बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के महन्थ ठाकुर उपराष्ट्रपति बन्लान् ?

मङ्गलबार, २९ फागुन २०७४, १५ : २४
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति दिएर उसको पार्टीलाई सरकारमा सहभागि गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना पूरा नहुने देखिएको छ ।  प्रधानमन्त्री ओलीले पहिलो भेटमा नै उपराष्ट्रपति लिएर सरकारमा सहभागि हुनुपर्छ भनि महन्थ ठाकुरलाई गरेको प्रस्तावलाई माओवादी केन्द्रले अस्वीकार गरेको छ । उपराष्ट्रपतिमा नन्दबहादुर पुन पुनः दोहोरिने दवाव पार्टीमा पर्न थालेपछि राजपा नेपालका संयोजक ठाकुरलाई उपराष्ट्रपति दिन माओवादी केन्द्र तयार नरहेको स्रोतले जनाएको छ । 

त्यसो त माओवादी केन्द्र राजपा नेपाललाई सरकारमा ल्याउन सकारात्मक देखिएको छ । माओवादी केन्द्रका एकजना नेताले भने, ‘राजपा नेपालमा अतिवाद देखिएको छ । त्यो पार्टीका निर्णय प्रणालीदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो नदेखिएका कारण त्यो दललाई सरकारमा ल्याउन हाम्रो त्यति चाहना छैन ।’

एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दाहोर्याएपछि नन्दबहादुर पुन पनि दोहोरिनुपर्छ भनि पार्टीमा दबाब परेको छ त्यसैले अरु कुनै पार्टीलाई उपराष्ट्रपति नदिने माओवादी केन्द्रको तयारी रहेको छ । राजपा नेपाल सरकारमा आउन चाह्यो भने राष्ट्रियसभाको उपाध्यक्षसम्म दिन सकिने माओवादी केन्द्रको सोच रहेको एमालेका एक नेताले बताए ।

यद्यपि एमालेका सचिव प्रदीप ज्ञवालीले छलफलमा अनेक कुराहरु उठ्छन् तर सहमति भएपछि मात्र त्यसलाई सत्य मान्न सकिने बताउँदै संयोजक ठाकुरलाई उपराष्ट्रपति दिने विषयमा खासै छलफल नभएको बताए । कसैले उनलाई व्यक्तिगत रुपमा प्रस्ताव गरेको होला त्यो कुरा आफूलाई थाह नभएको तर त्यस विषयमा औपचारिक छलफल नभएको उनले बताए ।

पार्टीभित्रको चाहना
राजपा नेपालभित्र नै एउटा समूहले महन्थ ठाकुरलाई उपराष्ट्रपतिमा पठाउन चाहेका छन् । महन्थ ठाकुर उपराष्ट्रपतिमा गएपछि नेतृत्वमा जान पाइन्छ भनेर राजेन्द्र महताले सबभन्दा बढी बल गरिरहेका छन् ।  पार्टीमा आफ्नो पकड बनाउन रणनीतिमा रहेका राजेन्द्र महतोले महन्थ ठाकुर उपराष्ट्रपतिमा गएपछि संयोजकको सीट खाली हुन्छ र त्यहाँ आफू जान पाइन्छ भने उनको चाहना रहेको पार्टीका नेताहरु बताउँछन् । संसद तथा प्रदेश सांसदको हिसाबले राजपा नेपालमा राजेन्द्र महतो बलियो देखिन्छ । तर, ठाकुर त्यहाँ भएपछि महतोको केही नचल्ने देखेपछि उनलाई किनारा लगाउन चाहेको हो । 

तर, एकथरीका नेताहरुले महन्थ ठाकुर उपराष्ट्रपतिमा नजाउन भने चाहेका छन् । वृषेशचन्द्र लाल, डा.सुरेन्द्र झा लगायतका नेता अर्थात पुरानो तमलोपाका नेताहरुले ठाकुर उपराष्ट्रपतिमा नजाउन भनि चाहेका छन् ।

पार्टीका सहमहामन्त्री समेत रहेका सुरेन्द्र झाले भने, ‘पार्टीका केही नेताहरुले पनि महन्थ ठाकुर उपराष्ट्रपति जाउन भनि षड्यन्त्र गरिरहनु भएको छ । ठाकुरजीलाई यसअघि पनि उपराष्ट्रपतिको प्रस्ताव नआएको होइन तर उहाँ जानु भएन । उहाँको लागि उपराष्ट्रपति ठिक होइन, बरु पार्टीको कमाण्ड लिएर बस्नुपर्छ र मधेशका लागि संघर्ष अघि बढाउनुपर्छ ।’

संयोजक ठाकुर राष्ट्रपति कि प्रधानमन्त्री बन्नुपर्ने उनी निकटका नेताहरु बताउँछन् । बरु पार्टीको कमाण्डरनै ठिक तर उपराष्ट्रपतिमा जानु हुँदैन भन्छन् ती नेताहरु ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप