बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सचिवलाई आवासको दुःख : कसैको गेस्टहाउसमा, कसैको आफन्तकोमा बास

सोमबार, ०५ चैत २०७४, ११ : ३०
सोमबार, ०५ चैत २०७४

तेजेन्द्र के.सी.

बुटवल– बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको बीचमा पर्ने योगीकुटीको भित्री भागमा वन विभागको अनुसन्धान केन्द्र छ ।

वरिपरि पुराना काठका थुप्रा छन् । फराकिलो ठाउँ छ ।

सानो जङ्गलको बीचमा वन अनुसन्धान सर्वेक्षण विभागको सानो गेस्टहाउस छ ।

वर्षेदेखि खाली रहेको गेस्टहाउस अहिले भरिभराउ छ ।

यहाँ अहिले ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देल, उपसचिव सुरेन्द्र पङ्गेनी र अधिकृत विष्णु आचार्य बसेका छन् ।

बुटवलको सुख्खानगरमा रहेको थकाली होटलमा खाना खाने अनि सुत्न यही गेस्ट हाउस जाने गरेको १ महिना भयो ।

यो दैनिकीबाट उनीहरू थाकेका छन् ।

सचिव सिग्देलले रातोपाटीसँग भने, ‘खाना खान दौडेर होटल जाने, फेरि दौडेर सुत्न आउने गरिएको छ । हाम्रो नजिक होटल छैनन् । यस्तैमा बसिएको छ ।’  

यो गेस्ट हाउसमा दुईवटा कोठा छन् ।

प्रत्येक कोठामा दुईवटा बेड छन् ।  

सचिव एउटा कोठाका सुत्छन् । पङ्गेनी र आचार्य अर्कोमा ।

वन मन्त्रालयबाट सरुवा भएर ५ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी निर्वाह गर्न आएका सग्देलले निकै असजिलो मानेर बसेका छन् ।

अन्यत्र बस्ने ठाउँ कतै नपाएपछि वन मन्त्रालय अन्तर्गतको यो गेस्ट हाउसमा उनीहरू पुगेका हुन् ।

‘खासमा यो गेस्ट कोठा हो’, उपसचिव सुरेन्द्र पङ्गेनीले भने, ‘व्यवस्थित छैन । एक दुई दिनको लागि गेस्ट आउँदा राख्ने ठाउँ हो । हामी बसेको एक महिना भयो । अझै कति दिन हो, थाहा छैन ।’

उनीहरू बसेको ठाउँमा इन्टरनेट र फोनको सुविधा पनि छैन ।

चिया र खाजा पनि पाइँदैन । ‘यहाँ चिया खाजाको लागि पनि बाहिर जानुपर्ने अवस्था छ ।’ पोखरा घर भएका सिग्देल गुनासो गरे ।

उनीजस्तै गुनासो पोख्ने प्रदेश नम्बर ५ मा प्रायजसो सचिव नै छन् ।

प्रदेश नम्बर ५ मा ७ वटा मन्त्रालय छन् । मुख्य सचिवसहित ११ जना सचिव छन् ।

मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयमा सचिव दीपेन्द्र काफ्ले र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेम भट्टराई मङ्गलापुरमा रहेको कृषि तालिम केन्द्रको गेस्टहाउसमा बसेका छन् । यो भैरहवा र बुटवलको बीचमा पर्छ ।

मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्र काप्mले सुरुमा बुटवलको सञ्चयकोषको कार्यालय प्रमुख टोपराम पण्डितसँग बसे ।

उनीहरू दुवैजना पाल्पाको त्रिभुवन बहुमुखी क्यापसका सहपाठी भएकाले पण्डितले सञ्चयकोषको गेस्ट कोठामा राखेका थिए ।

‘सञ्चयकोषको गेस्ट कोठामा हाकिमसँग १५, २० दिन बिताएँ । कति साथीको गेस्ट कोठामा बस्ने भनेर कृषि तालिम केन्द्रको गेस्ट हाउस पुगँे’ काफ्लेले भने ।

उनीसगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव प्रेमप्रसाद भट्टराई त्यहाँ बस्न लागेको २० दिन जति भयो । 

कापm्ले भूमि सुधार मन्त्रालयबाट ५ नम्बर प्रदेशमा माघ १८ गते आएका हुन् ।

उनले भने, ‘होटलमा पैसा तिरेर कति दिन बस्ने ? सुरुमा साथीको अफिसमा अथिति भएर बसियो । कृषि तालिम केन्द्रका बसेको पनि २० दिन भयो ।’  

उनी बसेको गेस्ट हाउसबाट १८ किलोमटिर दूरीमा मन्त्रालय पर्छ ।

उनले भने, ‘अरूलाई समस्या हुँदैन । तर, यहाँ तालिम धेरै चल्ने भएकाले थुपै्र दिन राख्न नदिने मनसायमा गेस्ट हाउस सञ्चालक छन् ।’

थानेस्वर गौतम सडक विभागवाट ५ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा आएको १ महिना जति भयो ।

उनी सडक डिभिजन कार्यालयको साथीको ‘क्वाटरमा’ मिलेर बसेका छन् ।

साथीको गेस्टरुममा बसेको १ महिना भयो ।

मन्त्रालको तालिममा काठमाडौँ पुगेका गौतमले भने– ‘साथीको गेस्टरुममा बसेको छु । कति दिन बस्ने भन्ने अन्यौलमा छु ।’

उनले कम्तीमा सचिवस्तरका कर्मचारीको व्यवस्थापन हुने आशा व्यक्त गरे ।

भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयको सचिव यामनारायण देवकोटासहित तीन जनाले बुटवल कालिकानगरमा एउटा फ्ल्याट भाडामा लिएर बसेका छन् ।

नेपालगञ्जमा रहेको कृषि तालिम केन्द्रबाट यता प्रदेश सचिवमा आएका देवाकोटाको घर परासीमा छ । उनी बिदाको दिन घर जान्छन् ।

कालिकानगरमा रहेको फ्ल्याटमा उक्त मन्त्रालयका उपसचिव भक्तिराम मरासेनी, अधिकृत जीवन सुवेदीसहित बसेका छन् । ३ वटा कोठासहितको फ्ल्याटमा बस्ने उनीहरूको खाना चाहिँ बाहिर हुन्छ ।

एक महिनादेखि कृषि तालिम केन्द्रको गेस्टहाउसमा बसेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिव प्रेमप्रसाद भट्टराईले गेस्टहाउस काम चलाउ भएको बताए । उनी सचिवहरूका लागि एउटा एउटा कोठा बनाउन थालिएको र त्यहाँ बस्न पाउने आशामा छन् । तर ढुक्क छैनन् ।

उनले भने, ‘योगीकुटी नयाँ बन्दैछ, हेरौँ के हुन्छ ?’

प्रदेशका मुख्यमन्त्री तथा कानुन मन्त्रालयका सचिव नमिला अधिकारी भट्टराई गृह मन्त्रलायबाट माघ २७ गते प्रदेश सचिवमा  हाजिर भएकी हुन् । अन्य सचिवको भन्दा उनको बसाइ अलि सहज छ ।

अहिले बुटवलको सुख्खानगरमा भान्जाको घरमा बसेकी छन् । ‘सधैँ आफन्तको घरमा बस्ने कुरा हुँदैन ।’ उनले भनिन्, ‘बसाइ सहज नै छ । आशा गरौँ, कतै व्यवस्थापन होला ।’

उनीजस्तै आफन्तको घरमा बस्ने भौतिक पूर्वधार र विकास मन्त्रालयका सचिव मनोज श्रेष्ठ पनि हुुन् । अन्य सचिवको तुलनामा उनी अलि ढिला हाजिर भएका हुन् ।

श्रेष्ठ गोलपार्कका आफन्तको घरमा बसेका छन् ।

अरुण तेस्रो आयोजनाको निर्देशकबाट ५ नम्बर प्रदेशको भौतिक पूर्वधार र विकास मन्त्रालयकोे सचिवमा आएका हुन् । दुई हप्ताअघि मात्रै बुटवलमा आएका श्रेष्ठ आफन्तकोमा बसेको बताए ।
श्रेष्ठले भने, ‘सधैँ आफन्तको बस्न कठिन हुन्छ ।  हेरौँ, केही  समयमा व्यवस्थापन होला नि ।’

सरकारले प्रदेश प्रमुख तोकेपछि ५ नम्बर प्रदेशमा सुरुमा आउने सचिवमा प्रदेश प्रमुखको कार्यालयका सचिव शनतकुमार दवाडी पर्छन् ।

उनी प्रदेश नम्बर ५ को प्रमुख उमाकान्त झासँगै माघ ६ गते बुटवल आएका हुन् ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारीले प्रमुख झालाई सडक डिभिजन कार्यालयमा रहेको गेस्ट हाउसमा राख्ने व्यवस्था गरे ।

प्रमुखसँगै आएका सचिव दवाडीलाई त्यही नै राखिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट आएका दवाडीले सुरुका दुई–तीन दिन दिन–रात नभनी काम गरे । अहिले परिस्थित अलि सहज बनेको छ ।

उनी अहिलेसम्म त्यही गेस्ट हाउसमा बसेका छन् ।

उनलाई गाडी दिइएको छैन । तर उनी सन्तुष्ट नै छन् ।

गेस्टहाउसमा रातोपाटीसँगको भेटमा भने– ‘जे अवस्था छ, सन्तुष्ट नै छु । हामीले कठिन अवस्थामा आफ्नो ड्युटी निभाउने हो ।’

सङ्घीयता कार्यान्वयनको अवस्थामा आफूहरूले गरेको कामको कुनै दिन मूल्याङ्कन हुने उनले बताए ।

मुख्य सचिव शङ्कर पाठक चाहिँ रूपन्देहीका स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको क्वाटरमा बसेका छन् । यो भैरहवाको रुद्रपथमा रहेको श्रीकृष्ण नेत्रालय पछाडि छ ।

मुख्य सचिव पाठक माघ पहिलो हप्तादेखि नै अधिकारीको क्वाटरमा बसेका हुन् । स्थानीय विकास अधिकारी ज्ञावलीको बुटवलको सुख्खानगरमा घर छ । उनी कहिले क्याटर त कहिले घर आउने जाने गरेका छन् । जसका कारण पाठकलाई अलि सहज छ ।

पाठक भन्छन्, ‘प्रदेशको मुख्यसचिव आफ्नो क्याटरमा बस्नु पर्ने हो । तर यहाँ एलडीओसँग मिलीजुली बसिएको लामो समय भयो । केही समयपछि व्यवस्थापन होला ।’

मुख्य सचिव पाठकको अहिले भैरहवा बुटवल २१ किलोमटिर दूरीमा आउजाउ चलिरहेको छ ।

क्वाटरको व्यवस्था हुँदै

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बुटवलमा केही सचिवहरूलाई क्वाटरका लागि व्यवस्थापन सरकारले गर्दै छ ।
खानेपानीको कार्यालय योेगीकुटीमाको कार्यालयभित्र रहेका ५ जना कर्मचारीलाई अन्यत्र पठाएर अहिले भवन मर्मत तथा सम्भार गरिँदै छ । दुई तले भवनमा ५, ६ जना सचिवको व्यवस्थापन गर्ने पक्षमा सरकार रहेको छ ।  

आइतबार बिहान रातोपाटी प्रतिनिधि त्यहाँ पुग्दा धमाधम मर्मत हँुदै थियो ।

पुराना भ्यालका सिसा फेर्ने काम भएको छ ।

मिस्त्री कलर गर्ने काम गर्दै थिए ।  

प्रत्येक कोठाहरू एटेच बाथरुमसहित बनाइँदैछ ।

एउटा किचन अलि ठूलो बनाइँदै छ ।

कलर गर्ने ठेकेदारले भने– ‘हामीलाई ८ गतेसम्म यो पूरा भनिएको हो । तर दुई चार दिन ढिलो हुन्छ होला ।’

यहाँ मुख्य सचिवसहित अन्य सचिवलाई एक एकवटा कोठा दिने  तयारी भएको एक सचिवले बताए ।

यहाँ नपुगेलाई टी.टी.आई. पनि व्यवस्थपान गरिँदैछ ।

प्रदेश सचिव शङ्कर पाठकले कर्मचारीहरूलाई भाडाको घर खोजेर आभासको व्यवस्था गर्ने नीति  राज्यको नभएको बताए ।  

उनले सरकारी भवन भएसम्म अरूलाई असर नपर्ने गरी  सचिवहरूलाई क्वाटर बनाउनुपर्ने बताए ।

मन्त्री तथा प्रदेश प्रमुख लागि सुरक्षा दृष्टिकोणले ठूलो एरिया र सुरक्षाकर्मी रहने गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप