शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादीले संविधानको धारा ९१(२) नपढेकै हुन् ?

शुक्रबार, ०२ चैत २०७४, ११ : ३९
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ । नयाँ संविधानको धारा ९१(२) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक महिला र यी दुवै पदमा फरकफरक पार्टीबाट आउनुपर्ने भन्ने स्पष्ट भनिएको छ । एउटै पार्टी बनाउने भन्दै एउटै चुनावी घोषणापत्र र प्रतिवद्धता सार्वजनिक गरेका एमाले–माओवादी एकीकरणको अन्तिम तयारीमा छन् । 

आगामी बैशाख नौ गते दुई पार्टी एकीकरण गर्ने मिति समेत निश्चित भइसकेको अवस्थामा त्यसपछि सभामुख र उपसभामुख एउटै पार्टीको हुनेछन् । 

अहिले सभामुख र उपसभामुख एमाले र माओवादीबाट प्रतिनिधित्व हुनेभएपनि पार्टी एकीकरणपछि एकै पार्टीको हुने जान्दाजान्दै एमाले माओवादीले यी पदमा आफ्नै उम्मेदवार उठाएर आफैले बनाएको संविधानलाई चुनौति त दिएका हैनन् ? भनेर विपक्षीहरुले प्रश्न गर्न थालेका छन् । 

पुर्व प्रधानमन्त्री एव् नयाँ शक्तिका नेता डा. बाबुराम भटराईले यहि प्रशंग सामाजिक सञ्जालमा उठाएका छन् । उनले भनेका छन् – ‘संविधानको धारा ९१(२)अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक महिला र फरक पार्टीको हुनुपर्छ । एमाले–माके एउटै हुने भएपछि उपसभामुखको उम्मेदवार किन उठाएको ? अझै समय छ उनीहरूले आफ्नो उम्मेदवारी निष्क्रिय पारून् र विपक्षी दललाई छोड्नु । यो स्थितिमा नयाँ शक्तिले भोट हाल्ने अवस्था रहेन !’

डा. भटराईले एमाले माअ‍ोवादीलाई आफ्नो निर्णय सच्चाउन र आफ्नो उम्मेदवारी निश्कृय पार्न सुझाव समेत दिएका छन् ।  

तर, माओवादी सांसद तथा कानुनका जानकार रामनारायण विडारीले निर्वाचनका बेला फरक–फरक पार्टीबाटै चुनाव लड्ने र निर्वाचित हुने भएकाले कुनै फरक नपर्ने बताउँछन् । ‘संविधानको उक्त व्यवस्था निर्वाचनका बेलामात्रै लागनु हुन्छ । त्यसरी हेर्ने हो भने त दलसम्बन्धी ऐन पनि सच्चाउनुपर्छ जवकी कुनै पार्टी फुटन या जुुटन नै मिल्दैन ।’

सभामुखमा यसअघि नै माओवादी नेता कृष्ण बहादुर महरा निर्वाचित भैसकेका छन् भने उपसभामुखमा आज एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित हुँदैछन् । 

यसैगरी काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पनि आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा एमाले माओवादीले संविधानको स्पिरिट र भावनाको पालना नगरेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराएका छन् । 

रातोपाटीसँग कुरा गर्दै प्रवक्ता शर्माले एमाले माओवादीले उपसभामुख प्रतिपक्षलाई नदिएपनि संघीय समाजवादी फोरम, राजपा  वा अरु कुनै पार्टीलाई उक्त पद दिएर नैतिकता देखाउनुपर्ने बताए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप