बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तामाकोसी शेयर वितरणविरुद्ध आन्दोलन

बिहीबार, ०१ चैत २०७४, १९ : २६
बिहीबार, ०१ चैत २०७४

चरिकोट– बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।  शेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । 

माथिल्लो तामाकोशी शेयर सरोकार संघर्ष समितिले आज चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो अवधिमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।  यसअघि संघर्ष समितिले माथिल्लो तामाकोशीको शेयर वितरणको विषयलाई लिएर सातबुँदे मागपत्र प्रस्तुत गर्दै १० दिनको चेतावनी दिएको थियो । 

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता बर्मा लामाले दोस्रो पटक दिएको अल्टिमेटम अवधिभित्र पनि माग सुनुवाई नभए आन्दोलनमा उत्रने बताए ।  संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए चैत १० गतेदेखि माथिल्लो तामाकोशी आयोजना र आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा निषेध गर्ने जनाएको छ । 

नेकपा मालेका पोलिटब्युरो सदस्य रेशमराज रिमालले शेयर दलाल र आयोजनाबाटै दोलखाली जनतालाई अन्याय हुनेगरी शेयर निष्कासनको तयारी भएको बताएका छन् ।  समितिले यसअघि दोलखावासीका लागि छुट्याइएको १० प्रतिशत शेयर वितरण गर्नुपूर्व शेयर वितरण मोडालिटी सच्याएर मात्र शेयर बाँडफाँड गर्नुपर्नेसहित सातबुँदे माग अघि सारेको थियो । 

समितिले शेयरको अधिकतम र न्युनतम मुल्यलाई तीन देखि ३० हजारबाट घटाएर तीनदेखि १० हजार कायम गर्न, जिल्लावासीलाई वितरण गरेर बाँकी रहने शेष शेयरको सम्बन्धमा ग्यारेन्टी गर्न र आयोजनाको मुख्य प्रभावितमध्येको गौरीशंकर गाउँपालिका–९ मा तत्काल सडक पुर्याउनुपर्ने माग गरेको छ । 

माथिल्लो तामाकोशी आयोजनाले धितोपत्र बोर्डबाट स्वीकृति लिएर यही चैत महिनाभित्र शेयर निष्कासनको तयारी गरिरहेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखावासीका लागि रु एक अर्ब पाँच करोडको शेयर निष्कासन गर्न लागेका बेला दोलखामा विवाद र आन्दोलन सुरु भएको हो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप