नगरपालिकाकै बासिन्दा महाकालीको पानी पिउन बाध्य
बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।” तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका छन् । आफूहरुलाई खानेपानीको निकै सकस भएको स्थानीयवासी जयन्ती बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “महाकाली किनारका बासिन्दालाई खानेपानीकै समस्याले पिरोलेको हुन्छ ।” महाकालीमा भेल आउँदा खानेपानी भर्न लगेका भाँडाकुँडासमेत नदीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् । आफूहरु वर्षौंदेखि दूषित पानी प्रयोग गर्दै आइरहेको र अहिलेसम्म कसैले समस्या समाधान नगरेको स्थानीयवासी नारु बोहराले बताउनुभयो ।
निर्वाचनका बेला सबै राजनीतिक दलले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि कसैले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको स्थानीयवासीको गुनासो छ । महाकाली किनारका तिरखडेनी र सिम्तडीका बासिन्दाले खानेपानीको निकै समस्या भोग्नुपरेको स्थानीय हरिना पन्तले बताउनुभयो । आफूहरुले सरोकारवालासँग पटक पटक आग्रह गरे पनि केही पहल नभएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाका बासिन्दा भएर पनि आफूहरुलाई नगरवासीको अनुभूति हुन नसकेको महाकाली तटीय क्षेत्रका बासिन्दाले बताएका छन् । दूषित पानी पिउँदा विभिन्न रोगको संक्रमणसमेत देखिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ