शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति भत्किँदैछ कि भत्काइँदैछ ?

मङ्गलबार, २० असार २०७४, १३ : ३०
मङ्गलबार, २० असार २०७४

नेत्र पन्थी

काठमाडौँ– हिजोबाट एउटा बहस सुरु भएको छ । एक वर्ष अगाडि घोषणा भएको नयाँ शक्ति पार्टी नेपालको उथलपुथल हुँदैछ । खास गरेर नेतृत्व हस्तान्तरणको विषय बहसमा आएको छ । नयाँ शक्तिका सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेलले पार्टी संयोजक डा. बाबुराम भट्टराईले नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेको खुलासा गरेपछि नयाँ शक्तिमा यो बहस सुरु भएको हो । यो बहस नयाँ शक्तिमा मात्र सीमित भएन । बहसलाई ‘डिफ्युज’ गर्न हिजो नै बाबुरामले ट्विट गरे, ‘कसैले बूढो गोरु मरोस्’ भन्दैमा मर्दैन । नयाँ शक्ति जन्मिदैमा मरोस् भनेर धूप हाल्नेहरूले बाबुरामले नयाँ शक्ति छोड्ने हल्ला चलाएका छन् । बाबुराम भट्टराई भाग्दैन ।’

आजका दिनमा बाबुरामको नेतृत्वविनाको नयाँ शक्ति राष्ट्रिय राजनीतिका लागि अर्थपूर्ण नहुन सक्छ । बाबुरामले जसलाई नेतृत्व हस्तान्तरणको कुरा गरेका छन्, देवेन्द्र पौडेलले मोर्चा सम्माल्न तयार भएको जस्तो देखिन्न । उनले अब माओवादी, सङ्घीय समाजवादी फोरमजस्ता परिवर्तनशील शक्तिसँग मोर्चाको अवधारणा अगाडि सारेका छन् । अर्थात्, आफ्नै बलबुतामा पार्टी बनिहाल्छ भन्ने पूरै आत्मविश्वास उनमा देखिन्न । 


सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेलको अन्तर्वार्ता र बाबुराम भट्टराईको ट्विटको सीधा अर्थ हुन्छ– नयाँ शक्तिमा केही हुँदैछ वा केही गढबढ छ । देवेन्द्रको अन्तर्वार्ताले आशङ्का, प्रश्नले बहस गराइरहेको छ र अरू केही दिन अवश्य चल्नेछ । 


यो बहस आयो कसरी र नयाँ शक्तिमा के हुँदैछ ? यो विषयमा मैले नयाँ शक्तिका केही नेतासँग आज बिहान अनौपचारिक कुराकानी गरेको थिएँ । ती कुराकानीलाई आधार मान्ने हो भने नयाँ शक्तिको सङ्गठनमा ठूलै उथप–पुथल चाहिँ हुँदैछ । पार्टी संयोजक डा. भट्टराईले नयाँ रोडम्याममाथि विमर्श थालेका छन् । अबको एक महिनाभित्र यसलाई आकार दिने सोच बनाएका छन् । 


सूत्रका अनुसार नयाँ शक्तिको सङ्गठनात्मक पद्धतिलाई पूरै नयाँ तरिकाले गठन गर्ने बाबुरामको तयारी छ । उनले यसका लागि साउनको पहिलो साता केन्द्रीय कार्यकारणी सदस्य र केन्द्रीय परिषद्को संयुक्त वैठक–भेला बोलाउने तयारी गरेका छन् ।


भट्टराई निकट सूत्रहरूलाई मान्ने हो भने भेलाबाट सङ्गठनसम्बन्धी महत्वपूर्ण निर्णय कार्यविभाजन हुनेछ । नयाँ शक्तिले उठाएको कार्यकारी प्रमुख र आर्थिक समृद्धिको नारा ठीक छ, अर्थात् मुद्दा ठीक छन् र सङ्गठन भनेअनुसार नभएको बाबुरामको बुझाइ छ । उनी आवश्यक परे पार्टीको नाम परिवर्तनको मुडमा पनि छन् । 


बाबुरामले केन्द्रीय कार्यकारिणी समिति सानो बनाउने र कार्यकारिणी समिति सदस्यले स्वतः जिल्ला इन्चार्जको जिम्मेवारी पाउने गरी सङ्गठनात्मक योजना ल्याउने सोच बनाएका छन् । यसो गर्दा बढीमा ८० देखि ९० जनासम्मको कार्यकारिणी समिति बन्न सक्छ छ । अहिले केन्द्रीय कार्यकारिणी समिति सदस्यमध्ये धेरैले भूगोलको राजनीतिक जिम्मा लिएका छैनन् ।


नयाँ सङ्गठनात्मक योजनामा केन्द्रीय परिषद् सदस्यलाई गाउँपालिका प्रमुख बनाएर भूगोलमै खटाउने बाबुरामको योजना छ । यसो गर्दा अहिले रहेको ७४४ स्थानीय तहमा केन्द्रीय परिषद् सदस्य इन्चार्ज हुनेछन् । साढे सात सय जनाको केन्द्रीय परिषद् बनाएर सङ्गठनको काममा लगाउने बाबुरामको योजना छ । 

बाबुरामको सोच ६० प्रतिशत युवाहरूलाई नेतृत्वमा ल्याउने छ । तर अन्य नेताहरू यो प्रस्तावमा अझै तयार भएको दखिँदैन ।


अहिलेको नयाँ संचरना अनुसारको सङ्गठन बनाउँदा युवाहरूलाई धेरैभन्दा धेरै समेट्ने बाबुरामको योजना छ । बाबुराम अहिले सङ्गठनमा धाक धम्की दिएर पद खोज्नेहरूसँग त्यति सन्तुुष्ट छैनन्, नयाँ शक्तिमा यो समस्या छ । 


पहिलो र दोस्रो चरणको चुनाव नतिजापछि बाबुरामले सङ्गठनको पुनर्संरचनाका विषयमा सोच्न थालेका हुन् । मूलतः दोस्रो चरणको चुनाव लगत्तै उनले विभिन्न समूहमा पार्टीका नेताहरूलाई भेटेर आफ्नो कुरा राख्दै आएका छन् । यही क्रममा उनले सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेललाई नेतृत्व लिन तयार रहन भनेको बताइएको छ । यस्तो भेटमा बाबुरामले अब कसरी जाने भन्ने विषयमा सुझाव मागिरहेका थिए ।


बाबुरामको सोच ६० प्रतिशत युवाहरूलाई नेतृत्वमा ल्याउने छ । तर अन्य नेताहरू यो प्रस्तावमा अझै तयार भएको दखिँदैन । कतिपयले बाबुरालाई भनेका छन्, ‘तपाईंले अगाडि सारेको ६०–४० को बहस ठीक छ । सङ्गठन निर्माणको प्रक्रिया हामीले अभ्यास गरेअनुसार मिलेन । सबै नेतृत्वले अहिले पार्टी छाडेर पार्टी बन्दैछ ।’ एउटा महाधिवेशनसम्म उमेर समूहको कुरा नगरी सबै मिलेर पार्टी निर्माणमा लाग्न सुझाव दिएका छन्, कतिपयले । 


हुन त बाबुरामले मैले केही समय जिम्मा लिने हो । त्यसपछि तपाईंहरूले नै नेतृत्व लिनुपर्छ भन्ने कुरा पहिलादेखि नै पार्टीका युवा नेताहरूलाई भन्दै आएका थिए । तर यसपालि यो विषय अलि गम्भीर ढङ्गले उठाएका छन् । र औपचारिक रूपमा छलफल चलाएका छन् । यही कारण उनी पार्टी सङ्गठनको पुनसर्रंचनामा लागेका हुन् ।
 
अनौपचारिक भेटमा बाबुरामले नेपालको इतिहास र नेपाली कम्युनिस्ट आन्दोलनमाथि किताब खेल्ने जीवनको एक महत्वपूर्ण कार्यभार रहेको बताउँछन् । त्यसबाहेक उनले बढीमा १० वर्ष सक्रिय राजनीति गर्ने पनि बताउँदै आएका छन् । 

बाबुरामले केही समय विश्वमा वैकल्पिक शक्तिको सम्भावना, यसको सङ्गठनात्मक पद्धतिलगायतका विषयमा अन्तर्राष्ट्रिय आयम बुझ्न पनि चाहेका छन् । यसका लागि संसारका राम्रा विश्वविद्यालयमा पुगेर अध्ययन, छलफल र अन्तक्र्रिया गर्ने उनको चाहना पनि छ । उनको यो चाहनासँग मेल खानी गरी नेतृत्व हस्तान्तरणको कुरा आउनुु संयोग मात्र हो वा रणनीतिक योजना, अहिले नै भन्न कठिन छ । तर, बाबुरामको स्वकीय सचिव विश्वदीप पाण्डे तत्काल त्यस्तो कुनै कार्यक्रम नरहेको बताउँछन् । यदि बाबुराम अध्ययन, छलफल र अन्तत्र्रिmयाको दौडमा निस्के भने ६–७ महिना नेपाल बाहिर रहन सक्छन् । यस्तो अवस्थामा स्वतः नेतृत्व हस्तान्तरण अनिवार्य हुन्छ ।

बाबुरामविनाको नयाँ शक्तिको भविष्य


यो कठिन भनाइ हुन सक्छ, आजका दिनमा बाबुरामको नेतृत्वविनाको नयाँ शक्ति राष्ट्रिय राजनीतिका लागि अर्थपूर्ण नहुन सक्छ । बाबुरामले जसलाई नेतृत्व हस्तान्तरणको कुरा गरेका छन्, देवेन्द्र पौडेलले मोर्चा सम्माल्न तयार भएको जस्तो देखिन्न । उनले अब माओवादी, सङ्घीय समाजवादी फोरमजस्ता परिवर्तनशील शक्तिसँग मोर्चाको अवधारणा अगाडि सारेका छन् । अर्थात्, आफ्नै बलबुतामा पार्टी बनिहाल्छ भन्ने पूरै आत्मविश्वास उनमा देखिन्न । 


जहाँसम्म देवेन्द्र पौडेलले अगाडि सारेको मोर्चाको कुरा छ, त्यसमा रणनीतिक विषय छ । हुन त नयाँ शक्तिभित्र रहेका पूर्व माओवादीहरूको मत के आइरहेको छ भने– काङ्ग्रेस, एमाले र सङ्घीय समाजवादी फोरमसँग चुनावी तालमेल हुन्छ भने माओवादीसँग गर्दा के विग्रन्छ ।’ यो सोच पौडेलले अगाडि सारेको मोर्चाको अवधारणासँग मेल खान्छ । 


स्रोतका अनुसार बाबुरामसँगको भेटमा पौडेलले भनेका छन्, ‘संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने तपाईंको एजेन्डा हो । गणतन्त्रको कुरा तपाईंको नारा हो । नयाँ शक्तिको कुरा तपाईंकै हो । हामीले निरन्तर साथ दिएका हौँ । हामीलाई आत्मरतिका लागि पार्टी चाहिने होइन । केही गर्नका लागि पार्टी चाहिएको हो ।’


देवेन्द्रको यो भनाइ शक्तिसहितको पार्टी बनाउनेसँग मेल खान्छ । मतलब उनी शक्तिविनाको प्रचार गर्ने पार्टीबाट त्यति सन्तुष्ट छैनन् । यस्तो अवस्था शक्ति आर्जन कसरी गर्ने भन्नेमा नयाँ शक्तिमा बहस भएजस्तो देखिन्छ । सामन्य त या त आन्दोलनको बलमा शक्ति निर्माण गर्ने हो, या त परिवर्तनकारी शक्तिहरूसँग एकता वा गठबन्धन बनाएर शक्ति तयार गर्ने हो । देवेन्द्रले गठबन्धनको अवधारणा यही सोच अनुसार ल्याएका हुन सक्छन् । केही त नयाँ शक्तिभित्र पौडेललाई माओवादी केन्द्रबाट आर्कषक प्याकेज आएको बताउने पनि छन् ।


दोस्रो चरणको स्थानीय तहको चुनावी नतिजा आउँदासम्म नयाँ शक्तिका नेता–कार्यकर्ताको ऊर्जामा केही कमी आएको जस्ता देखिन्छ । ‘प्रत्यक्ष कार्यकारी प्रमुख, शुसासन र आर्थिक समृद्धिका विषयमा मोर्चा निर्माण गरेर जानुपर्छ ।’ पौडेल भन्छन् ।


बाबुरामको आफ्नै सोच र पूरै बल लगाएर काम गर्दा पनि पछिल्लो एक वर्षमा नयाँ शक्तिले अपेक्षाकृत सङ्गठन बनाउन सकेन । वैकल्पिक नेतृत्वको बलमा नयाँ शक्तिले अपेक्षाकृत सङ्गठन बनाइहाल्छ भन्ने अवस्था चाहि देखिँदैन । बाबुरामले नयाँ शक्तिको नेतृत्व छाड्ने भनेको नयाँ शक्तिको भत्किने कोर्स सुरु हुने पनि हो र उनीमाथि राजनीतिक बेइमानीको आरोप लाग्न पनि सुरु हुने हो । 


गत वर्ष जतिबेला प्रचण्ड र बाबुराको सम्बन्ध विच्छेदलाई लिएर मैले ‘डिभोर्स’ किताब लेखेको थिएँ त्यतिबेला विमोचानमा टोपबहादुर रायमाझी, पम्फा भुसाल र मणि थापा आएका थिए । रायमाझी बाबुराम निकट नेता थिए । तर अन्तिम समयमा उनले बाबुरामलाई साथ दिएनन् । किताब विमोचानमा उनले भनेका थिए, ‘मैले यतिका वर्ष बाबुरामलाई साथ दिएँ । अहिले राम्ररी सल्लाह नगरी पार्टी छाडेर हिँडे । उनी मुडी छन् । भोलि आफैले बनाएको पार्टी छाडेर हिँडे भने हामीले के गर्ने ? मलाई डर लाग्यो । म बाबुरामको पछाडि लाग्न सकिनँ ।’ अहिले बाबुरामले नयाँ शक्तिको नेतृत्व छाड्ने जुन चर्चा चलेको छ, धेरैले त्यस दिन टोपबहादुर रायमाझीले बोलेको कुरा सम्झिरहेका पनि होलान् । 


अर्को विकल्प । प्रचण्ड–बाबुरामबीचको डिभोर्स भएको दुई वर्ष लाग्यो । एकअर्काको खाँचो पनि महसुस गरे होलान् । राजनीतिक सम्भावनाको खेल भएकाले माओवादी र नयाँ शक्तिबीचको एकता एउटा सम्भावनासहितको विकल्प पनि हो । बन्द कोठामा यो विषय छलफल हुँदै आएको पनि छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप