शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश पदबाट राजीनामा दिएपछि यस्तो आयो पराजुलीको प्रतिक्रिया

बिहीबार, ०१ चैत २०७४, १५ : ०६
बिहीबार, ०१ चैत २०७४

काठमाडौं–प्रधानन्यायाधीश गोपाल पराजुलीले  आफूलाई चारैतिरबाट आक्रमण भएको प्रतिकृया दिएका छन् । 

बिहिबार पदबाट राजीनामा दिएसँगै रातोपाटीसँग कुराकानी गर्दै उनले भने – ‘म सहजै निकास दिने पक्षमा थिएँ, मैले राम्रो काम गर्दागर्दै पनि ममाथि चारैतिरबाट आक्रमण भयो ।’

उनले विश्वमा कहिँ नभएको प्रचलनमार्फत न्यायपरिषदले आफ्नो पद हाइज्याक गरेको समेत दाबी गरे ।  एउटा  सचिवले प्रधाननयायधीबारे निर्णय गर्नुले यसको  राम्रो नजिर नबस्ने उनको दाबी थियो । 

न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेपछि बिहीबारबाट सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका थिए । 

यद्यपी पराजुलीले बिहीबार विहानसम्म आफुू पदमुक्त नभएको भन्दै आफू कार्यालय गएर काम गर्ने बताएका थिए । तर, बिहीबार कायम मुकायम प्रधानन्यायाधीश जोशीले सर्वोच्च अदालतको पेशी सुची समेत तोकेपछि पराजुलीले आफ्नो कार्यक्षेत्र र अधिकारमा हस्तक्षेप र हाइज्याक भएको प्रतिकृया दिएका थिए ।

राजीनामा दिने कि के गर्ने भन्नेमा अन्योलता रहेको बेला उनले राजीनामाकै बाटो राजेका हुन् । 

पराजुलीले बिहीबार दिउँसो शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो राजीनामा बुझाएका हुन् । 

पराजुलीको राजीनामा बुझ्दै राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा पुर्याएको योगदानप्रति धन्यवाद दिएकी थिइन् । 

यसअघि आजै बिहान प्रधानन्यायाधीश पराजुलीले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । 

छलफलमा  ओली र प्रचण्डले  राजीनामा दिन सुझाएको स्रोतले बताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप