मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी सरकार र विप्लव पार्टीबीच तनाव बढ्दैछ

आइतबार, ०४ चैत २०७४, १३ : ४१
आइतबार, ०४ चैत २०७४

घटना–१

फागुन २८ गते साँझ कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भयो । खुकुरी हमला पनि गरियो । तत्काल स्थानीय अस्पताल हुँदै कोहलपुर पुर्याइयो । त्यसपछि उनलाई थप उपचारका लागि काठमाडौँ टिचिङ अस्पताल ल्याइयो ।

मेयर चौधरीलाई गोली हान्ने चार जना पक्राउ परे । पक्राउ परेका चारै जनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा घोडाघोडी–१ का ४० वर्षीय कमल क्षेत्री, घोडाघोडी–९ का ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका–८ का ३० वर्षीय पूर्णप्रसाद खनाल र टीकापुर नगरपालिका–१ का ३० वर्षीय हृदयराज बोगटी छन् ।

आफ्ना कार्यकर्ता पक्राउ परेको र उनीहरूलाई रिहाइ गर्नुपर्ने मागसहित विप्लवको पार्टीले चैत ३ गते कैलाली बन्दको आह्वान पनि गरेको थियो । प्रहरीले यो घटनामा विप्लव पार्टीतर्फ अनुसन्धान सोझ्याएको छ । त्यसो त मेयार बोक्सी प्रकरणमा तानिएपछि विप्लवको जिल्ला पार्टीले विज्ञप्ती निकालेर राजीनामा नगरे ‘जनकारवाही’ गर्ने धम्की दिएको थियो । प्रहरीसँग चन्दा लेनदेनसँग पनि यो गोली काण्डको जालो जोडिएको सूचना छ ।

चौधरीले एमालेबाट मेयर जितेका थिए । त्यसैले उपचारत मेयर चौधरीलाई चैत ४ गते अस्पतालमै पुगेर प्रधानमन्त्री केपी ओलीले भटे । अस्पतालमा पुगेर ओलीले चौधरीको शीध्र स्वास्थ्य लाभको कामना गरे । चौधरीको उपचार खर्च सरकारले जिम्मा लिने र उपचारमा केही कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिए । ओलीले घटनाको निष्पक्ष छानविन हुने बताए ।

चौधरीमाथि हमला गरेर विप्लवको पार्टीले दुईवटा सन्देश दियो । पहिलो–विप्लव विरुद्ध जारी पक्राउ पुर्जीको जवाफ दिन सकिन्छ । दोस्रो– सरकारको नेतृत्व गरेका ओलीले कठोर नीति लिए एमालेका नेता–कार्यकर्ता विरुद्ध अरू ‘एक्सन’ पनि हुन सक्छ ।

घटना–२

२०७४ चैत १ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादीको जिल्ला जनपरिषद् चितवनले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई एक पत्र पठायो । सोही पार्टीले पत्रको तस्बिर मिडियाकहाँ पनि पठायो र समचार ‘कभरेज’ पनि राम्रै पायो ।

रेणु दाहालको व्यक्तित्व र उनको पारिवारिक सम्बन्ध अन्य नगरपालिकाको ‘औसत मेयर’ भन्दा फरक छ । उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी हुन् । रेणुले चुनाव काँग्रेसको सहयोगमा जिते पनि अहिले वाम गठबन्धनको सरकार छ । त्यसकारण उनी सत्तारुढ दलकी नेतृ पनि हुन् ।

भरतपुर महानगरपालिकाको मयेर रेणुलाई राजीनामा दिन र नदिए त्यसबाट हुन सक्ने सम्भावित परिणामका लागि तयार रहन चेतावनीसहितको पत्र दिएर विप्लव नेतृत्वको नेकपाले दुईवटा स्पष्ट सन्देश दिन खोजेको छ । पहिलो– पार्टी महासचिव विप्लवका नाममा जारी पक्राउ पुर्जीको हामी जवाफ दिन्छौँ र, दोस्रो–विप्लवविरुद्ध उत्तेजित भाषण नगर्न र नीति नबनाउन माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादललाई सन्देश । संयोग गृहमन्त्री थापा चितवनकै हुन् र यस पटक प्रचण्डले पनि गृहजिल्ला चितवनबाटै चुनाव जितेका छन् । गत फागुन २२ गते प्रचण्डले विप्लवले माखो मार्दैनन् भन्ने अभिव्यक्ति दिएका थिए । विप्लप पार्टीले यसलाई प्रतिष्ठाको विषय पनि बनाए र एक सातापछि प्रचण्ड पुत्री रेणुकहाँ राजीनामा दिन पत्र पठाए ।

प्रचण्डलाई जवाफ दिँदै नेकपाका पोलिटब्युरो सदस्य भरत बमले भनेका थिए, ‘प्रचण्डको यो अभिव्यक्ति उनले विप्लवलाई  पटक पटक भेट्ने प्रयास गर्दा पनि भेट नहँुदाको छटपटाहट, आक्रोश, हतास र निराशाजनक अभिव्यक्ति मात्रै हो । यदि उनले विप्लवलाई त्यसरी बुझेको भए न भेट्न कोसिस गर्थे, न त अहिले हामीलाई दमन गर्नेमा कमिसारको भूमिका नै खेल्थे ।’

माथिका यी दुई घटना विप्लव पार्टीले बदलमा लिएको जस्तो देखिन्छ । विप्लवविरुद्ध पक्राउ पुर्जी जारीपछि भएका यी दुई घटनामार्फत सो पार्टीले सरकारसँग ‘टकराव’ लिनसक्ने सङ्केत पनि दिएको छ ।

२०७४ मङ्सिर १० गते जिल्ला प्रहरी कार्यलयले स्थानीय प्रहरी युनिटलाई विप्लवलाई पक्राउ गर्ने पुर्जी पठायो । तर यो पुर्जी कपिलवस्तुको शिवनगरस्थित विप्ललवको घरमा फागुन १६ मा टाँसियो । संयोगक कस्तो पर्यो भने माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री भएको दोस्रो दिन विप्लवको घरमा पक्राउ पुर्जी टाँस भयो । थापा फागुन १४ गते गृहमन्त्री भएका थिए ।

यो घटनाले विप्लवको पार्टीलाई थप उत्तेजित बनायो ।

पक्राउ पुर्जीबारे विज्ञप्ती जारी गर्दै नेकपाले सरकारले यस्ता गतिविधि कार्यम राखे प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डका विरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएको थियो ।

जब कि ओली नेतृत्वको सरकार गठन भएलगत्तै सो पार्टीका दुई जिम्मेवार नेता विराटनगरमा समातिएका थिए । ओली फागुन ३ गते प्रधानमन्त्री भएका थिए, त्यसको तीन दिनपछि फागुन ६ गते विराटनगरमा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली र पोलिटब्युरो सदस्य पदम राई पक्राउ परेका थिए । उनीहरू नेकपाको युवा सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनमा अथिति हुन गएको बेला पक्राउ परेका थिए । सम्भवतः प्रधानमन्त्री ओलीले यो गिरफ्राती मार्फत, ‘अहिलेसम्म जो भयो भयो, अब सरकार कठोरपूवर्क आउँछ’ भन्ने सन्देश विप्लवलाई दिन चाहन्थे ।

विप्लपको पार्टीले पनि प्रतिक्रियाको राजनीति गर्यो र फागुन ८ गते नेपाल बन्दको आह्वान गर्यो । बानेश्वरमा गाडी जलायो । ९ दिनपछि वली र बराल रिहा भए ।

भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कार्यक्रम स्थगित गर्न दबाब दिएर विप्लव पार्टीले आफ्नो शक्ति पनि देखाएको थियो । विप्लव पार्टीको चेतावनीपछि कार्यक्रम पछि स्थगित भएको थियो ।

केही दिन अगाडि एक मन्त्रीले ‘भ्रष्टाचारी, राजावादी र जनवादी’ सरकारका मुख्य चुनौती भएको बताएका थिए । अर्थात सरकारसँग ‘जनवादी’ (विप्लव पार्टी) ले तनाव बढाउन सक्छ भन्ने भरपर्दो सूचना छ । विकास र स्थिरताका लागि शान्ति सुरक्षा चाहिने तर यसमा विप्लपको पार्टीले अवरोध पुर्याउन सक्ने सरकारको बुझाइ छ । बन्द, हड्ताल, चन्दाआतङ्क जस्ता गतिविधिले सरकारका कामकाजमा अवरोध पुग्ने सरकारले बुझेको छ ।  विप्लवका पछिल्ला गतिविधिले शान्ति सुरक्षा प्रभावित हुने र त्यसले विकास, समृद्धिका काम बाधा पुर्याउन सक्ने बुझाइ सरकारको छ ।

विप्लव पार्टीले वाम गठबन्धनको सरकार नबन्दै ‘टकराव’को नीति लिने सङ्केत दिएको थियो ।

चुनाव सकिएलगत्तै रातोपाटीसँगको कुराकानीमा नेकपाका पोलिटब्युरो सदस्य भरत बमले सरकारले लिने नीतिको प्रतिरोध गरिने बताएका थिए । ‘वाम गठबन्धनका नेताले क्रान्तिकारीलाई दमन गर्ने नीति लिन्छन् । देशलाई फाँसिवादी दिशातिर लैजान्छन् ।’ उनले भनेका थिए, ‘राज्यको क्रान्तिविरोधी नीतिविरुद्ध हामी प्रतिरोधको नीति लिन्छौँ ।’

विप्लवलको पार्टीले एकीकृत जनक्रान्तिको सिद्धान्त अगाडि सारेको छ । अधिकांश नेताहरू भूमिगतजस्तै छन् । चुनावमा धेरै ठाउँमा बम विस्फोट भएका थिए र त्यसमा विप्लवको पार्टीलाई जिम्मेवार ठानिएको थियो । तर, सो पार्टीले औपचारिक जिम्मेवारी लिएको थिएन । बरु यसलाई जनताको प्रतिरोधको रूपमा व्याख्या गरेको थियो ।

ओली र गृहमन्त्रीको सन्देश

फागुन ३० गते प्रधानमन्त्री ओलीले विप्लवको नामै नलिई सरकालाई आतङ्ककारी क्रियाकलाप सह्य नहुने बताएका थिए । प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा प्रधानमन्त्रीको यस्तो चेतावनी आएको थियो ।

त्यसको केही दिन अगाडि प्रधानमन्त्री ओलीले विप्लव पार्टीको नामै नलिई वार्ताको टेवुलमा आउन आग्रह गरेका थिए । फागुन १९ गते विश्व कीर्तिमान बनाउने लक्ष्यसहित राजधानीमा आयोजित बुद्धवचन ‘धम्मपद’ वाचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आह्वान गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विप्लवलाई नै केन्द्रित गरी विप्लवले माखो मार्दैनन् भन्ने खालको अभिव्यक्ति दिएका थिए । प्रचण्डले भनेका थिए ‘केही साथीहरूले क्रान्ति गर्ने रहर गरेका छन् । तर तिनले केही माखो मार्दैनन् ।’

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि विप्लवलाई केन्द्रित गर्दैै मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्नेहरूलाई निरुत्साही हुने गरी सुरक्षा संयन्त्रले काम गर्नुपर्ने बताएका थिए । जसअनुसार उनले सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेका छन् ।

विप्लवका ‘एक्सन’ र सरकारको ‘रिएक्सन’ले तनाव बढाउन सक्ने खतरा कायमै छ ।

पक्राउ पुर्जी जारीपछि विप्लव पनि ‘गर वा मर’ स्थितिमा छन् ।

सरकार पनि विगतको सङ्क्रमणकालमा जस्तो संवैधानिक दायाराबाहिरका गतिविधिमा उदार नहुँने मुडमा छ ।

एक मन्त्री विप्लवलको हिंसालाई काँग्रेस र भारतको सहयोग हुन सक्ने आशङ्का पनि व्यक्त गर्छन् ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार अहिले विप्लव पार्टीका गतिविधिमाथि निगरानी गर्ने काम भइरहेको छ ।

गृह मन्त्रालयले केही घटना घटाए तत्काल कारवाहीमा लिने नीति बनाएको ती अधिकारीले बताए ।

नेपाल प्रहरीको प्रतिआतङ्कवाद नियन्त्रण ब्युरोले विप्लव पार्टीका गतिविधि हेरिरहेको छ । तर, अहिलेसम्म नेताहरूलाई के गर्ने भन्ने कुनै स्पष्ट सन्देश गृह मन्त्रालयले दिएको छैन । ‘दण्डहीनताको अवस्था आउन दिनुहुन्न भन्नेमा सरकार यसपालि सचेत छ ।’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

रेणुलाई विप्लव पार्टीको पत्रपछि माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनका अध्यक्ष रञ्जित तामाङले फेसबुकमा लेखे, ‘नेकपाका नाममा कमरेड विप्लव र उनका कार्यकर्ताले हामीलाई मुख्य दुस्मन देखे त्यो गम्भीर भूल हुनेछ । चेतना भया ।’

पत्रकार नारायण पौडेलले सोधे, ‘रेशमलाई जुस पिलाउने विप्लवलाई पुर्जी काट्ने कुरामा यहाँको मत के छ ?’

सामाजिक सञ्जालमा देखिएको यो मतभेदजस्तो माओवादी केन्द्र र विप्लवको पार्टीबीच तनाव बढ्न सक्छ ।

कतिपय राजनीतिक विश्लेषक ‘वामका विरुद्ध वाम’ राजनीतिक सिद्धान्त अगाडि बढ्न सक्ने पनि मान्छन् ।

चन्दा ‘कलेक्सन’को चर्चा

राजधानीको नरेफाँटमा बस्ने एक ब्यापारीलाई १५ लाख नदिए छोरा अपहरण गर्ने र बम हानेर घर उडाउने धम्की दिएका नेकपा (विप्लव) निकट एक युवालाई प्रहरीले पक्राउ गर्यो । ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथली बस्ने सुरज शाहलाई ‘पैसा लिन आउनुस्’ भन्दै सादा पोसाकका प्रहरीले फलो गरेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जनाएको थियो ।  

काठमाडौँका (एसएसपी) विश्वराज पोखरेलका पोखरेलका अनुसार शाहले केही दिनदेखि १५ लाख रुपियाँ माग गरेर काठमाडौं–३२ नरेफाँट बस्ने व्यवसायी भीष्मप्रताप भण्डारीलाई त्रासमा राखेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा वर्ष २७ का शाह विप्लव नेतृत्वको नेकपा निकट भएको खुल्न आएको प्रहरीको भनाइ छ । यो चैत ४ गतेको घटना हो ।

सो पार्टीको विद्यार्थी सङ्गठनले पनि राष्ट्रिय सम्मेलनका लागि भन्दै चन्दा सङ्कलन गरेका समाचारहरू प्रकाशित भएका थिए ।

विप्लव पार्टीमाथि असीमित चन्दा सङ्कलन गर्ने गरेको आरोप लाग्दै आएको छ । तर, विप्लवले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

चुनावमा तनाव

विप्लव पार्टीले चुनावताका पनि आफ्ना गतिविधि तीव्र पारेको थियो ।

नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का काँग्रेसका उम्मेदवार डा. रामशरण महत र प्रदेश नं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको थियो ।

तत्कालीन सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा बम विस्फोट भएको थियो ।  

रोल्पामा माओवादीका शीर्ष नेताहरूलाई लक्षित गरेर रेड बुल बम पड्काइयो । सुलिचौर हुँदै लिवाङ आउने क्रममा कृष्णबहादुर महरा, वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती र कूलप्रसाद केसीलाई लक्षित गरेर भदौरे भन्ने स्थानमा बम विस्फोट गराइएको थियो ।

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसरकुकुर बम प्रहार भयो ।

लतिलपुरको लगनखेल बसपार्कमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ । मङ्गलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन सुरु गर्नासाथ विस्फोटको ठूलो आवाज आएको थियो ।

चुनावी अभियानकै क्रममा काङ्ग्रेस नेता गगन थापालाई लक्षित गरी वम विस्पोट गराइयो ।

यी घटनाको विप्लवको पार्टीले औपचारिक जिम्मेवारी भने लिएन ।

विगतमा पनि ‘एक्सन’

अहिले मात्र होइन पार्टी स्थापनापछि विप्लव माओवादीले बेलाबेला चर्चित र विवादित घटना मच्चाएको छ ।

पछिल्लो पटक यो पार्टीले २०७४ माघ २३ मा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड गरेको थियो । बूढानीलकण्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुङ्गामुढाबाट घरमा सामान्य क्षति पुगेको थियो । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी लेखिएको पर्चा भेटाएको थियो ।

०७३ कात्तिक २७ मा सो पार्टीका कार्यकर्ताले नेपाल उद्योग वाणिज्य महासङ्घका तत्कालीन अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा कालो झन्डा गाडेका थिए । अर्बौंको कर छली गरी मुरारकाले राष्ट्रिय हितविपरीत काम गरेको आरोप लगाउँदै महँगी बढाउने र कालोबजारीमा भूमिका निर्वाह गरेकाले जग्गामा झन्डा गाडेको जिकिर गरेको थियो ।

–विभिन्न समयमा यो पार्टीले एनसेलका टावरमाथि पनि आक्रमण गर्दै आएको छ । सेभ दी चिल्डे«न र बल्र्ड भिजनजस्ता अन्तर्राष्ट्रिय संस्थामा आक्रमण गरेर विप्लवको पार्टीले आईएनजीओमाथि दबाब बनाइरहेका छन् । 

–एक पटक यो पार्टीले कालो बजारी गरेको भन्दै ललितपुरमा हिमाल ग्यासको डिपो कब्जा पनि गरेका थियो ।  चितवनमा दुई सय ३० बिघा जग्गा कब्जाको घोषणा, लगानी बोर्डका सीईओ राधेश पन्तको घर घेराउ र वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो दलेर विप्लव पार्टीले चर्चा बटुलेको थियो ।

–विप्लव माओवादीले गत वर्ष ०७२ माघ १८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर भ्रष्टाचारीमाथि कारबाही गर्न माग गर्दै घेराउसहित ज्ञापनपत्र दिएको थियो । अख्तियारले कारबाही नगरे आफैँ कारबाही अगाडि बढाउने चेतावनी दिएको थियो ।

विप्लव पार्टीको जन्म

प्रचण्डसँग अलग भएपछि ०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भएको थियो । विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाए । विप्लवले आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे । पछि महाधिवेशनबाट माओवादी शब्द हटाएर पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा राखे ।

विप्लव यसका महासचिव हुन् । शक्तिशाली स्थायी समिति बनाएका छन् । पूर्व लडाकुहरूको एउटा तप्का उनीसँग छ र कतिपयले उनले जनयुद्धकालका केही हतियार पनि राखेको बताउँछन् । माओवादीमा उनका समकक्षी सबैजसो मन्त्री भइसकेका छन् । विप्लवले प्रचण्डले जनयुद्धलाई धोका दिएको आरोप लगाएका छन् । क्रान्तिका बाँकी कार्यभार आफूले पूरा गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप