बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको सम्बोधनदेखि उपसभामुखको निर्वाचन, हेर्नुहोस् तस्विर

शुक्रबार, ०२ चैत २०७४, १८ : २५
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्युहुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे । 

उक्त दुर्घटनाका कारण भएको मानवीय क्षतिबाट नेपाल, बंगलादेश र चीन शोक सन्तप्त भएको बताउँदै उनले उद्धार र उपचारमा संलग्नहरुलाई धन्यवाद व्यक्त गरे । 

सो दुर्घटनामा ५१ जनाको निधन र २० जना घाइते भएका थिए । 

विशेष प्रस्ताव पारित 

प्रधानमन्त्री ओलीको वक्तव्यपछि बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस बंगला एयर अवतरणका क्रममा दुर्घटना भई आगलागी हुँदा २२ जना नेपाली, चालक दलका सदस्यसहित २८ जना बंगलादेशी र एकजना चिनियाँ नागरिकसहित ५१ जना यात्रुको निधन तथा २० जना घाइते भई उपचाररत भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्ने विशेष प्रस्ताव पारित भयो । 

प्रस्तावमा निधन भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बैठकमा दुर्घटनामा परी निधन भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित

 प्रतिनिधिसभाका उपसभामुखमा नेकपा एमालेका शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी छिन् । 

प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त गरिन्। उनका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल गौतमको पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएका थिए । 

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उनी निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप