शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी दूरी बढाउने काँग्रेस ‘सूत्र’

आइतबार, ०४ चैत २०७४, १३ : ०९
आइतबार, ०४ चैत २०७४

सन्दर्भ–१
राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपतिको स्थानमा अर्को व्यक्ति उठाएको भए काँग्रेसले उम्मेदवारी नदिने पूर्वसङ्केत गरिसकेको थियो । फागुन २७ गते मध्यरातसम्म बसेको एमाले शीर्ष नेताहरूको वैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई उठाउने निर्णय गर्यो । उम्मेदवार मनोनयनको दिन फागुन २८ गते बिहान बसेको काँग्रेस केन्द्रीय समितिको वैठकले राष्ट्रपतिमा कुमारी लक्ष्मी राईलाई उठाउने निर्णय गर्यो ।

फागुन २९ गते भएको राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनकी उम्मेदवार भण्डारीसँग काँग्रेस उम्मेदवार राई पराजित भइन् । भण्डारी ३९ हजार २७५ मतका साथ विजयी भइन् भने  राईले ११ हजार ७३० मत प्राप्त गरिन् ।
सन्दर्भ–२
वाम गठबन्धनले सभामुख माओवादी केन्द्रको भागमा बाँढेका थिए । माओवादीबाट कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बनेका थिए । माओवादीबाट उम्मेदवार बनेका महरालाई समर्थन गर्ने गरी काँग्रेसले सभामुखमा उम्मेदवारी नदिएसँगै महरा निर्विरोध निर्वाचित भए ।

अघिल्लो शनिबार तय गरिएको सभामुख निर्वाचनमा महरा निर्विरोध प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भए ।

सन्दर्भ–३
गत शुक्रबार भएको उपसभामुख निर्वाचनमा वाम दलको तर्फवाट उम्मेदार बनेकी एमाले नेतृ शिवमाया तुम्बाहाम्फेसँग काँग्रेसले केन्द्रीय सदस्य पुष्पा भुसाललाई अघि सार्यो ।
तुम्बाहाम्फेले दुई सय एक मतका साथ विजयी भइन् भने काँग्रेसबाट उम्मेदवार बनेकी भुसाल ५८ मत प्राप्त गरी फराकिलो अन्तरले पराजित भइन् ।

सन्दर्भ–४
उपराष्ट्रपतिमा वाम गठबन्धनले माओवादी केन्द्रको भागमा पारेको थियो । माओवादी केन्द्रले नन्दकिशोर पुनलाई नै पुनः उम्मेदवार बनाउने निर्णय गरेको थियो । शनिबार तय गरिएको उपराष्ट्रपति निर्वाचनमा काँग्रेसले उम्मेदवारी नदिएपछि पुन निर्विरोध उपराष्ट्रपतिमा निर्वाचित भए ।

सन्दर्भ–५
राष्ट्रियसभामा अध्यक्षका लागि एमालेबाट उम्मेदवार बनेका गणेश तिमिल्सनालाई निर्विरोध छोडेको काँग्रेसले उपाध्यक्षमा भने उम्मेदवारी दिएको छ । माओवादी केन्द्रको भागमा परेको राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्र र काँग्रेसका उम्मेदवार भिड्ने भएका छन् ।

माओवादी केन्द्रकी शशीकला दाहालसँग काँग्रेसकी वृन्दादेवी आले प्रतिस्पर्धी बन्ने भएकी छन् ।

काँग्रेस रणनीति के ?
माथिका सुरुका ५ सन्दर्भले काँग्रेसको रणनीति बुझ्न सहयोग पुग्छ ।

काँग्रेसले एमालले उम्मेदवारी दिएको मुख्य पदहरूमा उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले उम्मेदवारी दिएको स्थानमा खाली गरिदिएको छ ।

एमालेका उम्मेदवारसँग प्रतिस्पर्धामा उतारेको काँग्रेसले माओवादी केन्द्रलाई भने निर्विरोध हुन सहयोग गरेको छ ।

काँग्रेसको पछिल्लो रणनीति एमालेसँग दूरी बढाउने र माओवादी केन्द्रसँग नजिकिने सङ्केत गरेको हो ? स्वभाविक रूपमा प्रश्न उठ्छ ।

वामदलको  सङ्ख्यामा स्पष्ट बहुमत भएको जानकारी भएर पनि काँग्रेसले हार्ने निर्वाचनमा उम्मेदवारी दिइरहेको छ ।

चुनावपछि केपी ओलीको तुलनामा काँग्रेसप्रति प्रचण्ड अलि उदार छन् ।

काँग्रेसप्रति आक्रामक ओली र देउवाबीच प्रचण्डले मध्यस्तताको भूमिका निर्वाह गरेका छन् ।

पछिल्लो घटनाक्रमले काँग्रेस सरकारको ‘नेतृत्वकर्ता दललाई टाढा राख्न’ चाहेको देखिएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भण्डारीले संविधानको मर्म अनुरूप कार्य नगरेकाले काँग्रेसले उम्मेदवारी दिनुपरेको बताएका थिए ।

राष्ट्रपतिमा उम्मेदवार दिएको काँग्रेसले महरालाई निर्विरोध हुन दियो । जब कि सभामुखलाई सबैको साझा भएको बताएका काँग्रेस प्रवक्ता शर्माले राष्ट्रपतिलाई भने साझा पदका रूपमा अथ्र्याएनन् ।

निर्वाचनमा पराजयपछि काँग्रेसका केन्द्रीय समितिका वैठकमा दलको नेतृत्वले वाम गठबन्धन बन्ने कार्यमा रोक्न नसकेको प्रति आपत्ति प्रकट हुँदै आएको छ ।

शर्माले माओवादीसँग नजिकिएको कारणले उम्मेदवारी नदिएको भन्न नमिल्ने बताए । उनले भने ‘राष्ट्रिय सभाका अध्यक्षमा एमालेका उम्मेदवारलाई छोडिएको थियो । तर उपाध्यक्षमा माओवादीका केन्द्रसँग प्रतिस्पर्धा हुँदैछ ।’

अर्का नेता प्रदीप पौडेलले राष्ट्रपतिमा भण्डारीको व्यक्तिगत आचरणका कारण उम्मेदवारी दिनु परेको बताए ।

राष्ट्रियसभाका लागि सिफारिस तीनजनालाई राष्ट्रपतिले नियतवश रोकिदिएकाले उनका विरुद्ध उम्मेदवारी परेको बताए । अन्य उम्मेदवारको हकमा पनि व्यक्तिगत आचरण हेरेर उम्मेदवारी दिने नदिने गरिएको बताए ।

‘दल विशेषसँग नजिक हुनका लागि वा अर्कोलाई एक्ल्याउनका लागि उम्मेदवारी दिएको होइन ।’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप