बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नौ गोलको थ्रीलरमा रोनाल्डोको चार गोल

सोमबार, ०५ चैत २०७४, ०९ : २८
सोमबार, ०५ चैत २०७४

म्याड्रिड । सन् २०१८ मा आफ्नो उत्कृष्ट फर्म जारी राख्दै क्रिस्टियानो रोनाल्डोले चार गोल गरेपछि रियल म्याड्रिडले नौ गोल भएको रोमाञ्चक खेलमा जिरोनालाई पराजित गरेको छ ।

रोनाल्डोले आफ्नो करियरको ५० औँ ह्याट्रिक पूरा गर्दा रियल ६–३ गोलअन्तरले विजयी भएको हो ।

पोर्चुगिज खेलाडीले सबै प्रतियोगिताका पछिल्ला आठ खेलमा लगातार गोल गरेका छन् भने पछिल्ला चार लिग खेलमा दुई या सोभन्दा बढी गोल गर्न पनि सफल भएका छन् ।

सन् २०१७–१८ सिजनमा सुस्त शुरुवात गरेका रोनाल्डोले गत वर्ष ला लिगामा मात्र चार गोल गर्न सकेका थिए तर जनवरी पछि उनले पछिल्ला ११ खेलमा २१ गोल गरिसकेका छन् ।

सन् २०१८ मा युरोपका शीर्ष पाँच लिगमा उनले सर्वाधिक २१ गोल गरेका छन् ।

आइतबार भएको खेलको ११ औँ मिनेटमा टोनी क्रुसको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, क्रिस्टियन स्टुआनीले फ्रिकिकमा हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमो शुरवतमा नै रोनाल्डोले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए भने लुकास भाज्क्वेजले गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।

खेलको ६४ औँ मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

त्यसलगत्तै स्टुआनीले जिरोनाका लागि अर्को गोल गरे पनि गेराथ बेलले रियलका लागि अर्को गोल थपे ।

बेलको गोलको दुई मिनेटको अन्तरालमा जुनापेले जिरोनाको लागि अर्को गोल गरेका थिए ।

इन्जुरी समयमा रोनाल्डोले खेलमा चौँथो गोल गर्दै रियललाई सहज जित दिलाए ।

जीतसँगै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । तर, शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा अझै १५ अंकले पछि रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप