शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं ३ को नाम पशुपति कि नेपालमण्डल ?

बुधबार, ३० फागुन २०७४, १३ : ३८
बुधबार, ३० फागुन २०७४

– प्रकाश सिलवाल 
काठमाडौँ– मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ ।  प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनसके भएपनि सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक छलफल शुरु भएको हो । प्रदेशसभामध्येकै पहिलो बैठक आयोजना गरेको प्रदेश नं ३ को प्रदेशसभामा काठमाडौँबाट निर्वाचित नेकपा ९एमाले० का सांसद डा अजयक्रान्ति शाक्यले प्रदेशको नाम ‘नेपालमण्डल’ राख्न उपयुक्त हुने अवधारणा सार्वजनिक गरेपछि बहस तातेको देखिन्छ । 

यस प्रदेशको नामका लागि बाग्मती प्रदेश, नेवा–ताम्सालिङ प्रदेश, काष्ठमण्डप प्रदेश, पशुपति प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्रीपत्तन प्रदेश, नारायणी प्रदेशजस्ता नाम चर्चामा आए पनि ऐतिहासिकता, भूगोल, जाति, संस्कृति र साझा पहिचानका लागि नेपालमण्डल उपयुक्त हुने डा शाक्यको मत छ । आफूले विस्तृत अध्ययनका आधारमा सो अवधारणा ल्याएको बताउँदै उनले यसमा एमाले र अन्य दलका सदस्यले समर्थन गर्ने विश्वास व्यक्त गरे । डा.शाक्यले एकल जातीय नाम स्वीकार्य नहुने जनाए । 

नेपालमण्डल’ शब्दको ऐतिहासिकता अध्ययन गर्दा इश्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इश्वीको तेस्रो शताब्दीतिरको मानिने आर्यमहामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं ५०२/५०३ मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख छ । ‘नेपालमण्डल’ लिच्छवी राजामानदेव अघिदेखि नै उल्लेख भएको र पृथ्वीनारायण शाहले स्थापना गरेको बाइसे÷चौबिसे, सेन र नेपालमण्डल गरी तीन राज्य खडा गरेको सन्दर्भमा तत्कालीन जिल्लानै हालको १३ जिल्लाको नेपालमण्डल रहेको डा.शाक्यको भनाइ छ । 

देशको नाम र शहरको नाम उस्तै खालको रहेको नेपाल मात्र नभई अन्य मुलुकमा पनि अभ्यासमा देखिन्छ । हालसम्म प्रदेश नं ६ कर्णाली प्रदेशको नामाकरण गरिसकेको छ भने अन्य प्रदेश सरकारले औपचारिक प्रस्ताव प्रदेशसभामा लगेका छैनन् । 

यसबारे प्रदेश नं ३ को प्रदेशसभामा बहुमतमा रहेका एमालेले भने पार्टीगत धारणा सार्वजनिक गरेको छैन । यस प्रदेशमा एमालेका ५८, नेकपा ९माओवादी केन्द्र० २३, नेपाली काँग्रेस २१, विवेकशील साझा पार्टी तीन, नेपाल मजदूर पार्टी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र स्वतन्त्र (नयाँ शक्ति नेपाल)एक/एक सदस्य छन् । 

नेपाली काँग्रेसतर्फबाट प्रदेशसभा सदस्य रहनुभएका नरोत्तम वैद्यले नाम र राजधानीबारे आफूहरुबीच ठूलो मतभेद नभएको बताए । उनले प्रदेशको नाम पशुपति राख्दा थप गरिमा बढ्ने आफ्नो धारणा रहेको बताए ।  माओवादी केन्द्रबाट निर्वाचित भई हाल प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकटेलले आफ्नो पार्टीले पहिला नेवा–ताम्सालिङ नाम प्रस्ताव गरेको र अहिलेको सन्दर्भमा छलफल गरेर निर्णयमा पुगिने बताए । उनले नेपालमण्डलमा आफ्नो आपत्ति नरहेको पनि स्पष्ट पारे । 

कूल २० हजार ३०० वर्गकिलोमिटर क्षेत्रफल ९नेपालको कूल भूभागको १४ प्रतिशत० ओगटेको यस प्रदेशमा ५५ लाख २९ हजार ४५२ जनसंख्या र ३० लाख ७४ हजार ४१२ मतदाता छन् । यो प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ गरी १३ जिल्ला छन् । यहाँका बोलिने मुख्य भाषा नेपाली, नेपाल भाषा, तामाङ, मगर, गुरुङ र थारु हो । 

उत्तरी छिमेकी चीनको केरुङ नाकासँग यस प्रदेशको भूगोल जोडिएको छ । राष्ट्रिय योजना आयोगको ‘मल्टिडायमेन्सनल पोभर्टी’ इन्डेक्स २०१८ अनुसार यस प्रदेशमा गरिबीदर २० दशमलव ६ प्रतिशत छ । अन्य प्रदेशको तुलनामा यो धेरै अत्याशलाग्दो नभए पनि सबैभन्दा कम गरिबी दर प्रदेश नं १ मा १६ दशमलव ७ प्रतिशत र सबैभन्दा बढी प्रदेश नं ७ मा ४५ दशमलव ७ प्रतिशत रहेको तथ्याँक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप