शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसकारण फोरम नेपालले पाएन उपसभामुख

बिहीबार, ०१ चैत २०७४, १७ : २३
बिहीबार, ०१ चैत २०७४

काठमाडौं–संघीय समाजवादी फोरम नेपालका लागि छुट्याएर राखिएको उपसभामुख पद नेकपा एमाले आफैँले लिएको छ ।

वाम गठबन्धन र फोरमबीच दुईटा मन्त्रालय र उपसभामुख दिने सहमत भएको थियो तर फोरम नेपालमा उपसभामुख कसलाई बनाउने अन्योल भएपछि एमालेले आफैसँग राखेको बताइएको छ ।
पुरुष सभामुख भइसकेपछि महिला उपसभामुख हुनुपर्छ । फोरम नेपालमा त्यसका लागि दुईजनाको नाम बाहिर आएको थियो । रेणु यादव र सरिता गिरीमध्ये कुनै एकजनालाई उपसभामुख बनाउने तयारी फोरम नेपालको थियो ।

तर, रेणु यादवले उपसभामुखमा नजाने भनेपछि एमाले बिच्किएको हो ।

रेणु यादवले उपसभामुख पद स्वीकार गरेको भए  एमालेले सो पद दिन्थ्यो । तर सरिता गिरीको नाममा एमाले पनि तयार भएन । 

सरिता गिरीको पृष्ठभूमि राम्रो नभएको र उनी उपसभामुख पदमा आएपछि केही गडबड भएमा त्यसको असर सरकारमा पर्ने भएको हुनाले एमालेले सरिता गिरीको नाममा उपसभामुख पद फोरम नेपाललाई नदिएको स्रोतले जनाएको छ । 

फोरम नेपालका महासचिव रामसहाय यादवले उपसभामुखको विषयमा आफ्नो पार्टीसँग कुनै पनि छलफल नभएको प्रतिक्रिया दिए । उनले भने, ‘कसलाई दिने÷नदिने विषय पार्टीको कुरा हो तर त्यस विषयमा वाम गठबन्धनसँग कुनै कुरा नै भएको छैन ।’

फोरम नेपालका उपाध्यक्ष रेणु यादवले पनि उपासभामुख दिने नदिने विषयमा पार्टीमा कुनै छलफल नभएको बताइन् । उनले भनिन्, म उपाध्यक्षमा जान्थे कि जाँदैन्थे त्यो कुरा पार्टीमा छलफल भएपछि मात्र थाह हुन्थ्यो तर जुन विषयमा छलफल  र  चर्चा नै भएन भने त्यसमा जाने नजाने कुरै हुँदैन ।’ 

सरिता गिरी डा.बाबुराम भट्टराई नेतृत्व सरकारको पालामा श्रम मन्त्री थिइन् । त्यसबेला अनियमितताको काण्डमा मुछिएपछि तत्कालिन प्रधानमन्त्री भट्टराईले उनलाई मन्त्री पदबाट बर्र्खास्त गरेका थिए । 
त्यसपछि उनले डा.भट्टराई लगायत सरकारको बारेमा आफ्नो फेसबुकमा जथाभावी लेख्न थालिन् । यहाँसम्म कि उनले राजसंस्थाको पक्षमा समेत वकालत गर्न थालिन् । यही पृष्ठभूमिका कारण एमालेले सरिता गिरीको नाममा उपसभामुख दिन तयार भएन ।

यता मन्त्रालय र मर्यादाक्रमको विषयमा कुरा नमिल्दा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि उपसभामुखको बारेमा त्यति चासो नलिएको बताइएको छ । 

 रेणु यादव उपसभामुख पदमा नजाने कुरा उपेन्द्र यादवले थाह पाइसकेपछि सरिता गिरीका लागि मात्रै उनले पनि पदकै लागि त्यति दवाव नदिएको स्रोतले जनाएको छ । 

यादवले संविधान संशोधनलगायत अन्य सबै विषयमा प्याकेजमै सहमति होस् भनि चाहेका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप