शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्मी बढेसँगै घुम्टेमा बढ्न थाले आन्तरिक तथा बाह्य पर्यटक

सोमबार, ०५ चैत २०७४, १२ : १२
सोमबार, ०५ चैत २०७४

थम्मन थापा
 बागलुङ-समुन्द्र सतह देखी १० हजार ३ सय ९३ फिटको उचाईमा अवस्थित पर्यटकिय स्थल घुम्टेमा गर्मी बढेसँगै चहल पहल बढ्न थालेको छ ।
 गर्मी छल्न र प्राकृतिक छटा हेर्दै रमाउनेहरू यहाँ पुग्ने गर्छन् । बाईसे चौविसे राज्य अन्तर्गतको गलकोटलाई चिनाउने यो पहाडमा घुम्दा गुराँसका विभिन्न प्रजाति देख्न पाइन्छ ।
 प्रसिद्ध सिद्ध भैरव लगायतका मन्दिरको पूजा गर्दा आँटेको पुग्ने स्थानीयमा विश्वास छ । गर्मीमा शीतलको मजा लिन जानेहरू घुम्टेमा बास बस्ने गरि जान्छन् । गलकोट दरबारदेखि करीब ४ घण्टा पैदल हिडेपछि पुगिने यहाँ वैशाख पूर्णिमा, नेपाली नयाँ वर्षमा मेला लाग्ने गर्दछ । 

गलकोटेहरूमा धार्मिक विश्वास बढी भएकाले सिद्धबराहको भाकल गरेर पूजा गर्न जानेहरू पनि धेरै छन् । यो गुराँस फुल्ने समय भएकाले पनि घुम्टेमा पुगेरै रातो, सेतो र अन्य रंग मिसिएका गुराँस हेर्ने धेरैले चाहना राख्दछन । घुम्टेमा धैरै रंगका गुराँस फुल्छन् । पर्यटकिय स्थल घुम्टे पहाल जिल्लाको अग्लो पहाड र रमणीय क्षेत्र पनि हो । 

मल्म, हरिचौर, हिल, पाण्डवखानी  र ताराखोलाको बिच भागमा अवस्थित छ । धेरै प्रकारका जडिबुटी पाइने भएकाले जैविक विविधताको खानी पनि भएको स्थानीय बताउँछन् । यो लेकमा पुग्दा देशविदेशका पर्यटक पनि लोभिन्छन् । छिटपुट विदेशी पर्यटक पनि यहाँ बेलाबेला पुग्ने गरेका छन् । गलकोट नगरपालिकाको केन्द्र रहेको हरिचौर र गलकोटे राजाको दरवार भएकाले ऐतिहासिक महत्व समेत राख्ने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका उपाध्यक्ष राजबहादुर थापाले बताए ।
 पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, जडिबुटी संकलन केन्द्र स्थापना गरी उद्योग सञ्चालन गर्ने लगायतका माग केन्द्रले राख्दै आएको छ  । प्रचारप्रसार अभावले ओझेलमा परेको भन्दै चन्दा संकलन गरेर पहाडमा पुग्ने सजिलो मार्ग बनाएको स्थानीय झंकबहादुर बस्नेतले बताए । 
दुई वर्षदेखि पदमार्ग बनाएर घुम्टे पुग्ने पर्यटकलाई सहज बनाइएको छ । घुम्टेको टुप्पोमा पर्यटक बसाल्ने पार्टी र खानेपानीको व्यवस्थापनका लागि केन्द्रले काम गरेको छ । ‘लामो इतिहास बोकेको गलकोट दरबारदेखि घुम्टेको लेक र उच्च स्थानमा रहेका धार्मिक मठमन्दिरलाई पनि पदमार्गले चिनाउनेछ,’ थापाले भने, ‘पर्यटकीय क्षेत्रका रूपमा घोषणा भएमा जिल्लाको विकासलाई पुग्ने रोयल्टी संकलनमा हामी अगुवाइ गर्नेछौं ।’

 पर्यटन क्षेत्र घोषित भएमा वर्षेनी हजारौंले उक्त क्षेत्रको भ्रमण गर्ने सम्भावना रहेको उनले बताए । स्थानीयको अगुवाइमा भएको पदमार्ग निर्माण अभियानमा पर्यटन मन्त्रालयले १३ लाख रुपैयाँ सहयोग गरेको छ । निर्माणाधीन पदमार्ग ६ किलोमिटर उकालो छ । सबै मार्ग निर्माण सम्पन्न नभए पनि सहज आउजाउको व्यवस्था गरिएको छ । आवश्यक पूर्वाधार बनाउने, पर्यटकलाई सहजै पुग्न सक्ने बनाउने काममा नगरपालिकाले पनि पहल थाल्ने नगर प्रमुख भरत शर्मा गैरेले बताए । 

‘नगरको सीमित बजेटलाई प्रयोग गरेर प्रारम्भिक काम गर्छौं,’ उनले भने, ‘पर्यटन क्षेत्रको रुपमा विकास गर्ने अभियानमा भने केन्द्रीय पहल पनि आवश्यक छ ।’ विस्तृत गुरुयोजना बनाएपछि पर्यटन प्रवद्र्धन गर्न सकिने भएकोले समितिलाई त्यसतर्फ लाग्न सुझाव दिएको पनि उनले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप