बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खासमा कसरी मन्त्री बनिन् विना मगर ?

शुक्रबार, ०२ चैत २०७४, १९ : १४
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ– माओवादीका तर्फबाट केपी ओली नेतृत्वको सरकारमा सात मन्त्री सहभागी भए । त्यसमा एक छिन् विना मगर । विना मन्त्री हुनुको पाछडि मानिसहरू दुईवटा कारण मान्छन् । पहिलो कारण मान्नेहरू भन्छन्, ‘उनी प्रचण्डकी बुहारी भएकाले मन्त्री भइन् ।’ दोस्रो कारण मान्नेहरू छन्, ‘उनले पार्टीमा भूमिका खेलिन् र महाकालीबाट प्रतिनिधित्व गरिन् ।’

विना प्रचण्डका स्वर्गीय पुत्र प्रकाश दाहालकी कान्छी श्रीमती हुन् । प्रकाश दाहालको मङ्सिर ३ मा निधन भएको थियो । प्रकाशको निर्वाचनताका नै निधन भएपछि पति वियोगको पीडा भोगेकी थिइन् । उनले चुनावमा सहानुभूतिको पनि भोट पाइन् । अहिले खासमा विना मन्त्री चाहिँ भइन् कसरी ? यही विषय जान्न हामीले माओवादीका सुदूरपश्चिमका नेता लेखराज भट्टसँग कुरा गर्यौँ ।

उनले आफ्नै प्रस्तावमा विना मन्त्री भएको बताए । ‘सबैको पालो आएको थियो । खस, आर्यले पनि पाएका थिए । जनजातिले पाएको थिएन । महाकालीबाट पनि मन्त्री भएका थिएनन् । यसपालि विनालाई बनाउनुपर्छ भनेर मैले नै सिफारिस गरेको हुँ ।’ भट्टले रातोपाटीसँग भने ।

भट्ट आफै पनि मन्त्रीको दौडमा थिए । तर, प्रचण्डले आफ्नो कार्यकालमा लैजाने आश्वसन दिएपछि उनी मन्त्रीको दौडबाट पछि हटे । अर्काथरी मानिसहरू छन्, जसले विना प्रचण्डकै चाहनामा मन्त्री भएको ठान्छन् । प्रचण्ड पत्नी सीताको पनि विनाप्रति मन्त्री बन्नका लागि सद्भाव थियो । प्रतिनिधिसभाका लागि टिकट पाउँदा पनि विनामाथि पारिवारिक सद्भाव थियो ।
मङ्सिर २१ गते भएको दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विना मगर कञ्चनपुर–१ बाट निर्वाचित भएकी हुन् । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत चुनाव लडेकी थिइन् । तर हार व्यहोरेकी थिइन् ।

त्यसपछि पनि उनले आफ्नो निर्वाचन क्षेत्रमा काम गर्दै आएकी थिइन् । पति प्रकाश र ससुरा प्रचण्डको सहयोगमा आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न योजना पनि लगेकी थिइन् । उनी माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य छिन् । कञ्चनपुरको मुहार फेर्ने प्रतिबद्धता जाहेर गरेकी विनाले मन्त्री भएपछि कसरी काम गर्ने हुन् त्यो भने हेर्न बाँकीनै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप