शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परिवार नियोजन गर्दा महिलाको आन्द्रा काटिएपछि..

शुक्रबार, ०२ चैत २०७४, ०७ : १९
शुक्रबार, ०२ चैत २०७४

धरान/राजविराज - सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ  । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका-५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन्।

परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खानेकुरा खाँदा बान्ता आउने, पेट फुल्ने समस्या भयो। सिकिस्त बिरामी भएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्ना गरियो। तर, चिकित्सकले परिवार नियोजन गर्दा यस्तो समस्या आइरहने भन्दै थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरिदिए। उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो। प्रतिष्ठानमा अनुको भिडियो एक्स-रे गर्दा आन्द्रा काटिएको पत्ता लागेको हो।

राजविराजस्थित अस्पतालमा आन्द्रा काटिएकी अनुकुमारीको प्रतिष्ठानका चिकित्सक प्राडा चन्द्रशेखर अग्रवाल नेतृत्वको टोलीले फागुन २२ गते पुनः शल्यक्रिया गरेका छन्। अनुको पेटको ‘ल्याप्रोटोमी’ गरी प्वाल परेको आन्द्रा बाहिर निकालेर ‘आइलियोस्टोमी’ गरेका कारण उनी हाल खतरामुक्त रहेको चिकित्सकले जानकारी दिए।

अनुकुमारी गत फागुन ११ गते सगरमाथा अस्पतालमा परिवार नियोजन गर्न पति मोमेन्द्रका साथ भर्ना भएकी थिइन्। उनको परिवार नियोजनको शल्यक्रिया अस्पतालका डा. ब्रजेशकुमार झाले गरेका थिए। अनुको उपचारमा संलग्न प्रतिष्ठानका डा. राकेश गुप्ताले अनुको सानो आन्द्रा काटिएको र पेटभरि दिसा बगेर संक्रमण फैलिसकेको अवस्थामा पुनः शल्यक्रिया गरिएको बताए। ‘अनुको आन्द्रा फुटेर पेटभरि संक्रमण फैलिसकेको थियो। बेलैमा शल्यक्रिया गरेकाले बिरामीको ज्यान बचाउन सफल भयौं’, डा. गुप्ताले भने, ‘अरू एक-दुई दिन ढिला भएको भए ज्यान जोखिममा पर्न सक्थ्यो।’

डा. गुप्ताले हाल अनुको पेटमा अर्को प्वाल पारेर आन्द्रा बाहिर निकाली बाहिरबाटै दिसा गराइएको बताए। उनले भने, ‘अबको तीन महिना पेटबाहिरबाटै दिसा गराएपछि अर्को शल्यक्रिया गरेर मात्रै उनको अवस्था सामान्य रहनेछ।’

प्रतिष्ठानको सर्जरी वार्डमा उपचाररत अनुले चिकित्सकको लापरवाहीका कारण आन्द्रा काटिएको बताउँदै भनिन्, ‘म बिरामी भएपछि नाबालक दुई छोरी र एक छोराको लालनपालनमा समेत समस्या भएको छ। मेरो आन्द्रा काटिदिने डाक्टरलाई कडा कारवाही होस्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप