शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भावस्थामा नलिनुस् यी औषधि

शनिबार, ०३ चैत २०७४, १२ : ०२
शनिबार, ०३ चैत २०७४

सतिशकुमार देव सहप्राध्यापक, क्लिनिकल फार्माकोलोजी शिक्षण अस्पताल

गर्भवती महिलाले औषधि सेवन गर्दा आमा र बच्चा दुवैलाई खतरा हुन्छ । त्यसैले भावी सन्ततिको स्वास्थ्यका लागि पनि गर्भावस्थामा औषधि सेवन निकै हानिकारक छ । धेरै मानिसको सामान्य समस्यामा आफूअनुकूल औषधि सेवन गर्ने बानी हुन्छ । तर, गर्भवती महिलाले भने कहिल्यै पनि चिकित्सकको सल्लाहविना औषधि सेवन गर्नुहुँदैन ।

गर्भवती महिलाले औषधि सेवन गर्दा जन्मने बच्चाको मस्तिष्क विकासमा समस्या पर्न सक्छ । त्यस्तै, बच्चाको मुखको विकासमा समस्या आउने, तालुमा प्वाल पर्ने, हाडजोर्नीको विकास नहुनेलगायतका समस्या पनि देखिन सक्छ ।

यस्तो अवस्थामा गरिने औषधि सेवनले शारीरिक अंगमा पनि समस्या सिर्जना गर्छ । गर्भवतीले औषधि सेवन गर्दा अपांग बच्चा जन्मने, दाँतमा समस्या देखिने, मुटुमा प्वाल पर्नेजस्ता समस्या हुन सक्छ ।

गर्भावस्थाको समयमा महिलाले प्रयोग गरेका औषधिकै कारण शिशु लाटो हुने, कान नसुन्ने, आँखा नदेख्नेजस्ता समस्या पनि निम्तिन सक्छ ।

यस्तो अवस्थामा अत्यधिक औषधि सेवन गर्दा गर्भ तुहिनेसमेत खतरा हुन्छ । छारेरोग, क्यान्सरलगायतमा प्रयोग हुने औषधिका कारण शिशुको शारीरिक विकासमा विकृति पैदा गर्छ ।

गर्भावस्थामा प्रयोग गरिने औषधिले आमाको शरीरमा पनि विभिन्न साइड इफेक्ट पैदा गर्छ । त्यसैले तपाईं कुनै औषधि प्रयोग गर्दै हुनुहुन्छ भने यसबारे राम्रो जानकारी राख्न जरुरी हुन्छ ।

आमाले प्रयोग गरेको गलत औषधि आमाको रगतका माध्यमबाट शिशुको शरीरमा पुग्छ । र, कोमल कोष र मस्तिष्कमा नोक्सान पु-याउने गर्छ ।

गर्भवती महिलाले स्वास्थ्यमा कुनै पनि समस्या आएमा बजारबाट ल्याएर औषधि खाने बानीलाई त्याग्नुपर्छ । यस्तो बानीले आफ्नो लागि मात्र नभई गर्भमा भएको बच्चालाई समेत गम्भीर असर पु-याउँछ र दीर्घकालीन असरबाट बच्न चिकित्सकको सल्लाहविना औषधिको प्रयोग रोक्नुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप