बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री,मन्त्री र सांसद काठमाडौँ हानिएपछि प्रदेश सरकार रित्तै

मङ्गलबार, २९ फागुन २०७४, १७ : २०
मङ्गलबार, २९ फागुन २०७४

सुर्खेत– केही दिनयता प्रदेश सरकारका कार्यालय खाली भएका छन् । मन्त्री र संसदहरु काठमाडौँ गएपछि कर्णालीलगायत अन्य प्रदेशका कार्यालय खाली र सुनसान भएका हुन् ।  राष्ट्रपतिको निर्वाचनमा मत हाल्न प्रदेशका सवै मन्त्री र सांसदहरु मंगलबारको राष्ट्रपति निर्वाचनका लागि केहि दिनअघि काठमाडौँ गएका हुन् । कार्यालयमा प्रमुख लगायत अधिकांश कर्मचारी नहुँदा खालीजस्तै भएका छन् ।

मन्त्री र मुख्यमन्त्री नभएपछि कार्यालयमा कति कर्मचारी गएका छैनन् भने गएका पनि हाजिर ठोकेर फर्किने गरेका छन् ।  कर्णालीमा मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका छन् भने ४० सांसद यस प्रदेशमा रहेका छन् । तर, अहिले प्रदेश संसद, मन्त्रालय लगाएतका कार्यालयहरु प्रमुखबिहिन जस्तै खाली भएका छन् । 

सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती लगायत अन्य सांसद समेत संघीय राजधानी काठमाडौँ गएका हुन् ।  त्यस्तै,मुख्यमन्त्री लगाएत अन्य मन्त्रीहरु पनि काठमाडौँमै छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी सुर्खेत र दैलेखका केही स्थानमा सुरक्षा योजना लिएर गाउँ पसेका थिए । यता, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पनि सुर्खेतका केहि स्थान र आफ्नो गृहजिल्ला रुकुम(पश्चिम) पुगेकी थिइन् । 

‘काठमाडौँमै मौका छोप्छौँ, खाली बस्दैनौँ’
मन्त्री र सांसदहरु राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि काठमाडौँ गएपनि खाली नबस्ने बताएका छन् । ‘अन्य समयमा यस्तो मौका आउँदैन, सवै मन्त्री र सांसद काठमाडौँ आएका छौँ ।’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने,‘यो मौका छोपेर कर्णालीको विकासका लागि काठमाडौँमै विज्ञसँग अन्तरक्रिया जस्तै छलफल गर्छाै ।’ 

हाजिर लगाएर फर्किए केही कर्मचारी
प्रदेश सरकारमा केन्द्र सरकारले खटाएका अधिकांश कर्मचारी अझै पुगेका छैनन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा अझैसम्म पनि खटाईएका सचिव प्रकाशबहादुर रघुवशीको अत्तोपत्तो छैन् । उनी अहिलेसम्म मन्त्रालयको सम्र्पकमा आईनपुगेको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा समेत पुरा कर्मचारी छैनन् । आएका केही कर्मचारी मध्य ३ जना कर्मचारी हाजिर लगाएर फर्किएको कार्यालयले जनाएको छ ।  त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ दरबन्दीमा २२ जना कर्मचारी आईपुगे तर, २ जना कर्मचारी भने हाजिर लगाएर फर्किएको कार्यालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप