बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पलाई चुमेर चर्चामा आएका मलेसियाली युवक रहेनन्

आइतबार, ०४ चैत २०७४, १३ : १९
आइतबार, ०४ चैत २०७४

उनी विषालु सर्पहरूसँगको सङ्गतका लागि चर्चित थिए । उनले आफ्नो सामाजिक सञ्जालमा राखेका सर्पसँगको सेल्फी फोटो र भिडियो निक्कै चर्चित छन् । ती फोटा र भिडियोमा उनी विषालु सर्पलाई साथमा राखेर जिम अभ्यास गरिरहेको, कम्प्युटर चलाइरहेको र टिभी हेरिरहेको देखिन्छन् ।

उनले ‘एसिया गट ट्यालेन्ट’ नामक प्रतिभा छनौट गर्ने कार्यक्रममा आफ्नो सर्प खेलाउने सीप देखाएर धेरैलाई चकित बनाएका थिए । कार्यक्रमा उनले आफैले बोकेर ल्याएको सर्पको मुख चुम्दा दर्शक र जर्जहरू आत्तिएका थिए ।

यस्ता दुस्साहसी कार्य गरेर चर्चामा आएका ३३ वर्षीय मलेसियन दमकल कर्मचारी अबु जरिन हुसिनको शुक्रबार सर्पदंशको कारण मृत्यु भयो । उनलाई सोमबार विषालु सर्पले टोकेपछि हस्पिटल भर्ना गरिएको थियो ।

स्थानीय समाचारपत्र द स्टारले लेखेको समाचार अनुसार पेहाङ्ग निवासी हुसिन आफ्नो सर्पबारेको ज्ञान अरू दमकल कर्मचारीहरूलाई पनि सिकाउने गर्थे । यस ज्ञानमा सर्पको प्रजाति चिनाउने र सर्पहरूलाई नमारी समाउने सीप पथ्र्यो । मलेसियामा विषालु सर्पहरूको बिगबिगी रहेको र त्यहाँ कम्तीमा २६ प्रजातिका सर्प अत्यन्त प्राणघातक मानिन्छन् । मलेसियमा घरमा पसेका सर्प समाएर निकाल्ने काम पनि दमकल कर्मचारीले गर्छन् ।

हुसिनलाई मानिसको घरमा पसेको सर्प निकाल्ने क्रममै विषालु गोमनले टोकेको थियो ।

हुसिनले सर्पहरूको स्वाभाव अवलोकन र अध्ययन गर्नका लागि आफ्नो घरमा सर्पहरू पालेका थिए ।

पश्चिममा भने हुसिन एक गलत समाचारका कारण चर्चामा आएका थिए । सन् २०१६ मा एक थाई पत्रिकाले हुसिनलाई सर्पसँग विवाह गर्ने पुरुष भनेर समाचार छापेको थियो । सो समाचारलाई बेलायतली ‘डेली मेल’ले हुबहु छाप्यो । दुवै समाचारमा हुसेनले सर्पलाई आफ्नो पाँच वर्षअघि मरेको प्रेमिकाको पुनर्जन्म मानेर विवाह गरेको उल्लेख थियो ।

द स्टारको अनलाइन भर्सनलाई दिइएको अन्तरवार्तामा हुसिनले आफू यो समाचारले दुःखी बनाएको बताएका थिए । उनका अनुसार ती पत्रिकाहरूले उनको समाजिक सञ्जालमा रहेका फोटोहरू प्रयोग गरेर गलत समाचार लेखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप