तै सन्तानको रहर पूरा भइसकेका दम्पतीले भने डिपो प्रयोग गर्नु राम्रो मानिन्छ ।

नवविवाहित जोडीले डिपो प्रयोग नगर्दा राम्रो
नवविवाहित दम्पतीले डिपो प्रयोग गर्नु उचिन नहुने डा. झाको सुझाव छ ।

‘डिपो प्रोभेरा प्रयोग पछि बच्चा बस्नलाई गाह्रो हुने ,पाठेघर पातलो हुने जस्ता समस्या देखा पर्छन्,’ उनले भनिन्, ‘ नयाँ जोडीले गर्भ नबस्नको लागि कण्डम, पिल्स, कपर्टी प्रयोग गर्दा राम्रो हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप