मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो किस्ताका लागि तीन लाख बढी योग्य, डेढ लाख रुपैयाँ पाउने

आइतबार, ०४ चैत २०७४, १९ : २५
आइतबार, ०४ चैत २०७४

काठमाडौँ । पुनर्निर्माणमा क्रियाशील तीन लाखभन्दा बढी लाभग्राही दोस्रो किस्ताका लागि योग्य भएका छन् । 

शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको आइतबारसम्मको तथ्यांक अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ३ लाख ३ हजार ५ सय ५५ पुगेको छ ।

प्रमाणीकरण भएका लाभग्राहीले आफ्नो आवश्यकता अनुसार बैंकबाट घर पुनर्निर्माणका लागि डेढ लाख रुपैयाँ लिन सक्छन् । 

पछिल्लो समय निजी आवास पुनर्निर्माणले गति लिएसँगै दोस्रो किस्ताका लागि दाबी गर्ने लाभग्राहीको संख्या दिन प्रति दिन बढिरहेको छ । 

आइतबारकै तथ्याङ्कअनुसार ३ लाख १४ हजार १ सय २४ जना लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । 

पहिलो किस्ता लिएर भूकम्प प्रतिरोधी मापदण्डअनुसार घरको जग राखेका लाभग्राहीले निवेदन दिएपछि प्राविधिकले दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् । 

दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राही सिन्धुपाल्चोकका सबैभन्दा धेरै छन् । त्यहाँका ५१ हजार ९ जना भूकम्प प्रभावित लाभग्राहीले अब दोस्रो किस्ता पाउनेछन् । त्यसैगरी, नुवाकोटका ४१ हजार ७ सय ९४, गोरखाको ३६ हजार ८ सय ६५, दोलखाका ३४ हजार २८ जना, धादिङका ३१ हजार ९ सय ३७ जना, काभ्रेपाल्चोकका २३ हजार ९ सय ४५ लाभग्राहीले पनि दोस्रो किस्ता पाउनेछन् ।  

भूकम्प कम प्रभावित जिल्लाका लाभग्राही पनि दोस्रो किस्ताका लागि योग्य हुन थालेका छन् । आइतबारसम्म लमजुङका ५ सय ९२ र चितवनका १ सय ६५ लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले अनुदान सम्झौता भएका ६ लाख ९७ हजार ६ सय ३५ लाभग्राहीमध्ये ४३.५१ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता पाउनु उल्लेखनीय प्रगति भएको मान्न सकिने बताए ।  

दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या जस्तै भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माणधीन घरको संख्या ३ लाख ५८ हजार ६ सय ३७ छ भने निर्माण सम्पन्न भएका घरको संख्या १ लाख १० हजार ४ सय ७२ पुगेको छ ।

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ५७ हजार ३३ घर पुनर्निर्माण भइरहेका छन् । 

यो गतिलाई तीव्रता दिंदै मनसुन शुरु हुनु भन्दा अगावै थप घरहरुको निर्माणमा बढोत्तरी कायम गर्ने गरी प्राधिकरणले आवश्यक तयारी गरिरहेको प्रवक्ता भूसालले बताउनुभयो । 

भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्तामा १ लाख रुपैयाँ पाउँछन् । 

यता, काठमाण्डौ उपत्यकामा निजी आवास पुनर्निर्माणको गति सुस्त भइरहेका बेला त्यसलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माहतहतका निकायलाई निर्देशन दिएको छ । 

प्राधिकरणका प्रमुख कार्याकारी अधिकृत युवराज भूसालले आइतवार शहरी बिकास मन्त्रालय र स्थानीय बिकास मन्त्रालय अन्र्तगतका केन्द्रीय आयोजना कार्यान्वयन इर्काइका प्रमुखसहित काठमाण्डौ ललितपुर र भक्तपुरका भवन कार्यालय, प्राधिकरण लगायत निकायका प्रमुखलाई बोलाएर काठमाण्डौ उपत्यकामा निजी आवास पुनर्निर्माणको गतिलाई तिव्रता दिने गरी काम गर्न निर्देशन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप