बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले  क्रिकेटमा  इतिहास रच्यो, पहिलो पटक एकदिवसीय मान्यता

बिहीबार, ०१ चैत २०७४, २१ : ११
बिहीबार, ०१ चैत २०७४


काठमाडौँ-  अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । 

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । 
नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यता भने खोसिएको छ । 

आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले बल र ब्याट दुवैमा चम्किएपछि नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो ।  सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यता खोसिन पुगेकोहो |  

नेपालले २३ ओभरमा पपुवा न्युगिनीले प्रस्तुत गरेको लक्ष्य भेट्यायो ।

दीपेन्द्रले खेलमा चार विकेट लिनका साथै नेपालको टोली संकटमा रहेको बेला ५० रनको योगदान दिए । 

ऐरीले ५८ बलमा अर्धशतक बनाए ।

उनलाई आरिफ शेख र कप्तान पारस खड्काले राम्रो साथ दिए । 

पपुवा न्युगिनीले प्रस्तुत गरेको ११५ रन को लक्ष्य पछ्याउने क्रममा नेपालले १३ रनको स्थितिमा दुवै ओपनर गुमाएको थियो ।

कप्तान पारसलाई २० रनको स्थितिमा गुमाउँदा नेपालको स्थिति ३ विकेटको क्षतिमा ३५ रन थियो ।

त्यसपछि दीपेन्दले २६ रन बनाएका आरिफसँग मिलेर नेपालको स्थिति सम्हाले र नेपाललाई जीत दिलाए ।

यसअघि,  सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह ऐरीको धातक बलिङ सामु पपुवा न्युगिनी निरिह बनेको थियो ।

सन्दीप र दिपेन्द्रले कसिलो बलिङ गर्दै ४–४ विकेट लिए पछि पपुवा न्युगिनी मात्र २७.२ ओभरमा आल आउट हुनुपुग्यो ।

पपुवा न्युगिनीका ६ जना ब्याटसम्यानले दोहोरो अंकमा रन बटुले पनि कसैले २० रन पूरा गर्न सकेनन् ।

पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वा्धिक १९ तथा जेसन किलाले १५ रनको योगदान दिए ।

सोमपाल कामी र करण केसीले पपुवा न्युगिनीका दुवै ओपनरलाई पभिलियन फर्काएपछि सन्दीपले ८ ओभरमा २९ रन खर्चेर चार विकेट लिँदै मध्यक्रमलाई ध्वस्त पारे ।

त्यसपछि बलिङ गर्न आएका ऐरीले अन्तिम चार विकेट लिँदै पपुवा न्युगिनीलाई सस्तोमा समेटे ।

ऐरीले मात्र ४.२ ओभरमा १४ रन खचेएर ४ विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप