केन्द्रीय संस्करण

मनोज पुनका दाइको पत्र : दोषी जेलमा, आरोपी ‘इन्काउन्टर’मा ?

person access_timeफागुन २८, २०७४ chat_bubble_outline0

प्रहरीले मनोज पुन ‘इन्काउन्टर’मा मारिएको बताएको छ । फागुन ९ गते मनोज पुन र उनका सहयोगी सोम आले रुपन्देहीको देवदहमा ‘इन्काउन्टर’मा मारिएको दावी गरेको थियो ।

तर, परिवारले ‘इन्काउन्टर’ माथि शङ्का गरेको छ । नक्कली भनेको छ ।

‘इन्काउन्टर’पछि रातोपाटीको टिम मनोजकै घरमा पुगेर आफन्तसँग पनि कुरा गरेको थियो ।

मनोज पुन ‘इन्काउन्टर’ प्रकरणमा उनका दाजु शेरबहादुर पुन (बिजेन्द्र) ले रातोपार्टीलाई एक सामग्री पठाएका छन् ।

परिवारको पक्ष जान्न हामीले उनको पत्र जस्ताको त्यस्तै प्रकाशित गरेका छौँ ।

यस्तो छ, मनोजका दाजु शेरबहादुर पुन (बिजेन्द्र) को पत्र ।
 

नाताले म कथित गुण्डा–नाइके भनिएको र गत फागुन ९ गते इन्काउन्टर करार गरी हत्या गरिएका मनोज पुनको सहोदर दाइ हुँ । एकनाले दाजुभाइ भएरै पनि मनोजसँगका त्यति धेरै साझा क्षणहरू मेरा स्मृतिमा छैनन् । उमेरले म हाल ३४ र मनोज २९ को थियो । म आफ्नो उमेरको परिपक्व युवावस्थाभन्दा पहिल्यै या भनौँ १६, १७ वर्षको उमेरदेखि नै उच्च तहको पढाइलाई सँगै हिँडाउँदै घरभन्दा बाहिर विभिन्न सहरहरूमा जागिर गर्दै हिँडे । साविक अवस्थामा म एउटा कर्पोरेट आईटी संस्थाको केही शाखाहरूमा वेबरग्राफिक्स प्रशिक्षकको हैसियतले काम गरेको हुँ । पछि २०६५ सालतिर मैले विवाह गरेपछि भने म घरमा आएँ र खैरेनी बजारमा आफ्नै कम्प्युटर तालिम तथा बिक्री–मर्मत केन्द्र सञ्चालन गरी बस्न थाले । त्यसपछिका ५, ६ वर्ष मात्रै मनोजसँग म राम्ररी बसेको छु र मैले उसलाई जेजति चिनेँ, त्यही बेला चिनँे । 

मनोज स्वभावैले कम बोल्ने र कमै सुन्न रुचाउने प्रकृतिको थियो । कसैले सहयोग मागेको अवस्थामा सहयोग गर्छु भनी बचन दिएपछि ऊ ज्यान फालेर लाग्थ्यो । घरपरिवार, ईष्ट, आफन्त, साथीभाइ र छिमेकीका लागि मनोज भद्र र सहयोगी स्वाभावको थियो नकि सुनिएजस्तो खुङ्खार सिङ भएको भयानक गुण्डा ।

अधिकांश मिडियाले अल्प अध्ययनबाटै मनोजका बारेमा लेखेका छन् । मनोज पढाइमा रुचि नराख्ने, स्कुलबाट भागिरहने र ८, ९ कक्षामै पढाइ छाडेको लगायतका उसलाई नराम्रो चरित्रको रूपमा स्थापित गर्न पृष्ठपोषण गर्ने खालका खबरहरू आइरहे । यसबारे यथार्थ बरु ऊ पढाइमा अब्बल थियो र कुनैबेला कक्षामा दोस्रो स्थानसम्म आउँथ्यो । उसले १२ कक्षासम्मको अध्ययन गरेको छ । साथै ऊ एउटा राम्रो स्पोर्ट्सम्यान पनि थियो । त्यसताका एन्फा अन्तर्गत फुटबल खेल्दै अन्डर–१९ समूहबाट भारतसम्म पुगेको थियो र सितोरियो कराँतेको ब्ल्याकबेल्ट होल्डर पनि थियो ऊ ।

प्रसङ्गतः राजनीति ईखालु नियत हुनेहरूका लागि होइन भन्ने मानसिकताको मान्छे हुँ म । ‘डिप्लोम्याटिज्म’ भन्ने अस्त्रबिना राजनीति सम्भव हुँदैन भन्छु म । म मेरो जीवनको उत्तरमध्य भागको यो उमेरसम्म पनि प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपले राजनीतिसँग नजिक छैन, म केवल नीति मान्छु किनकि ममा राजनीति गर्ने गुण छैन भन्ने ठान्छु म । यही कुरा म उसलाई पनि बारम्बार भनिरहन्थे । अपसोच, द्वन्द्वकालको त्यो समय जुनबेला मनोज ८, ९ कक्षामा पढ्थ्यो उसैबेला हो उसलाई कोही स्थानीयले राजनीतिक बुटीले सम्मोहन नै गरिदिए । घरमा सुतिरहेको केटालाई रातविरात झ्यालबाट इसारा गरीगरी बोलाएरै कैयौँकैयौँ रात विविध विविध सामग्री बोकाइ डाँडाकाँडा लगेर अन्ततः राजनीतिको भुमरीमा जाकेरै छाडे ।

केही समयको फेरोमा फेरि अर्को दलले उसलाई सम्मानसहित स्वागत गर्यो, सबैले मक्सदअनुरूप नै उसलाई यताउता खेलाइरहे र ऊ भने आफूभित्र राजनीतिको गुदी नभएको पत्तै नपाई राजनीतिको मार्गमा ढल्मलाउँदै हिँडिरह्यो । उसलाई विगतमा अनेकौँ दलले आफ्नोमा आउन आमन्त्रण गरे । तत्कालीन अवस्थामा ऊ संलग्न दलले बेतुकको आरोप लगाएरै दलबाट निष्काशन पनि गरे र कारण भने आफ्नै अनुकूल बाहिर ल्याए । पार्टी प्रवेश गराउँदा मनोजमा के देखे उनीहरूले ? अनि के पूरा भयो भएन फेरि उनीहरूले नै निष्काशन गरे । यी सबै आन्तरिक परिपन्जा एउटा औसत ह्युमर हुने मान्छेले सजिलै बुझ्न सक्छ र पनि कुन स्रोतबाट कस्तो मिडियाले के लेख्छ, हामी त्यही पढ्छौँ र त्यस्तै बुझ्छौ । यसरी बुझौँ, कसैले नियोजित रूपबाट जे बुझाउन चाहिरहेको छ, हामी त्यही बुझ्न बाध्य छौँ ।

समयान्तरमा एकबेला मनोजको जीवनमा यस्तो पनि आयो जहाँ उसको राजनीतिमा एउटा अर्को अल्टर्नेट जोडियो र त्यो थियो । उसको बाल्यकालदेखिको प्रेम । दुवैको विवाह योग्य उमेर भइसकेको थियो । अब उसले आफ्नो अव्यवस्थित राजनीति र प्रेममध्ये एक रोज्नुपर्ने भयो । त्यो बेला खासगरी म र अन्यको सुझावपछि मनोज विवाह गर्ने निष्कर्षमा पुग्यो र त्यो उसको धुमिल राजनीतिबाट बिस्तारै पाइला फर्काउँदै जाने निधो गर्यो । त्यसपछिका दिनमा व्यवस्थित जीवन बाँच्ने प्रण गर्दै विवाह गरी छोरीसमेत जन्माई समूहमा एउटा कम्पनी दर्ता गरी केही लगानी गरेको थियो । राजनीतिमा सायदै फर्कने द्वार हुने रै’छ त्यसैले त कालान्तरमै उसमाथि विगतको राजनीतिको ‘ब्याडसेक्टर’ हावी हुन सुरु भयो । अब उसको पुरानो बेलाको वाहवाही सकिँदै गएको थियो किनकि ऊ राजनीति वा कुनै पनि दलबाट मुक्त भइसकेको थियो । उसका समूहका साथीहरूले गुट परिवर्तन गर्न थाले । बिस्तारै समूहबाट पनि एक्लिँदै गयो मनोज । अस्तित्व बिलिनिहुँदै गएको त्यो अवस्थामा उसलाई गाह्रो नभएको होइन तर पनि ऊ सम्हालिँदै थियो । अवस्था के बन्यो भने अब आएर उसले गरेका वा नगरेका सबै हर्कतहरूमा ऊ मुछिन थाल्यो । उत्कर्ष यस्तो बन्यो ऊ त्यहाँ बस्नै नसक्ने अवस्थामा पुग्यो र छेलिनको निम्ति छेउछाउ डुलिरह्यो । क्रमिक रूपमा ती घटनाक्रमहरूको विकास झनझन हुँदै गयो । मनोज अझ परपर सर्दै गयो । ऊ उता सायद आफ्नो कुरा राख्ने सही बेलाको पर्खाइमा थियो, जुनबेला यता उसको नामको तक्माहरू क्रमशः थपिँदै थिए ।

सुकुम्बासी बस्तीमा बस्ने मनोज अभावका कारण पहिल्यैदेखि अपराधी मनोवृत्तिको भएको भनी टाढाबाट खबर पढ्ने–सुन्नेका लागि एउटा ‘फ्यान्टासी प्लट’ नै खडा गरिएको छ । हामी बजारमा बस्छौँ र हाम्रो आर्थिक अवस्था औसतप्रायः राम्रै छ नकि अभावले ग्रस्त । के भन्नु नै पर्ने हुन्छ भने मनोज हुर्केको घरको वातावरण पटक्कै अपराधमैत्री थिएन ।

हामीले पढ्यौँ अनि सुन्यौँ कि मनोज हत्या, आतङ्क र फिरौतीको पर्याय थियो जस्तो । तर कहिल्यै आधिकारिक स्रोतलाई साभार गर्ने प्रयत्न गरिएन । उसको पारिवारिक पृष्ठभूमि र विकसित घटनाक्रमहरूलाई केलाइएन । करोडौँ फिरौती असुलेको भए अनुसन्धानले के भन्छ ? कहाँ छ त्यो रुपियाँ ? म भन्छु, हाम्रो परिवार र नातागोता सबैको नामको बैङ्क ट्रान्जेक्सन जाँच होस् र पछि थपिएको जायजेथाबारे पनि बुझियोस् । रह्यो अर्को कुरा, मनोज अपराधी हो भन्ने, म अनुरोध गर्छु हामीलाई एउटा मात्र चित्तबुझ्दो प्रमाण दिनुस् जसले ऊ पूर्णरूपले हत्यारा सावित होस् । के हत्याको जिम्मा लिँदा बेलाको स्वर नै पर्याप्त छन्, उसलाई हत्यारा करार गर्नका लागि ? के अपराधको दुनियाको ‘मास्टर माइन्ड’ भनिने मनोज त्यति बेपरवाह थियो होला जसले हत्यालगत्तै जिम्मा लिओस् । जबकि दुवै हत्याहरू मधेस र सीमाङ्कनको आन्दोलनताका भएका छन् । रिसिबीकै कारण ती हत्याहरू गरिएको भनिन्छ भने उसैले हत्या गरी रीस मारे ।

मारेर चुपचाप बसेकै भए पनि अनुसन्धान अन्तै मोडिने ठाउँ थियो कि त्यसरी जिम्मा लिनका लागि ऊ उच्च सुरक्षामा हुनुपथ्र्यो जुन कुराको पुष्टि उसको त्यो सजिलो खाले इन्काउन्टरले गरिसक्यो । त्यति स्थापित ‘डन’ भनाउँदाले आफ्नो फेसबुकको ‘फोटो प्राइवेसी’सम्म मिलाएन फलस्वरूप उसकै फेसबुककै स्रोतबाट झिकेर हाई (रिजोलुसनका थुप्रै तस्बिरहरू मिडियाहरूमा छ्याप छ्याप्ती भए, जसकारण उसलाई पहिचान गरी पक्राउ गर्न अझ सजिलो भएको हुनुपर्छ । यसलाई कसरी बुझौं ? ती ठूला एकै दलसम्बद्ध हत्याको मक्सद छुट्टै र त्यही पानी धमिलिएकै मेसोमा माछा मार्ने समूह अर्कै हुन सक्दैन ? पछिल्लो समयमा जसरी थुप्रै ‘नक्कली मनोजहरू’ जन्मिए र धम्की फिरौतीको आतङ्क मच्चाए तिनीहरू नै वा त्यस्तै खाले अरू समूहले सुरुबाटै यो खाले सूत्रको प्रतिपादन नगरेका होलान् भन्न सकिन्छ ? यही शैली रीत बन्दै जाने अवस्थाले भोलिका दिनमा रामेलाई कारबाही गर्दा श्यामेले चैनको सास लिने अवस्था नआउला भनेर कसले भन्छ ।

सुकुम्बासी बस्तीमा बस्ने मनोज अभावका कारण पहिल्यैदेखि अपराधी मनोवृत्तिको भएको भनी टाढाबाट खबर पढ्ने–सुन्नेका लागि एउटा ‘फ्यान्टासी प्लट’ नै खडा गरिएको छ । हामी बजारमा बस्छौँ र हाम्रो आर्थिक अवस्था औसतप्रायः राम्रै छ नकि अभावले ग्रस्त । के भन्नु नै पर्ने हुन्छ भने मनोज हुर्केको घरको वातावरण पटक्कै अपराधमैत्री थिएन । बुबा अवकाश प्राप्त सेना, पूर्वशिक्षिका आमा, दिदी युरोपमा सेटल्ड, म आईटी ब्यवसायी, मेरो श्रीमती शिक्षण पेसामा, नर्स बहिनी, मनोजको श्रीमती बैङ्ककी जागिरे र ऊ आफै पनि शिक्षित अनि व्यवसायी थियो । यो पनि भनिन्छ, मनोज राजनीतिमा लाग्नुपूर्व नै कारोबारी भएको र कारोबार बढाउने स्वार्थले पार्टी प्रवेश गरेको हो । ८, ९ कक्षा पढ्दाताका नै हो उसलाई पार्टीमा लगाइएको, जुनबेला ऊ मात्र १४, १५ वर्षको थियो र त्यो उमेरमा कुन कारोबार हुन सक्ला ! एक समयमा पछि भने केही ठेक्कापट्टाको काम उसले गरेकै हो । त्यसपछि पनि एउटा अर्को दलको भातृसङ्गठनले सम्मानपूर्वक पार्टी प्रवेश गराएकै हो । कालान्तरमा केके भए, कसरी भए, के हो– होइन त्योबारे म त्यति जानकार छैन । मेरो बुझाइमा ऊ सधैँ प्रायोगिक तत्व मात्रै बनिरह्यो जुन चीजको राजनीतिमा न ग्यारेन्टी हुन्छ न वारेन्टी नै । समग्रमा मनोजलाई राजनीति फापेन वा उसले ‘पोलिटिकल स्ट्राटेजी’ बुझेन वा ऊ संस्थागत हुन जानेन । म कामना गर्छु अर्को जुनी हुन्छ र मनोज फेरि जन्मन्छ भने त्यो जन्ममा उसले राजनीति नगरोस् ।

सेतो ढुङ्गालाई नक्कली कालो रङ दलेर उसलाई शालिग्राम भएको भान गराउने अनि बिस्तारै रङ्ग झर्दै गएपछि ढुङ्गासमेत नरहने गरी मिल्काउने प्रवृत्तिको अन्त्य होस् । भएगरेका सबै अपराध र सट्टामा गरिने गैरन्यायिक कारबाहीको शृङ्खला बन्द होस् । 

मलाई भन्नु यत्ति छ, अहिले आएर अन्तर्राष्ट्रिय अपराध सम्बन्धी नीतिलाई पछ्याउँदै हामीले पनि हाम्रो अपराध संहितालाई परिमार्जन गरिरहेकै अवस्थामा झुट देखिने यस्ता खालका इन्काउन्टरका घटनाले त्यो संहिताको कत्तिको सम्मान गर्यो कुन्नि ! अपराध स्वीकार गरिसकेका प्रमाणित अपराधीहरूलाई भने जेल राख्ने र आरोपित मात्र भनिने मनोज जस्ता संरक्षणविहीन भएकालाई बयान दिन नपाई हत्या गर्नुको मापदण्ड के हो ? उसको भनिने स्वरलाई आधार मानी तथ्य नकेलाई शङ्काकै भरमा हत्या गरियो अनि अस्ति काठमाडौँको काण्डमा योजनाकारले प्रत्यक्ष हत्याको जिम्मा लिई मनोज त्यसमा संलग्न नरहेको भनिसक्दा पनि त्यसलाई किन आधार बनाइन्न । अहिले आएर बारम्बार त्यो हत्यामा पनि मनोजको नाम लिइँदैछ ? अबका दिनमा डाटा ट्रान्स्फर्मेसनको गतिलो कसरत पनि नहोला भन्न सकिन्न । लुकेका वास्तविकता जे होलान् तर हामीले मनोजलाई अपराधी मानेका छैनौँ, अपराध तब सावित हुन्थ्यो वा हुँदैन्थ्यो जब उसले बोल्न पाउँथ्यो । यहाँ भन्न खोजिएको अर्को कुरा मनोजसँग जोडिएका सबै अपराधकर्महरूको बहिखाता उसलाई सकाएरै मिलान भयो वा भएन भन्ने हो । कसैले कसैलाई आरोप लगाएकै भरमा उसलाई बोल्नै नदिई अपूरो तथ्यकै भरमा न्यायिक निकायमा ल्याइ नपुराउँदै कारवाही गरिन्छ भने मुलुकमा अब यो कस्तो नजिर स्थापित गराइँदैछ भन्ने सवाल गहन बन्ला ।

पहिले मनोजबारेको र्युमरहरू आएसँगै नैतिक, मानसिक तथा ज्ञात–अज्ञात टर्चरलगायतका कारणले टुक्रिएर लाखापाखा लागेको हाम्रो परिवार बिस्तारै अहिले एकत्रित हुँदैछ । हामी फेरि  आफ्नै थलोमा पुनस्र्थापित हुने कोसिस गर्दैछौँ । हामी चाहन्छौँ, जे भयो सकियो, अबको हाम्रो बदला वा पूर्वाग्रहको कुनै पनि गतिविधिको सट्टामा मनोज बाँचेर न्यायको कठ्घरामा आउँदैन भने त्यो कुनै दोस्रो शर्त वा कारबाही र न्याय हामीलाई मान्य छैन । हाम्रो मुलुकका मानवअधिकार सरोकारी सबै निकायहरूलाई गुनासो एउटै छ, अब आएर यो गर्छौं र त्यो गर्छौं भन्नुको साटो इन्काउन्टरको ३ दिनअघि नै मान्छे पक्राउ परेको खबर आधिकारिक माध्यमहरूमा आइसक्दा पनि तपाईंहरूले आफ्नो भूमिका भेट्नुभएन । तपार्इंको संस्थाको कार्यविधि के हो, आफै जान्नुस् ।

अन्त्यमा, सेतो ढुङ्गालाई नक्कली कालो रङ दलेर उसलाई शालिग्राम भएको भान गराउने अनि बिस्तारै रङ्ग झर्दै गएपछि ढुङ्गासमेत नरहने गरी मिल्काउने प्रवृत्तिको अन्त्य होस् । भएगरेका सबै अपराध र सट्टामा गरिने गैरन्यायिक कारबाहीको शृङ्खला बन्द होस् । 

सबैले नीतिको पालना गरौँ ।
०००
जय देश, जय राजनीति !
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ