मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ७ को शान्ति सुरक्षामा चुनौती सिर्जना भयो : आन्तरिक मामिला मन्त्री शाहसँगको अन्तरवार्ता

शुक्रबार, ०२ चैत २०७४, ११ : २७
शुक्रबार, ०२ चैत २०७४

प्रदेश नम्बर ७ मा शान्ति सुरक्षा कायम गराउने र कानुनको पालना, रक्षा र लागू गराउने जिम्मा पाएका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले मन्त्रालयको जिम्मेवारी सम्हालेको झन्डै ३ साता भएको छ । यसबीचमा प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा बोक्सीको अरोपमा महिलामाथि हिंसा भएको छ भने घोडाघोडी नगरपालिकाका मेयरमाथि गोली प्रहारसमेत भएको छ । प्रदेश नम्बर ७ को शान्ति सुरक्षा र मन्त्रालयका बारेमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहसँग रातोपाटी संवादवाता शम्भु दङ्गालले गरेको यो कुराकानी : 

मन्त्रालय सम्हालेको ३ सातामा तपाईंले के–के गर्नुभयो ? 
हामीले मन्त्रीहरूको आचार संहिता निर्माण गरेका छौँ । मेरो मन्त्रालयको तर्फबाट १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । प्रदेशमा सुरक्षा रणनीति निर्माणका लागि निर्देशन दिएको छु । धेरे जिल्लाको प्रोफाइल बनेको छ, केही जिल्लाको बन्ने क्रममा रहेको छ । यस्तै खालका कामहरू अगाडि बढेको छ  । 

कर्मचारीहरूको अवस्था के छ, काम गर्न समस्याहरू के–के छन् ? 
दरबन्दीअनुसारको कर्मचारी पुगेको छैन । मेरो मन्त्रालयमा २९ जना कर्मचारी हुनुपर्नेमा १६ जना छन् । अरू सायद बाटैमा छन् होला ? कर्मचारीको अभावले दैनिक कार्यसञ्चालनमा प्रभाव त परिहाल्छ नि । अहिले भौतिक संरचनाको पनि अभाव रहेको छ । सुरुमा सांसदहरूको, मन्त्रीहरूको जुन उत्साह छ, त्यसमा चाहि तगारो सिर्जना भएको छ । 

प्रदेश कानुन निर्माणका लागि के–के भइरहेको छ ? 
मेरो मन्त्रालयबाट प्रदेश कानुन निर्माणका प्रस्ताव लगेर मन्त्रिपरिषद्बाट निर्णय गराएको छु । प्रदेशको कानुन निर्माणका लागि कानुन निर्माण मस्यौदा समिति मेरो संयोजकत्वमा बनेको छ । मुख्यमन्त्रीको कार्यालयमा कानुन हेर्ने सचिव सदस्य छन् । मेरै मन्त्रालयका सचिव त्यसमा सदस्य सचिव हुनुहुन्छ । संविधानविद्हरू, कानुनविदहरू, अधिवक्ताहरू, विज्ञहरू र परामर्शदाताहरूलाई ल्याएर उक्त समितिमा राख्ने हामीले व्यवस्था गरेका छौँ । 

शान्ति सुरक्षाको अवस्था कस्तो छ, केही दिनअघि बोक्सीको आरोपमा महिला हिंसा भयो भने मेयरमाथि पनि गोली प्रहार भएको छ । यी घटनामा कारवाही प्रक्रिया के हुँदैछ ?
शान्ति सुरक्षाको अवस्थामा चुनौती सिर्जना भइरहेको छ, विभिन्न ढङ्गले बोक्सीको नाममा पनि घटना घट्ने, अस्ति मात्र घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले २७ गते विज्ञप्ती सार्वजनिक गरेर अमर र महान भन्ने दुई जनाको नाममा एउटा सेक्रेटरी अर्को कैलालीको इन्चार्ज दुई जनको नाममा विज्ञप्ती निकालेर ममताप्रसाद लगायतका व्यक्ति भ्रष्टाचारी हुन्, उनीहरूमाथि कारवाही हुन्छ भन्ने खालको विज्ञपती आउनु र अर्को दिन गोली प्रहार हुनु यस्तो ढङ्गको घटना घटेको छ । 

टीकापुर घटनामा दोषी भनेर अदालतले थुनामा राखेका कैदीहरूले थुनामा आन्दोलन गरेका थिए । भोक हड्ताल गरेका थिए, त्यसलाई त हामीले साम्य पा¥र्यौ । रेशम चौधरीलाई शारीरिक अस्वस्थ भएकाले काठमाडौँ पठाइएको छ । 

गोली प्रहार गर्नेहरूलाई पक्राउको अवस्था के छ ? 
३ जनालाई हामीले पक्राउ गरेका छौँ । विद्यमान कानुनअनुसार हामी दोषीलाई कारबाही गर्छौं । पक्राउ परेकाहरूमाथि छानविन भइरहेको छ । दोषी प्रमाणित भए भने कारबाही हुन्छ । 

तपाईंका अरू कार्ययोजना के–के छन् ?
मैले भनिहालेँ सबै जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउँने, ऐनको कानुनलाई प्रभावकारी रूपमा लागू गराउने, हरेक ढिलासुस्तीलाई नियन्त्रण गर्ने, भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने र सबै संयन्त्रहरूलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने, सिमानामा हुने अपराधलाई कम गर्ने, चोरी डकैतीहरूलाई नियन्त्रण गर्ने । सिमानाबाट विभिन्न खालका तस्करीहरू हुन्छन्, जडीबुटी तस्करी हुन्छ । यी कुराहरूलाई नियन्त्रण गर्ने नै आगामी हाम्रा जिम्मेवारी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप