हाम्रो संस्कारले नै प्रश्न नगर्ने बनायो : नारायण वाग्ले
बन्द समाजमा खुलापनको सुरुवात वि.स. २०४६ सालको जनआन्दोलनले गर्यो । खुलापनसँगै समाजको ऐनाका रूपमा विभिन्न पत्रपत्रिकाले हुर्कने अवसर पाए । पत्रकारिताले प्रजातन्त्रको आगमनसँगै फस्टाउने र मौलाउने अनुकूल वातावरण पायो तर पत्रकारकै आँखामा प्रजातन्त्रदेखि गणतन्त्रसम्म कस्तो पत्रकारिता विकास भयो, जसले समाजलाई अगाडि बढाउन भूमिका खेलेको ठानियो । २०४६ सालको जनआन्दोल र खुलापनले पत्रकारितामा भित्र्याएको एउटा नाम हो – नारायण वाग्ले । वाग्लेले विभिन्न कालखण्डमा साप्ताहिक हुँदै दैनिक र हाल अनलाइन पत्रकारिताको अनुभव सँगाले । उनै वाग्लेसँग नेपालको पत्रकारिताका विविध आयामबारे रातोपाटीका लागि लामो कुराकानी गरेका छन् नरेश ज्ञवालीले ।
कुराको सुरुवात गरौँ पत्रकारबाट । नेपालका पत्रकारहरूको वास्तविक अवस्था, नैतिक धरातल, स्वास्थ्य, अध्ययन, क्षमता, कार्यशैली व्यवहार कस्तो छ ?
अध्येताको कोणबाट होइन, अभ्यासकर्ताको कोणबाट आफ्नो अनुभवसहित कुरा राख्छु । नेपालको पत्रकारिताको मूल प्रवृत्ति के हो भने हामी पत्रकारिता होइन, मिडियाकारिता गरिरहेका छौँ । यो कुरा मैले पटक पटक भैन्दै आइरहेको कुरा हो । मिडियाकारिता गर्ने भएकाले यसको बजार विस्तारित छ । व्यापारमा बृहत् पहुँच छ ।
बितेको २५ वर्षको उपलब्धि भनेकै मिडियाको विकास हो । हिजो जिल्लामा जाँदा पत्रकार नै हुँदैनथे । आज पत्रकार महासङ्घको शाखा खुलेको छ । सञ्चार माध्यमको सङ्ख्या बढेसँगै सञ्चारकर्मीको सङ्ख्या पनि बढ्यो । त्यसैले त पत्रकार महासङ्घको सदस्य सङ्ख्या १० हजार छ, भनिन्छ । स्पष्ट शब्दमा भन्दा आज मिडिया चिप्लो गातामा सचित्र विकासक्रमको एउटा झलक मात्र भयो ।
तपार्इंले बारम्बार आफ्ना सहकर्मीहरूसँग हामीले पत्रकारिता गरेनौँ, मिडियाबाजी मात्र गर्यौँ भनिरहनु भएको छ । नेपालको पत्रकारिता गम्भीर हुन सकेन भन्ने किन लाग्यो ?
यो निकै गम्भीर विषय हो । म आफैले पनि यो कुरा बुझ्न सकेको छैन । केही त पक्कै भएको छ । समग्रमा मलाई के लागेको छ भने यी सबै कुरा हाम्रो ‘भ्यालु सिस्टम’सँग गासिएका छन् । उदारीकरण र खुलापनसँगै विश्वग्रामसँग हामी जोडियौँ । बर्लिनको पर्खाल ढलेसँगै विश्व एक हुँदै आयो । त्यो त्यही समय थियो, जहाँबाट सोच र विचारमा पनि एकीकरण देखा पर्यो ।
त्यसले हाम्रो जनजीवनमा ‘टाइप कास्ट’ चरित्र निर्माण गरिदियो । त्यहीँबाट हामी झट्टै सहरतर्फ सर्न थाल्यौँ र चार आना घडेरी, एउटा घर, बैङ्कबाट ऋण लिएर भए पनि एउटा गाडी राख्ने र छोराछोरीलाई टाइसुट लगाएर विद्यालय पठाउन थाल्यौँ । त्यसलाई थेग्न नसके छोरा, भाइ, भतिजलाई कतार, जापान, अस्टे«लिया पठाउन थाल्यौँ । त्यहीँबाट हामीमा एउटा ‘टाइप कास्ट’ अथवा निश्चित सोचको विकास भयो ।
लोभले त्यहीँबाट घर बनाउन सुरु गर्यो । ००७ सालतिरको पुस्ता हेर्दा, त्यसबेलाका अन्तरवार्ता, कुराकानीहरू पढ्दा त्यहाँ धेरैभन्दा धेरै त्याग, योगदान र सेवाभाव थियो भन्ने देखिन्छ । तर ०४७ सालपछिको सामाजिक प्रवृत्ति हेर्नुभयो भने ००७ सालको ठ्याक्कै विपरीत हो । समाजको ‘भ्यालु सिस्टम’नै त्यो होइन । मलाई लाग्छ त्यहाँबाट अर्को खाले ‘भ्यालु सिस्टम’को विकास भयो । यो ‘भ्यालु सिस्टम’ले हाम्रा सर्तहरू, स्वार्थहरूको ढोका खोलिदियो । त्यहाँदेखि ‘म’ व्यतिगत लोभ, लालच, लिप्सा, इष्र्यामा डुबेँ र ‘म’ नै संयोगले मिडियामा गएँ भने के हुन्छ ? भन्नुको अर्थ सबैले गर्ने त्यही हो, जुन आज १० हजारले गरिरहेका छन् । आज लिप्सामा लिप्त मान्छे पत्रकारिता गरिरहेको छ ।
उदारीकरणले हाम्रो आर्थिक आयामहरूलाई परिवर्तन गरिदियो र समाजको सोच्ने शैलीमा परिवर्तन ल्याई दियो भनेसँगै विद्ववानहरूको भनाइलाई आधार मान्ने हो भने समाजको धारणा निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने मिडियाले सही ‘भ्यालु सिस्टम’को निर्माण अथवा विकास किन गर्न सकेन ?
विल्कुल सही । भनिन्छ नि– क्रान्तिको सुरुवात कफीको कपबाट हुन्छ । भन्नुको अर्थ युरोपियनहरूले कफी खाएर सल्लाहा, सत्सङ्ग गरे । तपाईंले भनेको कुरा मिडियाले गर्ने होइन, पत्रकारिताको व्यापक सामाजिक कर्ममा जोडिएको पत्रकारिताले गर्ने हो । मिडियाले त यो वर्षको टर्न ओभर कति भयो भनेर त्यसलाई बढाउनका लागि काम गर्ने हो । भन्नुको अर्थ हामी त व्यापारको आयातन बढाउँदै छौँ न कि पत्रकारिता गर्दैछौँ ।
यो त पत्रकारको काम नभएर व्यापारीको काम भयो नि ?
मिडिया भनेको व्यापार हो । त्यहाँभित्रको पत्रकारिता उठ्नुपर्यो भन्न खोजेको ।
मिडिया मूल वृक्ष भयो भने त्यसको महत्वपूर्ण हाँगामध्येको एउटा व्यापार हेर्ने हाँगा र अर्को समाचार, विचार हेर्ने हाँगा हुने भयो । तपाईंकै कुरा गर्ने हो भने ‘म ०४६ पछि जन्मिएको पत्रकार हुँ’ भन्नुहुन्छ । एउटा व्यापारी फस्टाउने तर पत्रकार वास्तविक पत्रकार हुन नसक्ने गरी दुब्लाउने, कसरी भयो यस्तो ? यसमा कहाँ ‘ल्याक अफ’ छ भन्ने लाग्छ ?
यो प्रश्न हाम्रोमा मात्र होइन बाहिरको समाजमा पनि चलिरहेको छ । पत्रकारिताको मोडेल के हो ? पत्रकारिताले दिगोपना कसरी पाउने ? व्यापक छलफल छ र छलफलको दायरा बढ्दो छ । म अर्को कुरा पनि गर्न चाहन्छु, जस्तै; अमेरिकामा ‘न्युयोर्क टाइम्स’ त्यही आलोचनात्मक ढङ्गले काम गर्न कसरी सम्भव छ ?
त्यहाँका प्रकाशकहरूको सोच पुँजीवादी हुँदाहुँदै पनि एउटा ‘सिस्टम’ स्थापित भइसकेको छ । त्यो उनीहरूले सकभर भत्काउँदैनन् । पश्चिमा समाजमा उनीहरूको लामो अनुभवले एउटा संस्कारको विकास भइसक्यो तर हाम्रो जस्तो तेस्रो विश्वका मुलुकहरूमा त्यो संस्कार स्थापित हुन अझै सङ्घर्ष गर्न जरुरी छ ।
एक पटक माथिकै प्रश्नमा जाऊँ । पत्रकारको नैतिकताको, अध्ययनको विषयमा तपाईं लगातार प्रश्न गर्दै आइरहनु भएको छ, तपाईंले देखेको र भोगेको कुरा के हो ?
हाम्रा मिडियाले वार्षिक जतिसुकै अर्बको टर्न ओभर गरे पनि वस्तुगत अवस्था भनेको साथीहरूलाई आज पनि पाना भर्ने सकस छ । खेतीपाती गर्ने किसानले आजको गर्जो टार्न जसरी कुटो कोदालो लिएर घरबाट निस्कन्छ, एउटा ठूलो अखबारको पत्रकारको अवस्था पनि ठ्याक्कै त्यस्तै छ । अनलाइनमा ११ बजे, २ बजे के हाल्ने चिन्ता छ भने पत्रिकामा पाना कसरी भर्ने भन्ने चिन्ता छ । यसैमा सबैको खेतीपाती चलिरहेकै छ ।
भन्नुको अर्थ कर्मकाण्डी पत्रकारिता चलिरहेको छ ?
हो, कर्मकाण्डी नै हो । किनभने हामीसँग निश्चित जनशक्ति छ । निश्चित समाचार छ । यो समाचार हो र यो समाचार होइन भन्ने पूर्ववत धारणा पनि छ । अनि हामी पत्रकारहरूलाई प्रश्नभन्दा जवाफ धेरै आउँछ । हामीलाई सबै कुरा थाहा छ । हामीलाई जुन मान्छेले यो समाचार हो भनी दिएको हो, उसले सही नै भनेको हो भन्ने विश्वाससमेत छ । किनभने पत्रकारले उसलाई चिन्छ ।
पत्रकारलाई सबै जवाफ थाहा छ, त्यसकारण प्रश्न गर्नु पनि आवश्यक छैन । मलाई लेख्न आउँछ, त्यसैले सिक्नु पनि पर्दैन । मैले जानेको, पाएको सूचना अन्तिम हदसम्म सही नै हो । अनि मैले जे लेख्छु, त्यही नै समाचार हो । यति भएपछि एउटा पत्रकारलाई ढुक्क भयो सङ्घर्ष गर्न पनि परेन । यसले प्रकाशकलाई पनि खासै फरक पर्दैन, किनभने पत्रिकाको वितरणमा थोरै असर परे पनि पत्रिका चाहिँ चलि नै रहन्छ ।
घरी–घरी मलाई के लाग्छ भने हाम्रो पत्रिका र पत्रकारिता सिमेन्टको बोराभित्र प्याक भएर आउने कुनै वस्तु हो । किनभने आजको पत्रिका र पत्रकारिता अगाडि पछाडि सिमेन्टको ज्याकेट विज्ञापनमा कैद भएर घर–घरमा आउँछ । यति हुँदा पनि मिडिया चलि रहेकै छ, पत्रकारिता चलिरहेकै छ ।
तपाईंले भन्न खोजेको मोटो कुरा जुन ममा पनि हावि छ होला, त्यो भनेको हामी पत्रकारहरूमा प्यासन छैन्, पत्रकारिता गर्ने जुनुुन र पागलपन छैन ।
प्यासन भनेको तुलनात्मक कुरा हो । तर हामीसँग त प्रश्न नै भएन । हामी जिज्ञासु भएनौँ । हाम्रो सोच पूर्वनिर्धारित छ । प्रश्न नभएकै कारण हामीले सङ्घर्ष गर्नु परेन, हामी फिल्डमा जानु परेन । तपाईंले सबै पत्रपत्रिका, अनलाइन हेर्नुभयो भने फिल्ड रिर्पोटिङ नै छैन । हामीसँग अनुसन्धानमूलक र खोजी समाचार नै छैनन् किन ? किनभने हामीसँग प्रश्न नै छैनन् ।
अहिलेको पत्रकारिता भनेको प्रश्नहरू हराएको समयको पत्रकारिता हो । हामी जबसम्म प्रश्नहरू गर्दैनौँ र प्रश्नको गहिराइमा जाँदैनौँ, समाजसँग संवाद गर्न सक्दैनौँ । यस्तो किन भइरहको छ भन्ने कुरा हाम्रो पृष्ठभूमिसँग जोडिएको छ ।
हाम्रा पूर्ववत मानसिकता छ, होइन त ?
हो, हाम्रो पूर्ववत धारणा छ । हाम्रो समाज, विश्वविद्यालय, विद्यालयको कक्षा कोठाको संरचना, परिवारको संरचनाले यसमा महत्वपूर्ण भूमिका खेलेको छ भन्ने मेरो ठम्याइ हो । पश्चिमाहरू के गर्छन् भने ब्रेक फास्ट, डिनरमा छलफल गर्छन् । उनीहरू घण्टा दुई घण्टा लगाएर खान्छन् र छलफल गर्छन् । सबैलाई बोल्न दिन्छन् र सबैलाई सहभागी गराउँछन् ।
हाम्रो संस्कार र परम्परा भनेको दुःखी परम्परा हो । हातले भात खाने र फट्टाफट खाने, ढिला खान खोज्यो कि बाले थप्पड हान्नु हुन्छ भन्ने । घरमा छलफल गर्न नपाउने, विद्यालयमा छलफल गर्न, प्रश्न गर्न नपाइने । चौतारो, पँधेरोमा पनि कुरा गर्ने ठाउँ भएन । त्यो परम्परा र संस्कारबाट आएको हुनाले हामीसँग प्रश्न गर्ने संस्कारको कुनै साइनो नै छैन ।
मलाई लाग्छ यो कुराले नै हामीलाई प्रश्न नगर्न प्रेरित गरिरह्यो । अनि त्यही मान्छे पत्रकारितामा आयो, आम पत्रकारहरूले प्रश्न नगर्नुका कारण पनि त्यही संस्कारबाट हुर्किएर आएको हुनाले हो । अब परिवर्तन कहाँबाट आउँछ मलाई थाहा छैन । तर म मेरो भित्रको उकुस मुकुस त भन्न सक्छु । मैले साथीहरूले लेखेको हेरिरहेको हुन्छु, हाम्रो लेखाइमा बुझाइ धेरै जिज्ञासा र प्रश्न कम देखिन्छन् । त्यसैले पत्रिकाहरूमा प्रश्न कम जवाफ धेरै छ ।
अनि समाजमा के छ ? जिज्ञासा छँदै छैन । हाम्रो समाज पटक्कै जिज्ञासु छैन बरु प्रतिक्रियात्मक छ । हाम्रो समाज किन प्रतिक्रियात्मक भयो भन्दा हामीले समाजको जिज्ञासाको आयतन बढाउन कुनै भूमिका खेलेनौँ । हामीले जे सोचिरहेका छौँ, त्योभन्दा पृथक दृष्टिकोण, रोजाइ, बाटो, विकल्प र अवसर छ, भन्ने हामीले कहिलै सोचेनौँ । त्यसैले हाम्रो समाज प्रतिक्रियात्मक भयो ।
हाम्रो समाज झट्टै आन्दोलित हुन्छ । जनताले सजिलो गरी सबै कुरालाई सेतो र कालोमा हेर्न खोजिरहेका हुन्छन् । यसको अर्थ के हो भने हामी लडाकु जाति नै हो । हामी सडकमा आउँछौँ तर फर्केर गर्नुपर्ने प्रश्न कसैले पनि गर्दैनौँ । किनभने हामीले छलफल र प्रश्न गर्ने संस्कार नै बसालेनौँ । पत्रिकालाई छलफल, वादविवाद र बहस गर्नै थलो भनिन्छ तर हामी मनोगत छौँ र हाम्रो सोँच नै मनोगत छ ।
हामीले कुनै पनि राजनीतिक निर्णयहरूमा बहस चलाएनौँ । संविधान निर्माण गर्यौँ तर संविधानको कुनै पनि दर्शनमा हामीले बहस र विमर्श गरेनौँ । जहाँ संवाद हुँदैन, जहाँका पत्रिकाहरूका शीर्षक विकाउ हुन्छन्, त्यहाँको समाजमा के हुन्छ ? तपाईं आफै बुझ्न सक्नु हुन्छ ।
पत्रकारको नैतिक बल र उसको अध्ययनको कुरा गरियो । त्यसबीच रहेको ल्याक अफको कुरा गरियो । यसलाई निर्धारण गर्न उसले पाउने पारिश्रमिकसँग कस्तो सम्बन्ध हुन्छ ? तपाईंलाई के लाग्छ, एउटा पत्रकारको तलब कम्तीमा कति हुनु पर्छ ?
महत्वपूर्ण प्रश्न हो । हामी अहिले जहाँ बसिरहेका छौँ, यसको छेउमा साझा बसको ग्यारेज छ । यो क्याफेको छेउमा यही क्याफेले चलाएको टिसर्टहरू पाइने पसल छ । जहाँको टिसर्ट साझा बसका चालकहरूले लगाइरहेका हुन्छन् तर उनीहरू यहाँ आएर कफी खान सक्दैनन् । हाम्रो मिडिया हाउसको तल पनि एउटा क्याफे खुलेको छ तर मिडियामा काम गर्ने रिपोर्टरहरू त्यहाँ गएर कहिलै पनि कफी खान सक्दैनन् ।
आजको रिपोर्टर भनेको अहिले पनि निमुखा ज्यालादारी नै हो । उसले गर्ने दैनिक सङ्घर्ष भनेको दिनभरि राष्ट्र बैङ्कको अर्बको हिसाब गर्दै समाचार लेखेर बेलुका ऋण मागेर साग किन्नु नै उसको नियति हो । यो अवस्था अझै कायम छ । म दुईवटा पत्रिकाको सम्पादक भएर काम गरेको अनुभवले के देख्छु भने सम्पादकलाई अधिकांश समय प्रकाशकसँग रिपोर्टरको तलब सुविधाको विषयमा सिफारिस गर्दै बित्छ । त्यसैले म सम्पादकहरूको समस्या बुझ्छु ।
सम्पादकको दैनिक भेटघाटमा ५० प्रतिशत काम यस्तै हुनेगर्छ । प्रकाशकहरूले पनि मैले केही दिएँ भने मैले के पाउने भनिरहेका हुन्छन् । यहाँ हकको कुरा हुँदैन । तपार्इंले आफ्नो हक नभएर अरु नै केही माग्ने बनाई दिनुभयो भने त्यहाँको सम्बन्ध व्यावसायिक र स्वस्थ हुँदैन । हाम्रो मिडिया हाउसमा त्यही भइरहेको छ । मैले भन्न खोजेको के भने यसले प्रकाशक र सम्पादक दुवैलाई एउटा सम्झौतामा राखी दियो । यसलाई मैले साङ्गठनिक ढाँचाको कमजोरीका रुपमा लिएको छु ।
यसलाई हल गर्न हाम्रा मिडिया हाउसमा एउटा एचआर डिपार्टमेन्ट हुनुपर्छ । जसले पत्रकार हुँदै सबै कर्मचारीको वृत्तिविकास, अधिकार र व्यावसायिक न्यायको विषयलाई हेरोस् । यसलाई मैले नेपालको व्यावसायिक पत्रकारिताको विकासमा महत्वपूर्ण रूपमा हेरेको छु ।
पत्रकारको सङ्ख्या धेरै हुने तर काम गर्ने पत्रकार नपाइने खाले समस्या के कुराले निम्त्यायो होला ? के यो उनीहरूको जीवन ग्यारेन्टी नहुने कुरासँग जोडिएको विषय हो अथवा भिन्न ?
जोडिएको पनि होला, त्योभन्दा परको कुरा पनि होला । त्यस्तै सबै मिलेको कुरा पनि होला । प्रकाशक र सम्पादकले एचआर डिपार्टमेन्टको निर्धारित ढाँचा नबनाएकाले यो समस्या आएको हो । संस्थाको विकास नभएका कारणले सधैँ प्रकाशक र सम्पादकका बीच त्यही गनगन, दिक्क लाग्ने कुरा हुने भए । अनि पत्रकार कर्मचारीहरूका लागि कहिलै पनि पत्रकार महासङ्घले टे«ड युनियनको भूमिका खेलेन । आन्दोलनका लागि पत्रकार महासङ्घको ढाँचा ठीक थियो होला तर अरू बेला यस्तो खाले संस्थाको उपादेयता छैन । कामै नगर्ने भएपछि पत्रकार महासङ्घ किन चाहियो त ?
भन्नुको अर्थ पत्रकार महासङ्घ विज्ञप्तिमा सीमित भयो ?
पत्रकारलाई केही भएमा आम नागरिकको शान्ति सुरक्षा हेरे सरह त्यहाँको प्रमुख जिल्ला अधिकारी र प्रहरीको कर्तव्यको कुरा हो । एउटा कुरा के हो भने पत्रकारले आफ्नो अधिकार माग्ने हो । नोगोसिएसन गर्ने हो, टेबुल ठटाउने हो । लेखक, पत्रकारहरूले जबसम्म टेबुल ठटाउँदैनन् तब कसले उनीहरूको तलब बढाइदिन्छ त । टेबल ठटाउने भनेको रेलिङ भाँच्ने आन्दोलन मात्र होइन ।
तपार्इंले शब्दमा भनेजस्तो व्यवहारमा सहज छ र ? पत्रकारको हकहितमा आन्दोलन गरेका कारण काम गर्दै गरेको ठाउँबाट जागिर खोसिने, अन्य मिडिया हाउसमा जागिर नपाउने स्थितिले कि त यो पेसाबाटै पलायन हुने अथवा ठूलो चुनौती मोलेर स्वतन्त्र पत्रकारिता गर्ने जुन सम्भव देखिँदैन वा विभिन्न पेसा व्यवसायमा आबद्ध पत्रकार हुने अवस्था रहन्छ । के यसलाई नदरअन्दाज गर्न मिल्छ ? अनि आम रूपमा के दखिन्छ भने जागिर जोगाउनका लागि पत्रकारहरू ‘न्युज रुम’मा मण्डले राष्ट्रवादको चाकडी शैलीमा चाकडी गरिरहेका हुन्छन्, यसलाई कसरी हेर्नुभएको छ ?
अहिले पञ्चायतको चाकडी प्रथा होइन कि प्रजातन्त्रको चाकडी प्रथा विकसित भइसकेको छ । मलाई पनि यसको उत्तर यही हो भन्ने थाहा छैन । यो छटपटीको उपाय त केही होला । हामीले आफ्नो पूरै जीवनकाल बिताउने गरी आयौँ तर वृत्ति विकास छैन भने यहाँ केही समस्या त छ भन्ने प्रश्न चाहिँ उब्जिएको छ । अघि तपाईंले नैतिक बलको कुरा उठाउनुभएको थियो नि म पत्रकारका रूपमा किन छु भन्ने प्रश्नसँग साक्षात्कार भइरहनुपर्छ । पत्रकारहरूले आफूलाई सामाजिक न्यायको पक्षधरका रूपमा उभ्याउनुपर्छ ।
सिद्धान्तको तहमा यो सही छ तर व्यवहारमा जाँदा यो कत्तिको सम्भव छ भनेर जान्न खोजेको ?
भारतका एकजना सम्पादक भारत भुषणले सम्पादकको राजीनामाको सन्दर्भलाई लिएर उसको जागिर खोसिँदा भनेको कुरा भन्न चाहन्छु । उनले सम्पादकले राजीनामा दिँदा उसको राजीनामा औपचारिकता मात्र हुन्छ, जब कि वास्तविकतामा ऊ निकालिएको हुन्छ भनेका छन् । मैले आफैले पनि दुई पटक राजीनामा गरेको हुँ । प्रकाशक र सम्पादकका बीच मतभेद बढेपछि काम गर्न सहज छैन भनेपछि छोड्ने सम्पादकले नै हो ।
मलाई नागरिकको प्रकाशकले भनेको सम्झन्छु उनले– मैले छोड्न मिल्ने भए छोड्थेँ भनेपछि मैले राजीनामा दिनुपर्यो । प्रकाशक र सम्पादकको सम्बन्धमा असहज हुने बित्तिकै सम्पादकले राजीनामा गर्छ, जब कि ऊ खासमा निकालिएकै हुन्छ । सम्पादकले नियुक्तिसँगै राजीनामाको फोटोकपी खल्तीमा लिएर हिँड्नुपर्छ भन्ने भनाइ त छँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा
-
एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग
-
ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी
-
हरिवंशले गरे पार्श्व गायनमा कमब्याक