शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. शेखरले मलाई मिठाई खुवाउने समय नै दिएनन् : मन्त्री लालबाबु पण्डितको अन्तरवार्ता

शुक्रबार, ०२ चैत २०७४, १० : ३३
शुक्रबार, ०२ चैत २०७४

 
लालबाबु पण्डित, मन्त्री, जनसङ्ख्या तथा वतावरण
 

मोरङ–६ मा प्रतिनिधिसभाका लागि काँग्रेसबाट शेखर कोइराला र एमालेबाट लालबाबु पण्डित प्रतिस्पर्धी थिए ।

‘को हुन् लालबाबु पण्डित ? म उनलाई चिन्दिनँ ?’

शेखरले चुनावताका यस्तो अभिव्यक्ति दिएको भनेर चर्चा पनि भयो ।

तर, चुनावकै बेला हामीले मोरङमा यस विषयमा शेखरसँग कुरा गरेका थियौँ । उनले आफूले चुनावमा प्रतिस्पर्धीलाई नचिन्ने बताएका थिए ।

चुनावका बेला हामीसँगको अन्तरवार्तामा लालबाबुले चुनाव जितेपछि साइकलमा चढेर शेखर कोइरालालाई भेटन जाने र आफ्नो परिचय दिने बताएका थिए ।

चुनाव अगाडि रातोपाटीमा प्रकाशित यो सामग्री पढ्नुहोस्, जहाँ शेखर र लालबाबुका ‘पोजिसन’ बुझ्न सकिन्छ ।

लालबाबु चुनाव मात्र जितेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग वातावरण मन्त्रीका रूप शपथ पनि खाए ।

त्यतिबेला घरमा भेटेका लालबाबु पण्डितलाई आज हामी मन्त्री क्वाटरमा भेट्यौं ।

र, छोटो कुराकानी गर्यौं ।

प्रतिनिधिसभाको चुनावमा मोरङमा काँग्रेसको किल्ला भत्काउनु भयो, काँग्रेस नेताहरूले बधाई दिनुभयो,  तपार्ईंलाई भेट्न आउनुभयो कि ?
काँग्रेसका वरिष्ठ नेता नै मान्नुपर्छ, प्रकाशमान सिंहले मलाई फोन गरेर बधाई दिनुभएको थियो । मोरङमा पनि कतिपय काँग्रेसका नेताहरूले फोन गरेर र भेटेर पनि बधाई दिनुभएको छ ।

कुरा यहाँ काँग्रेसी नेताको मात्र होइन, विराटनगरमा कोइराला परिवारको विरासत रहेको छ र थियो पनि उहाँहरूमध्येबाट कसैले बधाई दिनुभयो कि भएन ?
पहिलो कुरा त विरासत भन्नु नै गलत हो । यो लोकतन्त्रमा कसैको कही विरासत छैन । रह्यो कुरा कोइराला परिवारका काँग्रेसी नेताले बधाई दिनुभयो कि भएन । सायद कसैले त्यसरी बधाई दिनुभएको छैन होला ।
 

यो पनि पढ्नुहोस्

ब्याटल ग्राउन्ड मोरङ–६ : ‘विरासत’ भर्सेस ‘सेलिब्रेटी’, ‘प्लेन’ भर्सेज ‘साइकल’ !

तपार्ईंंलाई याद होला, हामीले चुनावको बेला तपार्ईंंकै घरमा पुगेर अन्तरवार्ता गरेका थिर्यौं । त्यसबेला तपार्ईंं र तपार्ईंंका प्रतिस्पर्धी डा. शेखर कोइरालाबीच ‘वाकयुद्ध’ थियो । तपार्ईंंले शेखरको अभिव्यक्तिले आफ्नो मनमा चोट पुगेको बताउनु भएको थियो । चुनाव जितेपछि साइकल चढेर शेखरसँग परिचय दिन जान्छु भन्नुभएको थियो । उहाँसँग भेट भयो ?

मैले शेखर कोइरालालाई भेट्न आफ्ना सहयोगी ओसिम आलममार्फत पटक पटक टाइम मागेको छु तर तपार्ईं दिइरहनु भएको छैन । त्यही भएर भेट्न गएको छैन । उहाँले टाइम दिनुभयो भने म भेट्न जान्छु ।

शेखर कोइरालसँग समय नै लिएर भेट्नुको कारण के ?
–चुनावका समयमा उहाँले ममाथि जुन प्रकारको टिप्पणी गर्नुभएको थियो । त्यही टिप्पणीका कारण म साइकल चढेर शेखर कोइरालालाई भेट्न जान्छु । उहाँलाई भेट्नका लागि मिठाई लिएर पनि जान्छु । खुशीयालीको अवस्थामा मिठाई खाने चलन छ ।
मैले जितेको कारणले उहाँलाई खुशीयालीको मिठाई खुवाउँछु । तर उहाँले हालसम्म टाइम दिनुभएको छैन ।

शेखर कोइराला प्रायः काठमाडौँमा बस्नुहुन्छ, यहाँका लागि पनि उहाँले टाइम दिनुभयो भने जानुहुन्छ ?
–होइन, कोइराला निवासको कुरा चलेका हुनाले विराटनगरमा मात्र उहाँलाई भेट्छु, त्यो पनि कोइराला निवासमा । अरू ठाउँमा भेट्नुको अर्थ रहँदैन ।

सामान्य सीधा–साधा लालबाबु पण्डितले शेखर कोइराला जस्तो हस्तीलाई पराजित गर्न सक्छ भने जस्तो लागेको थियो तपार्ईंलाई ?
–मैले उहाँलाई पराजित गरेको प्रमाण तपार्ईंको सामुन्ने छ नि ।

हैन, मैले त्यतिबेला को कुरा मात्र भनेको ?
–त्यतिबेला पनि म जित्छु भन्ने कुरामा ढुक्क थिएँ । किनभने मलाई जनताको साथ थियो । मैले गरेको कामबाट जनताले मलाई मन पराएको थिए । मैले न कसैसँग छलछाम गरेँ, नकसैसँग केही लिएँ, न भ्रष्टाचार गरेँ । मैले जे गरेँ सबै जनताका लागि गरँे । त्यो कुरा जनताले पनि बुझेका कारण म जित्छु भन्ने कुरामा ढुक्क थिएँ ।

त्यस्तो काँग्रेसको गढ भएको ठाउँ विराटनगरमा त्यो पार्टीले केही नगरेकै हो त ?
–त्यो त तपार्ईंले पनि हेर्नुभएको छ नि । चुनावको समयमा तपार्ईंंहरू पनि क्षेत्रमा घुम्नुभयो । हेर्नु भएको होला नि काँग्रेसका कामहरू । काँग्रेसको मुख्यालय विराटनगर हो भनिन्थ्यो । गिरिजाप्रसाद कोइराला कुनै पनि विशेष निर्णय लिनुपर्ने हुन्थ्यो भने विराटनगर गएर लिनुहुन्थ्यो । तर काँग्रेसले एउटा विराटनगर बनाउन सकेन भने अरू ठाउँको के कुरा गर्नु । काँग्रेस यतिको दिन सत्तामा रह्यो । कमसे कम विराटनगरलाई बनाएको भए पनि हुन्थ्यो तर उहाँहरूले केही गर्नुभएको छैन ।

अब तपार्ईं आउनुभएको छ के–के गर्ने योजना छ तपार्ईंको ?
–विराटनगरमा केही गर्नुस् भनेर त्यहाँका कार्यालयहरूमा मैले निर्देशन दिएको छु । मैले चुनावको समयमा त्यहाँका जनतासँग के वाचा गरेको थिएँ भने विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउँछु ।

अहिले अस्थायी राजधानी बनेको छ । सायद स्थायी पनि बन्ला । विराटनगरका बाइपास रोड बनाउने कुरा गरेको छु, त्यो पनि कार्यान्वयन गर्छु ।

मोरङ–सुनसरी सिंचाइ योजनाअन्तर्गत सहरमा रहेको नहरको सुधार गर्ने योजना पनि रहेको छ । मुख्य सहरमा ठूला गाडीहरू नपसुन भनेर रिङरोड बनाउने तयारी गर्नका लागि पनि भनेको छु ।

विराटनगरको पुष्पलाल चौकदेखि गछिया चौकसम्मको एउटा सडक बनाउनका लागि पनि भनेको छु । नदी नियन्त्रणका लागि पनि योजनहरू पनि बनिरहेको छ ।

सुकुम्बासीको बस्ती अव्यवस्थित छ, त्यसलाई व्यवस्थित गर्ने योजना रहेको छ ।

टुक्रे सडकहरूलाई मर्मत सम्भार गर्नुको साथै मठ मन्दिर तथा धार्मिक स्थलहरूको निर्माण गर्ने पनि तयारी रहेको छ । त्यस्तै, प्रदेश १ मा एउटा औद्योगिक क्षेत्र बनाउने योजना पनि छ ।

त्यस्तै, हर्टका थुप्रै बिरामीहरू देखिन थालेका छन् त्यसका लागि विराटनगरमा हर्ट सेन्टर बनाउने योजना पनि छ र एउट भ्यु टावर बनाउने पनि मेरा तयारी छ ।

विराटनगरमा अहिले पर्यटनलाई आकर्षण गर्ने खालको केही छैन । एउटा भ्यु टावर भयो भने त्यसमाथि चढेर पुरै विराटनगर हेर्न सकिन्छ ।

यो त विराटनगरको कुरा, तपार्ईं मन्त्री हुने वित्तिकै एउटा कुरा चर्चामा ल्याउनु भयो, त्यो हो मास्कमुक्त काठमाडौँ । कहाँ पुग्यो त्यो कुरा ?
–मैले त्यसका लागि थुप्रै गृहकार्य अगाडि बढाएको छु ।

८९ दशमलव ५ प्रतिशत वायु प्रदूषण डिजेलबाट चल्ने गाडीबाट भएको हो । त्यसलाई नियन्त्रण गर्ने काम सुरु भएको छ ।

चैत्र १ बाट २० वर्ष पुराना गाडी चलाउन बन्द भएको छ ।

वैशाख १ गतेदेखि प्रदूषणको मापदण्डभित्र रहेका गाडीमा हरियो स्टिकर टाँस्छौँ । त्यसका लागि सूचना पनि भइसकेको छ ।

हरियो स्टिकर त अहिले पनि टाँसिएको छ नि, त्यो के हो ?
–हो, तपार्ईं ठीक भन्नुभयो । हरियो स्टिकर अहिले पनि टाँसिएको छ । तर टाँसिएकामध्ये ४७ प्रतिशत गाडी प्रदूषणयुक्त रहेका छन् ।

त्यसबाट प्रष्ट हुन्छ कि कतै न कतै गलत भएको हो । कर्मचारीलाई लोभ र प्रलोभनमा पारेर बिग्रेका, थोथ्रो गाडीहरू पनि स्टिकर लिएको होला ।

अब वैशाखदेखि नयाँ मापदण्डअनुसार टाँस्न लागेका हौँ । त्यो स्टिकरमा कर्मचारीको पनि उल्लेख हुन्छ, जसले त्यो दिएका हुन्छन् । बेला बेलामा गाडीहरूको जाँच भइरहन्छ ।

यदि स्टिकर भएको गाडी गलत भेटियो भने गाडी मालिक करवाहीमा पर्नु नै हुन्छ । त्यो कर्मचारी पनि कारवाहीमा पर्नुहुन्छ, जसले त्यो स्टिकर दिएका हुन्छन् । हामीले प्रदूषणलाई यसरी नियन्त्रण गर्ने प्रयास गरिरहेका छौँ ।

प्लास्टिकका उद्योग पनि बन्द गराउने चेतावनी दिनुभएको थियो नि ?
–प्लास्टिकको उद्योग बन्द गराउने होइन ।

पातलो प्लास्टिकको झोला उत्पादन बन्द गराउने तथा अयातमा रोक लगाउने भनेको छु । त्यसका लागि छलफलहरू भइरहेको छ ।

म वतावरण मन्त्रीले मात्र भनेर हुँदैन । अन्य अन्य मन्त्रालय अन्तर्गतका कुराहरू पनि छन् । त्यसैले समन्वयमा काम हुन्छ । स्वच्छ सहर बनाउनका लागि कोही एक्लैले गरेर हुँदैन ।

यसमा सबैको साथ चाहिन्छ । यदि सबैले साथ दियो भने एक वर्षभित्रमा मास्कमुक्त सहर बनाउन सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप