बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फुङलिङ नगरपालिकाको मोबाइल एप्स

आइतबार, ०४ चैत २०७४, १९ : ३६
आइतबार, ०४ चैत २०७४

प्रयास लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । फुङ्लिङ नगरपालिकाले दोस्रो नगरसभाले पारित गरेको निर्णय सार्वजनिक गर्न आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानीय नागरिकसमक्ष सूचनाको पहुँच पु¥याउन मोबाइल एप्स प्रयोगमा ल्याएको जानकारी गराएको हो । 

नगर प्रमुख छत्रपति प्याकुरेल र उपप्रमुख बमबहादुर भट्टराई (तारा) को उपस्थितिमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले नगरसभाका निर्णय र पछिल्लो प्रगति सार्वजनिक गर्दै जिल्लामै पहिलो प्रयोग स्वरुप फुङ्लिङ म्युनिसिपालिटी  नाम रहेको मोबाइल एप्स प्रयोगमा ल्याएको जानकारी दिए । उक्त मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमहरु सहजै एप्समार्फत हेर्न र पढ्न सकिने व्यवस्था मिलाएको नगर प्रवक्ता न्यौपानेले बताए । 

यता नगरपालिकाको दोस्रो नगरसभाले १० वर्षभित्र नगरलाई पूर्ण रुपमा बालमैत्री स्थानीय तहको रुपमा स्थापति गर्ने नीति समेत पारित गरेको छ । नगरपालिका क्षेत्रमा बसोबास भई अस्पताल वा बर्थिङ् सेन्टरमा बच्चा जन्माउने शिशु स्याहार खर्च बापत जनही पाँच सय रुपियाँ उपलब्ध गराउने, नगर क्षेत्रभित्र बसोबास भएका ६० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई दोहोरो सुविधा नहुनेगरी मासिक प्रतिव्यक्ति एकहजार रुपियाँ प्रोत्साहन भत्ता दिने पनि निर्णय गरेको छ । 

सभाले एकीकृत सम्पति कर लागू गर्ने र चालू आर्थिक वर्षबाटै नगरपालिकाको सहरी क्षेत्रमा फोहोर व्यवस्थापन शुल्क लगाई फोहोर व्यवस्थापनमा नागरिक सहभागिता प्रवद्र्धन गर्ने निर्णय पारित भएको नगरपालिकाले जनाएको छ । 
नगरपालिकाले नगर क्षेत्रभित्र बसोबास भएका सबै सवारी धनीलाई चालू आवबाटै सवारी साधन स्वामित्व शुल्क लगाउने भएको छ भने विकासका गतिविधिलाई उत्कृष्ट ढंगले आमसञ्चार माध्यमबाट प्रस्तुत गर्ने एकजना पत्रकारलाई पाँच हजार रुपियाँ राशीको नगर विकास पत्रकारिता पुरस्कार वितरण गर्ने यसअघि नगर कार्यपालिकाले गरेको निर्णयको अनुमोदन समेत गरेको छ । 

प्रवक्ता न्यौपानेका अनुसार नगरपालिकाले शिक्षा, सहकारी र एफएम रेडियो सञ्चालन विषयगत ऐन तथा नियमावलीहरु तयार गर्दै आएको छ भने विभिन्न नौ वटा बिषयगत समिति बनाई कार्यविधि समेत तयार गरिएको छ । कार्यविधि नियमित गर्न नगरपालिकालाई चाहिने ऐन र नियमावली पारित भई प्रयोगमा आइरहेको समेत उनले जानकारी दिए । 

यता नगरसभाले पुँजीगत तर्फ १४ करोड ७३ लाख ३२ हजार पाँच सय र चालूतर्फ २० करोड ५९ लाख २९ हजार पाँच गरी कुल ३५ करोड ६८ लाख दुई हजार रुपियाँ बराबरको संशोधन सहितका नीति तथा कार्यक्रम पनि पारित गरेको छ । चालू आवको फागुन मसान्तसम्मको प्रगति अवस्थाबारे समीक्षा गरिएको र नगर तथा वडाबाट संयुक्त रुपमा सञ्चालित एक करोड ९५ लाख रुपियाँको कार्यक्रमलाई समेत नगरसभाले पारित गरेको जनाइएको छ । नगरसभाले नगरपालिकाको कृषि तथा पर्यटन रणनीति र सङ्घ तथा प्रदेश सरकारसँगको साझेदारीमा अघि बढाउने गरी तयार भएका २० वटा रणनीतिक योजना समेत पारित गरेको छ । पारित भएका निर्णय कार्यान्वयनका लागि तत्काल कार्य प्रारम्भ गरिने प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप