शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विक्षिप्त मनहरूप्रति समर्पित

बिहीबार, ०१ चैत २०७४, १३ : ११
बिहीबार, ०१ चैत २०७४

भोलि कसैले देखेको हुँदैन । हरकोही व्यक्ति भोलि आफ्नै जीवनमाथि के घटना घट्दैछ भन्ने बारेमा पूर्णतया अनविज्ञ हुन्छ । कोही व्यक्ति आफ्नो भविष्यको बारेमा थोरै मात्र पनि जानकार हुँदो हो त मान्छेको जिन्दगीमा पिडा भन्ने चीज नै हुँदैनथ्यो । जिन्दगी फूलैफूलले मात्र सजिएको हुन्थ्यो । अहिलेसम्म न त भाग्य हेर्ने कुनै ज्योतिषीले भविष्यवाणीबाट कसैको जीवन बचाएको रेकर्ड छ न त कोही वैज्ञानिकले भविष्य हेर्ने मेसिन नै बनाउन सकेका छन् । त्यसैले त अनिश्चित भविष्यको चपेटामा च्यापिएर आफ्नै जीवनले कहिले र कसरी मृत्युवरण गर्ने हो भन्ने बारेमा जिन्दगीको अन्तिम समयसम्म पनि मानिस बेखबर नै रहन्छ ।

फागुन २८ सोमबारको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बङ्गला एयर विमानको दुर्घटनाबाट यतिबेला पूरै देश शोकमग्न छ । केही दिनअघि युद्धग्रस्त देश सिरियामा भएको आक्रमणमा परी हताहत भएका बालबालिकाहरूको हृदयविदारक तस्बिरहरू फेसबुकको भित्ताहरूमा भाइरल भएसँगै भावुक बनेका नेपाली मनहरू त्यसलगत्तै आफ्नै देशमा घटेको यत्ति ठूलो हवाई दुर्टनाबाट क्षतविक्षत विमान र शव नियाल्दै शोकाकुल बनिरहेका छन् । अस्पताल परिसर दुर्घटनामा निधन भएकाहरूको आफन्तको आर्तनाधले गुन्जिरहेको छ । 

सोमबार बेलुका करिब ५ः३० बजेतिर फेसबुक खोल्दा विमान दुर्घटनाको खबरसँगै देखाइएको जलिरहेको विमानको दृश्यसहितको फोटोमा गएर आँखा रोकिए । त्यसलगत्तै झल्यास्स गएरातिको सपना सम्झिएँ । बढीमा करिब ३ मिनेटको सपनाको उक्त दृश्यमा ल्यान्डिङ गरेर राखिएको जहाज करिब ४, ५ कि.मि. बस जस्तै घस्रेर हिँडेपछि उड्न खोज्दा जहाजबाट धुवाँको मुस्लो जोडतोडका साथ निस्किरहेको थियो । सपनामा नै मसँग भएका एकजना परिचितलाई त्यो के भएको भनेर जिज्ञाशा राख्दा जहाज बस जसरी सडकमा घर्सेकाले त्यस्तो भएको जवाफ दिए । हुन त सपनामा देखेको जहाज दुर्घटनामा परेको नै हो भन्ने कुरा मेरो अर्धबेहोस मस्तिष्कले त्यो बेला महसुस नै गरेन । तर पनि यत्ति छोटो सपनामा देखेको  दृश्य फोटोमा देखिएको दुर्घटनाग्रस्त विमान र त्यसबाट निस्केको धुँवाको मुस्लोसँग हुबहु मिलेपछि भने आश्चर्यचकित हुन पुगेँ । हुन त यो मात्र एउटा संयोग पनि हुन सक्छ । तर त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटना चाहिँ कुनै सपना नभएर यथार्थ थियो । जहाँ धेरैका खुशी, सपना र उमङ्ग क्षणभरमै ध्वस्त भएका थिए । जसको प्रमाण नेपाली सञ्चारका माध्यमहरूले पुष्टि गरिसकेका थिए । जलेर डल्लो परेका शवहरू लहरै पहेँलो शव राख्ने झोलामा पङ्क्तिबद्ध थिए । फेसबुकका भित्ताहरूमा पोष्ट भएका तस्बिरहरूमा आँखा अड्याइरहन सक्ने स्थिति नै थिएन ।

त्यस घटनामा कतिले आफू बाँचेर आफ्नो बच्चा गुमाएका थिए । कसैका श्रीमान् अनि कसैका श्रीमती गुमेका थिए ।  मानिसले जुनसुकै क्षेत्रमा जतिसुकै विज्ञता हाशिल गरे पनि मृत्युको अगाडि हरकोही निरिह बन्न पुग्दोरहेछ । त्यसैले त मृत्युसंग पौंठेजोरी खेलिरहेका अनगिन्ति बिरामीलाई नयाँ जीवन प्रदान गर्ने नेपालका होनहार न्युरोसर्जन डाक्टर बालकृष्ण थापा आफ्नो जीवनको रक्षा गर्न चाहिं असफल हुन पुगे । अरूको जिउ ज्यान जोगाउन आफ्नो जिन्दगीको अधिकांश समय खर्चेका उनलाई आफ्नै प्राण जोगाउनका लागि भने  ५ मिनेटको समय पनि उपलब्ध भएन । उनको निधनले सम्पूर्ण नेपालले स्वास्थ्य क्षत्रमा अपुरणीय क्ष्यति व्यहोर्नु परेको छ । त्यसको साथै एम.बी.बी.एस. अन्तिम वर्षको परीक्षा सकाएर बङ्गलादेशबाट स्वदेश फर्किंदै गरेका ११ जना नेपाली विद्यार्थीहरूले अल्पायुमै यस जगतबाट बिदा लिनुपरेको छ । पाँच पाँच वर्षसम्म आफन्त र घरबाट निकै टाढा विदेशी भूमिमा अहोरात्र खटिएर अध्ययन पूरा गरेको खुशियाली परिवारसँग साट्न आतुर उनीहरूको सपना विमान दुर्घटनासँगै चकनाचुर भएको छ ।

वर्षौंको निरन्तर मेहनत, त्याग र तपस्यापश्चात् चिकित्सक बनेर जीवनको नयाँ अध्याय सुरु गर्नेलाग्दा उनीहरूको सपनाको दुखद् अन्त्य हुन पुगेको छ । छोराछोरीको ब्यग्र प्रतीक्षामा रहेका बाबुआमालाई समुद्रपारिबाट सकुशल आएर स्वदेशको माटोमा टेक्नै लाग्दा भएको छोराछोरीको भयाबह मृत्युले ब्याकुल बनाइरहेको छ । विमानस्थलको प्राङ्गणमा आफ्ना प्राणभन्दा प्यारा छोराछोरीलाई गम्ल्याङ्ग अँगालो हालेर खुशी साटासाट गर्ने क्षणको पर्खाइमा रहेका उनीहरू आफ्नै छोराछोरीको लाश चिन्न नसकेर निर्जीव शरीरलाई अँगालेर रुन पनि नपाइरहेको अवस्था छ ।

छोराछोरीको उच्च शिक्षाको लागि आफ्नो गास काटैर लगानी गरेका बाबुआमाहरूको सपना साकार हुनै लाग्दा दैबले उनीहरूबाछ सधैँको लागि खुशी खोसिदिएको छ । गर्भमा भर्खर टुंसा पलाउँदै गरेको एउटा जीवनको अन्त्य हुँदा त बाबुआमालाई असह्य पीडा हुन्छ भने जन्माएर हुर्काई बढाई समाजमा स्थापित बनाइसकेका छोराछोरीको अप्रत्याशित र दर्दनाक मृत्युले बाबुआमामाथि पर्ने बज्रपातलाई शब्दले

मापन गर्ने सकिँदैन ।

परिवारको सुखद भविष्यको सपना मनभरी सजाएर परिवारबाट धेरै टाढा वैदेशिक रोजगारीमा गएको छोरालाई लिन विमानस्थल पुगेका बाबुआमालेले कल्पना पनि गरेका थिएनन् होला छोरालाई शकुसल भेट्न त के छोराको चिन्नै नसकिने लास बुझ्न पनि उनले अझै ४, ५ दिन कुर्नुपर्ने छ भनेर ।  अबको केहि बर्षमा आफ्नो परिवारले सुखका दिन देख्न पाउने आश्वासन दिएर विदेश हानिएका छोराको घर फर्कनेबेलामा दुर्घटनामा भएको मृत्युले उनको परिवार अहिले श्तब्ध भएको छ । छोरासंगै बाबु र सम्पूर्ण परिवारको त्यो खुशी जलेर खरानी खरानी भएको छ । वृद्ध बाबुआमाले बुदेशकालको टेक्ने लट्ठी गुमाएका छन् । एउटा नाबालक दूध चुस्ने उमेरकी अबोध बालिकाले जीवनभर बाबुको मायाबाट वञ्चित रहनुपर्ने भएको छ । कलिलो उमेरमै एउटी युवतीको सिउँदोको सिदूर उजाडिएको छ । अनि  त्यहिँ सिन्दूरसँगै उजाडिएको छ । उनको अनगिन्ति सपनाहरूले सजिएको सुन्दर संसार पनि । यू यस बंगलालाई नेपालमा ल्याउन प्रमुख भूमिका खेल्ने व्यक्ति समेत अन्तत यहिँ बिमानको कारण ज्यान गुमाउनेको सूचीमा दर्ज भएका छन् । 

आफैले भित्र्याएको विमानले आफ्नै ज्यान लिन्छ भन्ने कुरा उनलाई के थाहा । बङ्गलादेशमा ट्राभल्स एजेन्सीको कार्यक्रममा सहभागी भएर फर्किंदै गरेका पर्यटन व्यवसायीहरूले पनि यही दुर्घटनामा परेर आफ्नो इहलीला समाप्त गरे । क्षयणभरमै विमानभित्र आँधीझैँ फैलिएको आगोले यसरी विमानसँगै अधिकांश यात्रुको जिन्दगी निमेषमै ध्वस्त बनाइदियो ।

मृत्यु जुनसुकै किसिमको होस् यसलाई सहश्र स्वीकार गर्न कसैले सक्दैन । तर उक्त विमानमा अकस्मात् र भयाबह रुपमा जसरी यात्रुहरूले मृत्युको सामना गर्नुपर्यो त्यो कल्पनै गर्दा पनि हृदयबिदारक छ । लोकप्रिय गीत ‘मर्ने कसैलाई रहर हुँदैन...’ यसै बनेको पक्कै होइन । 

हामी परिस्थितिको अगाडि जहिल्यै मजबुर छौं । हामीसँग सहनुको विकल्प छैन । यस दुखद घडीमा सम्पूर्ण दुर्घटना बाट विक्षिप्त देशीविदेशी परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् । सम्पूर्ण मृतात्माले शान्ति पाऊन् । उपचाररत सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामनासहित भोलिका दिनमा यस्तो दुर्घटना संसारको कुनै कुनामा पनि नघटोस् । भगवानले यस्ता दुर्घटना हुनबाट जोगाएर आफ्नो अस्तित्वको आभास सबैलाई गराउन सकून् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णा रायमाझी
कृष्णा रायमाझी
लेखकबाट थप