शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडकले बिथोलेको जिन्दगी

आइतबार, ०४ चैत २०७४, १२ : ३७
आइतबार, ०४ चैत २०७४


दुर्छिम (खोटाङ)– हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाटोलनिवासी हीरबहादुर राई (६५) सालिन्दा पाँच महिना उदयपुरको कटारी झर्थे । कटारीदेखि सिन्धुलीको घुर्मी, ओखलढुंगा सडक खुलेपछि राई कटारी झर्न छाडे । उनी संवत् २०६४ देखि कटारी झर्न छाडेका हुन् । सालिन्दा पुसदेखि वैशाखसम्म कटारी झर्ने उनी हिजोआज खेतिपातीमै सीमित छन् । खेतिपातीबाहेक पाँच महिना भारी बोकेर अतिरिक्त आम्दानी गर्दै आएका उनको सडकले जीवनको लय बिथोल्यो । तर, उनी दुःखी छैनन् । उनलाई सडक समृद्धिबारे धेर–थोर जानकारी छ ।

१८/१९ वर्ष टेकेपछि ६५ वर्षीय राई कटारी झर्न थालेका थिए । उनले ३७ वर्ष कटारी–दुर्छिमको उकालो–ओह्रालो गरे । ३७ वर्ष कटारी धाउँदाको अतीत बिर्सेका छैनन् । ‘बुधबार कटारी हिँड्थ्यौं । बिहान सात/आठ बजे बाटो लाग्थ्यौं,’ उनले सुनाए, ‘घरबाट हिँडेपछि साबिक दुर्छिम गाउँ विकास समितिको हैदेमा बिसाउँथ्यौं । ज–जसले जे खाजा बोकेका हुन्थे, लाओर्सेमा खान्थ्यौं । बालाङमारीमा बिसाउँथ्यौं । त्यहाँबाट राईघाट पुल, यारीखोला, निभुवापाटी, सोरुङखोलामा बिसाउँदै गरेका भरियाको लस्कर देखिन्थ्यो ।’ 

‘घर (दुर्छिम) बाट हिँडेको दिन सिन्दुरेबेंसी (उदयपुर) मा बेलुकाको खाना खाइन्थ्यो,’ उनले सम्झे, ‘खाना खाइसकेपछि जून लागेको बेला बाँजे, लिम्पाटार, राउतखर्क पुगेर बास बस्थ्यौं । लिम्पाटारमा प्रशस्त पानी नपाइने भएकाले अधिकांश भरिया सिन्दुरेबेंसीमै खाना खान्थे ।’ जून भएको समय बास बसेको ठाउँबाट बिहान चार÷पाँच बजे उठेर हिँड्न लोभिनेहरू त्यत्तिकै भेटिन्थे । जून नभए उज्यालो भएपछि मात्रै हिँड्थे । भरियाको बास पाखामै हुन्थ्यो । पानी परे स्थानीयको घरतिर ओत लाग्नुपथ्र्यो । सिन्दुरेबेंसीमा बास बस्नेहरू लिम्पाटार, राउतखर्क, बोबोला, बरपानी, भान्टाबारी, आहालेतिर जाँड खाँदै कटारी झर्थे । सुरु–सुरुमा कटारी झर्दा २५ पैसामा एक माना जाँड पाइन्थ्यो । पछि बढ्दै गयो ।

सिन्दुरबेंसी, बाँजे, लिम्पाटार, राउतखर्कतिर बास बस्ने भरिया बिहानको खाना खान मरुवाखोला पुग्थे । दाउरापानी प्रशस्तै पाइने भएकाले मरुवाखोलामा खाना खानेको भीड लाग्थ्यो । ‘मरुवाखोलामा खाना खाएर कटारी पुग्दा दिउँसै हुन्थ्यो,’ उनले भने, ‘त्यो दिन भारी लगाएर कटारीमै बसिन्थ्यो । छाप्रेहोटलमा दाउरापानीको दुई रुपैयाँ बुझाएपछि बास बसेको पैसा बुझाउन पर्दैनथ्यो । होटलवालाले ओढ्ने–ओछ्याउने दिँदैनथे । आफैंले व्यवस्था गर्नुपथ्र्यो ।’

कटारीबाट घर पुग्न तीन दिन लाग्थ्यो । शुक्रबार कटारीबाट हिँडेका भरिया आइतबार घर (दुर्छिम) पुग्थे । बाटोमा हिँड्ने, खाने, बास बस्ने तरिका कटारी झर्दाको जस्तै हुन्थ्यो । कटारी झर्दा च्याख्लाको भात, ढिँडो खाँदै झर्नेहरू फर्कंदा चामलको भात खान्थे । कतिपयले भने घरबाट कटारी झर्दा र कटारीबाट घर फर्कंदा पुग्नेगरी सातु–सामल, दाल, तरकारी अड्कलेर बोक्थे । ‘म त घर फर्कंदा चामलकै भात खान्थे,’ उनले विगत कोट्याए, ‘घर फर्कंदा आलु, गोलभेंडा, काउली, सिद्रालगायतको तरकारी अड्कलेर बोक्थें । साथीहरूले पनि त्यसै गर्थे । प्रतिछाक आधा केजीका दरले चामल बोकिन्थ्यो । दुईदेखि चारजना वा त्योभन्दा बढीको समूह बनाएर एउटै भान्छा गथ्र्यौं । साबिक दुर्छिम गाविस–३ का मनबहादुर राई (मार्सेली कान्छा) र मेरो एउटै भान्छा हुन्थ्यो ।’ कटारी झर्दा मकैभटमास खाँदै झरेकाहरू घर फर्कंदा चिउरा खाजा खान्थें । गुलियो मन पराउनेहरू चिउरासँगै सख्खर खाएको देखिन्थ्यो । घरमा चिउरा पुर्याउँदा परिवार त्यत्तिकै खुसी हुन्थे ।

दुर्छिमबाट कटारी झर्नेहरू आइतबार घर पुग्थे । उनीहरूले साबिक अर्खौले गाविसको अर्खौलेमा लाग्ने सोमबारे हाट भर्न पुग्नुपथ्र्यो । ‘हप्ताभरि भारी बोक्दा तीन सय ५० देखि चार सय रुपैयाँसम्म फाइदा हुन्थ्यो,’ उनले त्यतिबेलाको दुःख सुनाए, ‘चामल बोक्न सजिलो भए पनि नुनबाट दोब्बर फाइदा हुन्थ्यो । त्यतिबेला ढिकेनुन प्रचलनमा थियो । म त चामल नै बोक्थें । दोब्बर फाइदा हुने भएकाले गाउँकै मोहनबहादुर राई (दोस्राम्पा) ले सधैं नुन बोक्थे ।’ 

पहिलोपटक कटारी झर्दा ३० किलोग्रामको भारी बोकेका उनले पछि–पछि ५० केजीसम्मको भारी बोक्न थाले । भारी बोकेर हात पारेको आम्दानीले छोराछोरी पढाउने, घरव्यवहार चलाउन सहज भएको थियो । उनी गाउँकै दाजुभाइ तथा आफन्त उत्रसेर राई, महलसेर राई, बलबहादुर राई, जगतबहादुर राई, मनकेशर राई, कीर्तिबहादुर राई, मोहनबहादुर राई, उत्रबहादुर राई, परनसेर राई, हिङराज राई, ओमप्रकाश राई, मनबहादुर राई, छत्रबहादुर विश्वकर्मा, रखबहादुर विश्वकर्मा, पदमसरी विश्वकर्मा र सुगाकुमारी विश्वकर्मा सँगै कटारी ओहोरदोहोर गर्थे । सबैका दुःखको रङ एउटै थियो ।

भारी बोक्नु कठिन काम हो । स्वस्थ रहेमात्रै भारी बोक्न सकिन्छ भन्ने थाहा पाएका हीरबहादुर राई र उनीसँगै कटारी झर्नेले दुःखका पापड बेल्नसम्म बेले । कटारी झर्दा र फर्कंका सोरुङखोला र मरुवाखोलाबाहेकका ठाउँमा दाउरापानी सजिलै पाइँदैनथ्यो । उदयपुरको नरसिंगेडाँडा र दुर्छिमको सालघारी उकालोमा पानी खानसम्म पाइँदैनथ्यो । दुःखका ती दिन सम्झँदामात्रै पनि अत्यास लाग्नु अस्वाभाविक होइन । 

कटारीबाट घर फर्कंदा बाटोमा सुँगुर, भैंसी काटेको भेटिए लोभ नगरी भरियाले मासुभात खान्थे । उनीहरूले नौदेखि १० बजेसम्ममा बिहानको खाना खाइसक्थे । बेलुका पाँच बजे बास बस्थे । बिहान, बेलुका खाना तयार पारी खाँदा दुई घन्टा लाग्थ्यो । ‘दैनिक बिहान पाँचदेखि बेलुका पाँच बजेसम्म हिँड्थ्यौं,’ उनले थपे, ‘बिहानको खाना तयारी गर्दा दुई घन्टा लाग्थ्यो । र पनि, दैनिक १० घन्टा भारी बोकेर निरन्तर हिँडिन्थ्यो ।’ 

कटारी–दुर्छिम गर्दा महिनामा दुई जोर हात्तीछाप चप्पल फेर्नुपथ्र्यो । भारी बोक्दा कपडा फाट्थ्यो । थाप्लोमा नाम्लोको डाम बस्थ्यो । हिजोआज उनको दिनचर्या फेरिएको छ । एउटै चप्पल महिनौं टिक्छ । कपडा पनि त्यस्तै । थाप्लो कुच्चिनेगरी भारी बोक्नुपरेको छैन । ०६४ बाट केही समय सिन्धुलीको घुर्मीबाट भारी बोकेका उनी हिजोआज घरमै भेटिइन्छन् । भारी बोकेर गरिने अतिरिक्त आम्दानी नगरे पनि उनी त्यत्तिकै खुसी देखिन्छन् । खुसीभन्दा ठूलो सम्पत्ति अरू हुँदैहुँदैन । उनले आफ्नो जीवनका आरोह–अवरोध गाउँठाउँका बाँसमा कोर्छन् । डायरीमा लेख्छन् । गाउँठाउँमा हुने कार्यक्रममा वाचन गर्छन् । स्वार्थैस्वार्थले जेलिएको समाजमा हीरबहादुर राईजत्तिको खुसी मानिस कहाँ भेटिएलान् ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप