शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारीमाथि सरकारको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा

आइतबार, ०४ चैत २०७४, २१ : ०६
आइतबार, ०४ चैत २०७४


चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन (संघ)को साताँैं महाधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्र स्वतन्त्र हुनुपर्ने बताए । अहिलेको सरकारले ती निकायमाथि हस्तक्षेप गर्न थालेको उनको आरोप थियो । 

“कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद काँगेसलाई स्वीकार्य छैन,” उनले भने । त्यस्ता निकाय हस्तक्षेपमुक्त हुनुपर्ने भन्दै सभापति देउवाले भने, “तपाईंहरु ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले तपाईंहरुमाथि हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौँं ।” 

कांँग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको भन्दै उनले भने, “काँग्रेसले सरकारमा रहँदा पनि हस्तक्षेप गरेन, अरु कसैले पनि हस्तक्षेप गर्न पाउँदैन ।” स्वतन्त्र न्यायपालिका, मौलिक अधिकारका पक्षमा काँंग्रेस सधैँं रहने उहाँले बताउनुभयो । नेपाली जनताले ठूलो संघर्षबाट संविधान प्राप्त गरेको भन्दै उहाँले यसको खिलापमा कोही कसैलाई नलाग्न चेतावनी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै काँंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार स्वेच्छाचारी र सर्वसत्तावादतर्फ जान खोजेको भन्दै अहिले खोजिएको दुई तिहाईभित्र रहस्य लुकेको बताए । स्पष्ट बहुमत हुँदा हुँदै दुईतिहाईको सौदावाजी चलिरहेको भन्दै उनले यसअघि संविधान संशोधन गर्नै हुन्न भन्ने कम्युनिष्ट किन अहिले जे गरेर पनि दुईतिहाई खोजिरहेका छन् ? भन्ने प्रश्न गरे । 

विपी कोइराला, गणेशमान सिंह, सूवर्ण शमशेरलगायत नेताले गर्न नसकेको काम पछिल्लो समय काँग्रेसले गरेर देखाएको नेता पौडेलको भनाइ थियो । “पञ्च र राजा फालेर संविधान निर्माण गरी कार्यान्वयनको चरणसम्म ल्याउने काम काँंग्रेसका पछिल्लो समयका नेताले गरेका हुन्,” उनले भने । 

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले प्रधानन्यायाधीशको बर्खास्तगी नियम विपरीत भएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारका काम हेरेर समर्थन र विरोध गर्ने भन्दै प्रतिपक्षमा बसेर महत्वपूर्ण भूमिका पार्टीले निर्वाह गर्ने बताए । 

काँंग्रेस कोषाध्यक्ष सीतादेवी यादवले वाम सरकारसँग नडराउन आग्रह गर्दै आफ्नो काम र कर्तव्यमा दृढ भएर लाग्न कर्मचारीलाई आग्रह गरिन् । 

काँंग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारकाभन्दा बलियो संविधान भएकाले ९४ प्रतिशत जनताले बनाएको संविधान दुई तिहाई बहुमतबाट तलमाथि गर्ने अधिकार सरकारलाई नभएको बताए । 

काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि र कृष्ण सिटौलाले सरकारको मनोमानी काँग्रेसलाई मान्य नहुने भन्दै संगठन सुदृढ गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उक्त अवसरमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउद, गगन थापा, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहाल, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 

तीन दिनसम्म सञ्चालन हुने उक्त महाधिवेशनमा ५७० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी छन् । संघको ७७ जिल्ला समिति र मन्त्रालय तथा विभाग गरी ४६ विभागीय कार्यसमिति रहेका छन् भने २८ हजार पाँच सय सदस्य छन् । महाधिवेशनले संघीय संरचनाअनुसारको विधान अनुमोदन गर्दै ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने संघका अध्यक्ष सुबोधकुमार देवकोटाले जानकारी दिए। 
––– 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप