बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पान मसलाले हलिउड अभिनेतालाई झुक्यायो

शुक्रबार, ०२ चैत २०७४, ११ : ४२
शुक्रबार, ०२ चैत २०७४

भारतीय ‘पान मसला’ ब्रान्डको प्रचार गरेर विवादमा आएका हलिउड अभिनेता पियर्स ब्रोसनानले आफूलाई उक्त कम्पनीले आफ्नो उत्पादनको हानिकारक असरबारे नबताएर ‘झुक्याएको’ बताएका छन् ।

“दिल्ली राज्यको सुर्ती नियन्त्रण विभागलाई लिखित जवाफ दिँदै अभिनेताले आफूलाई कम्पनीले आफ्नो उत्पादनको हानिकारक गुण र त्यसको विज्ञापनमा रहेका नियमहरू नबताएर ‘झेला’ गरेको उल्लेख गरे,” विभागका अतिरिक्त निर्देशक एस.के. आरोराले पी.टी.आई.लाई बताए ।

दिल्ली सरकारले हालसालै ब्रोसनानलाई सुर्तीजन्य पदार्थको विज्ञापनमा खेलेको भन्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

 साथै यसले पान मसला समूहका निर्देशकहरूलाई पनि किन कारवाही नगर्ने भनेर सोधेको छ ।

“कानुनी आदेशको जवाफ दिँदै ब्रोस्नानले पान मसाला कम्पनीसँगको आफ्नो सम्झौता सकिएको बताएका छन् । उनले हाम्रो विभागले चलाउने अभियानमा सबै प्रकारको सहयोग र सहकार्य गर्न तयार रहेको पनि बताएका छन् ।”

“उनले लिखित रूपमा यो खालको हानिकारक उत्पादनको प्रचारमा भविष्यमा कहिल्यै सहयोग नगर्ने बताएका छन् ।” अरोराले भने । 

अधिकारीहरूले सबै सेलिब्रेटीहरू र आम सञ्चार माध्यमलाई पान मसाला, चिया, अलैँची वा कुनै पनि नाममा सुर्तीको विज्ञापनमा सहभागी नहुन आह्वान गरेको छ ।

“सेलिब्रेटीहरूले पनि तिनको समाजप्रतिको जिम्मेबारी महसुस गर्नुपर्छ । युवाहरूले तिनलाई ईश्वर बराबर मान्दछन् र तिनलाई आँखा चिम्लेर विश्वास गर्छन् । यस्तो विज्ञापनले युवाहरूको दिमागलाई नराम्रो असर गर्छ ।” उनले भने ।

भारतमा ‘चुरोट तथा अन्य सुर्तीजन्य उत्पादन ऐन २००३’ ले सुर्तीजन्य पदार्थको प्रत्यक्ष र अप्रत्यक्ष  सबै प्रकारका विज्ञापनलाई प्रतिबन्ध लगाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप