बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संरचनामा गएपछि जसको आम्दानी बढ्यो

शुक्रबार, ०२ चैत २०७४, ११ : ०८
शुक्रबार, ०२ चैत २०७४

सहर–बजारका शिक्षकले ट्युसन पढाएर अतिरिक्त आम्दानी गर्न सक्छन् । गर्दै आएका छन् । तर, गाउँघरका विद्यालयमा अध्यापनरत सबै शिक्षकले ट्युसन पढ्ने विद्यार्थी पाउँदैनन् । ट्युसन पढ्ने विद्यार्थी नपाए पनि सीप भएका शिक्षकले अध्यापनसँगै मनग्य अतिरिक्त आम्दानी गर्दै आएका छन् । त्यसमध्येका एक हुन्– बगम राई ।
अंग्रेजी शिक्षक राई हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङमा रहेको दुर्छिम उच्च माध्यमिक विद्यालयमा अध्यापनरत छन् । उनले साइनबोर्ड, व्यानर र भित्तेलेखनबाट मनग्य आम्दानी गर्दै आएका हुन् । 
मुलुक संघीय संरचनामा गएपछि स्थानविशेषका सबै कार्यालयले साइनबोर्ड परिवर्तन गर्नुपर्ने भएको छ । गरेका छन् । त्यसो भएपछि आर्टिस्टसमेत रहेका राईको व्यस्तता बढेको हो । ‘महिनामा दुई–तीनवटा साइनबोर्ड लेख्ने काम पाउँछु,’ उनले सुनाए, ‘बिहेको सिजनमा त भ्याइनभ्याइ हुन्छ । शुभविवाहका लागि ७५ सेन्टिमिटर कपडामा लेखिएको व्यानरको ४ सय रुपैयाँ पारिश्रमिक लिन्छु । एक घन्टामा ४ सय कमाइ भए पनि कपडा र रङको पैसा आफैंले बेहोर्नुपर्छ ।’

हलेसी–तुवाचुङ नगरपालिकाअन्तर्गत बडहरे, डिकुवा, बाहुनीडाँडा, सल्ले, दुर्छिम, हलेसीलगायतका वडावासी उनका ग्राहक हुन् । संवत् २०५८ देखि ०६० सम्म दुर्छिम उमाविको लेखापाल र ०६० देखि अहिलेसम्म कक्षा ६ सम्म अंग्रेजी विषय अध्यापन गर्ने उनले ०५४÷५५ सालदेखि साइनबोर्ड, व्यानर र भित्तेलेखनको पारिश्रमिक लिन थालेका हुन् । ‘अहिलेसम्म एउटै साइनबोर्डको २ सयदेखि ७ हजार ८ सयसम्म पारिश्रमिक लिएको छु,’ उनले थपे, ‘साइनबोर्ड, व्यानर र भित्तेलेखनको अतिरिक्त आम्दानीले घरपरिवार चलाउन सहयोग पुगेको छ । यसलाई ‘साइड जब’ ठानेको छु ।’

शिक्षक बगम राईको कला दुर्छिम उमाविको ‘क्लास प्लेट’ र ‘टिचर नेमप्लेटमा देख्न सकिन्छ । त्यतिमात्रै होइन, सोही उमाविको बालविकास कक्षामा भित्तेलेखनअन्तर्गत राईले लेखेका क, ख, ए, बी, सी, डी, अ, आ, बाह्रखरी, १,२,३ रहरलाग्दो देखिन्छ । उनको कला हलेसी विकास मञ्च, हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको स्वास्थ्यचौकीको नागरिक बडापत्र, मल्याङ्दी खानेपानी योजना नागरिक बडापत्रमा झल्केको छ । उनले २५ वर्षे अवधिमा हजारौं साइनबोर्ड, व्यानर र भित्तेलेखन गरिसकेका छन् । 

संवत् ०५० तिर कापीको गातामा लेखिएको अक्षरजस्तै लेख्ने अभ्यास गरेका उनले अन्ततः यसलाई अतिरिक्त आम्दानीको गतिलो माध्यम बनाएका छन् । उनले भने, ‘त्यसपछि बाँसको कुचीले मसीमा चोपेर लेख्दै कोठा सजाउन थालें । शुभकामना, विश्वचर्चित व्यक्तिका भनाइ लेखेर कोठा सजाउँदै जाँदा लेख्ने लत लाग्यो । लेखनले निरन्तरता पायो । एकताका गाउँघरमा हुने शुभकार्यका लागि विनाशुल्क कपडामा चकले लेखेर ब्यानर तयार पार्थें ।’

एक कान, दुई कान, मैदान हुँदै गएपछि बगम राईको सीपको विज्ञापन हुँदै गयो । साइनबोर्ड, व्यानर र भित्तेलेखनका लागि राईलाई खोज्न थालियो । सुरुमा ‘चण्डिडाँडा  सामुदायिक वन’ दुर्छिम साल्तेम्माको साइनबोर्ड लेख्दा ७ सय रुपैयाँ पारिश्रमिक पाएको उनले बिर्सेका छैनन् ।

एक फिटको साइनबोर्ड लेखेको ६ सय पारिश्रमिक तोकेका उनलाई ३ फिट लम्बाइ र २ फिट चौडाइको साइनबोर्ड तयार पार्न १८ घन्टा लाग्छ । उनले तीन दुईको साइनबोर्ड तयार पार्दा १ हजार ८ सय रुपैयाँ हात पार्छन् । 

साइनबोर्ड, व्यानर र भित्तेलेखनका लागि प्लेनसिट (जस्तापाता), रङ, ब्रस (कुची), काठ, काँटी, कपडा, थिनर (तारपिनको तेल) आवश्यक पर्छ । आवश्यकीय सामग्री उनी आफैंले जुटाउनुपर्छ । अध्यापनसँगै साइनबोर्ड, व्यानर र भित्तेलेखनमा उनले फराकिलो परिचय बनाउँदै गएका छन् । ‘साइनबोर्ड, व्यानर र भित्तेलेखनले अतिरिक्त आम्दानीमात्रै होइन, अक्षर राम्रो लेख्ने बनाएको छ,’ उनले खुसी व्यक्त गरे, ‘लेखनमा आत्मविश्वास बढेको छ । त्यतिमात्रै कहाँ हो र, चियागफ, टीभी हेरेर बिताइने समयको सही सदुपयोग भएको छ । समय सदुपयोग गर्न पाएकोमा गौरवान्ति छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप