शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचनका २० रोचक प्रसंग

मङ्गलबार, २० असार २०७४, १३ : ०१
मङ्गलबार, २० असार २०७४

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत असार १४ गते भएको मतदानको परिणाम आउने क्रम जारी छ ।


 तर, परिणाम आएका स्थानीय तहमा एक मतले पनि हारजित हुने र बराबरी मत भएपछि गोलाप्रथाबाट समेत विजयी घोषणा गर्ने काम भए ।

 
त्यतिमात्र होइन, यो स्थानीय चुनावमा दलहरुका आ–आफना पकड भनिएका क्षेत्रमा समेत अनुमान विपरित अर्कैले कव्जा जमाए । 


१. नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा कांग्रेस नराम्रोसंग पराजित भयो । सिटौला झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । यो निर्वाचन क्षेत्रमा भद्रपुर नगरपालिका, कचनकबल र हल्दिबारी गाउँपालिका छन् । कचनकबल र हल्दिबारीको निर्वाचन परिणाम कांग्रेसको पक्षमा नआई दुवै गाविसमा राप्रपाले जितेको छ । कचनकवलमा कांग्रेस दोस्रो स्थानमा आयो भने हल्दिबारीमा तेस्रो । 


२. सिटौलाको क्षेत्रमात्र होइन, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठामाथि पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले धावा बोल्यो । प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको एउटा मात्र नगरपालिका अमरगढीमा एमालेले जित हासिल गरेपछि कांग्रेसभित्रै देउवाको व्यापक आलोचना सुरु भयो । कांग्रेसको अनपेक्षित परिणामपछि सो पार्टीका नेताहरुले सभापति देउवाकै कारण हार व्यहोर्नुपरेको बताउन थाले । ०४८ सालको आम निर्वाचनदेखि कांग्रेसको वर्चश्व रहेको जिल्लाको पकड भत्किन नदिन प्रधानमन्त्री देउवाले सक्दो प्रयत्न गरेपनि विपक्षिले उनको प्रयत्न सफल हुन दिएन । 


३. यता माओवादी केन्द्रको उद्गमस्थल मानिने रोल्पामा माओवादीले अपेक्षाकृत परिणाम ल्याउन सकेन । १० सथानीय तह रहेको रोल्पामा माओवादीले तीन तह गुमाउन पर्यो । रोल्पाका एक गाउँपालिकामा कांग्रेस र दुईमा एमालेले कव्जा जमाए ।   


४. गुल्मीको रेसुङ्गा नगरपालिका नेपाली कांग्रेसको बलियो गढ मानिन्थ्यो । गुल्मी सदरमुकाम तम्घासलाई कांग्रेसले देशकै बलियो मध्येको एउटा गढका रुपमा  लिन्थ्यो तर, त्यहाँ नेपाली कांग्रेसका जिल्ला सभापति भुवन श्रेष्ठलाई पराजित गर्दै नेकपा एमालेका डिल्लीराज भुसाल रेसुङ्गाको प्रमुख बने । 


५. भोजपुरको भोजपुर नगरपालिका एमालेको गढ मानिन्थ्यो, त्यहाँ कांग्रेसले जित्यो । कैलाश कुमार आले ४ हजार ७० ल्याएर एमालेका गणेश कुमार श्रेष्ठले ४ हजार ३४ ल्याए । श्रेष्ठ भन्दा आलेले  ३६ मतबढी ल्याएर विजयी भए ।


५. प्रधानमन्त्री शेरबहादुर देउवा मतदाता रहेको डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेस विजयी बनेपनि डडेलधुरामा माओवादी केन्द्रले अजयमेरु गाउँपालिका र एमालेले नवदुर्गा गाउँपालिका जितेको छ , जसले गर्दा जिल्लामा देउवाको शाख कमजोर रहेको विश्लेषण भयो ।


६. ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । नेकपा एमालेको गढका रुपमा परिचित यो गाउँपालिकामा शर्माले तीन मतले एमालेका उम्मेदवार भीबहादुर थापालाई पछि पारे । शर्माले १९०६ र थापाले १९०३ मत ल्याए । 


७. ओखलढुङगाकै मोलुङ गाउँपालिका जुन नेपाली कांग्रेसको गढका रुपमा चिनिन्छ, त्याहाँ एमालेका गाउँपालिकाका उम्मेदवार मणिराज राईले २६ मतको अन्तरले प्रतिद्धन्द्धी कांग्रेसका महेन्द्र कार्कीलाई हराउन सफल भए । 


८.त्यस्तै मोलुङ गाउपलिकाकै वडानम्बर ४ मा माओवादीका मान बहादुर तामाङले कांग्रेसका उम्मेदवारलाई एक मतले हराउदै विजयी बने ।  


९.रेसुंगा नगरपालिकाको वडा नं ४ मा कांग्रेस एमालेका वडाध्याक्षबीच गोलाप्रथाबाट परिणाम घोषणा गरियो । एमालेका विजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यको मत ४ सय ९३ मतमा गोला तान्दा एमालेका मरासिनीले जिते । 


१०. रोल्पाको दुईखोली गाउँपालिका वडानम्बर ३ मा नेपाली कांग्रेसका भिमबहादुर केसी र माओवादी केन्द्रका झपिराम डाँगीले बराबर मत ल्याउदा गोलाप्रथाद्धारा माओवादीका झपिराम डाँगीले बाजि मारे । 


११. रुकुमकै सिस्ने गाउँपालिका वडा नम्बर ६ मा एक मतले एमालेका पुर्णबहादुर मल्लले हारे । ४ सय ६९ मत ल्याउदा माओवादी केन्द्रका सुधन रेग्मीले ४७० मत ल्याई वडाध्यक्ष विजयी भए । 


१२. धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर २ मा पनि एक मत अन्तरको हारजित भयो । वडाध्यक्षमा उठेका माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार मगरले ४ सय ९८ ल्याउदा एमाले उम्मेदवार इन्द्रबहादुर सारुले ४ सय ९९ मत ल्याई विजयी भए । 


१३. इलामको सन्दकपुर गाउँपालिका वडा नं. १ मा एकाघरका सासू–बुहारी चुनावी प्रतिस्पर्धामा उत्रिदा सासु एमालेकी ६२ वर्षीया दिलमाया कमिनीले माओवादी केन्द्रबाट उम्मेदवार बनेकी बुहारी सीतादेवी विश्वकर्मालाई हराइन । 


१४. बर्दियाको गुलरिया नगरपालिका वडा नं.–२ को वडा अध्यक्षका लागि दाजु कृष्ण अधिकारी नेपाली कांग्रेसबाट र भाइ टंकप्रसाद अधिकारी नेकपा एमालेबाट उम्मेदवार थिए । भाई टकंप्रसाद अधिकारी प्यानलैसहित विजयी भएका छन् । 


१५. प्यूठानको सरुमारानी गाउँपालिकामा एमालेका झगबहादुर विश्वकर्मा विजयी भएका छन् । उनी दोस्रो चरणको निर्वाचनमा दलितको प्रतिनिधित्व गर्ने उनी पहिलो हुन् । 


१६. संसदका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी नै पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको मत परिणाममा पनि हाबी भैइरहेका छन् । तर, नयाँ उर्जा र उत्साहका साथ निर्वाचनमा भाग लिएका दलले जनताको मन जित्न सकेको र आफ्नो अस्तित्व जोगाउन सकेको भने देखिएको छैन । 
१७. रुकुममा माओवादी र धनकुटामा एमालेले सवै स्थानीय तह जितेर ति जिल्लामा आफुलाई अव्वल सावित गर्न सफल बने । 


१८. ००७ सालदेखिको कांग्रेसको गढका रुपमा चिनिएको ओखलढुंगाको एउटामात्र नगरपालिकामा पनि कांग्रेसले पुरानो विरासत जोगाउन सकेन । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एमालेका मोहनकुमार श्रेष्ठले कांग्रेस उम्मेदवार डिल्लीराज खनाललाई १ सय २६ मत अन्तरले पराजित गरे । 


१९.  पुर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको क्षेत्र मानिने नेपालगञ्जमा पनि यो पटक कांग्रेसले आफ्नो पुरानो विरासत जोगाउन सकेन । नेपालगञ्ज उपमहानगरमा राप्रपाका मेयरका उम्मेदवार धवलशंसेर राणाले कांग्रेसका उम्मेदवारलाई झण्डै ६ हजारको फराकिलो अन्तरमा हराए ।  


२०. ६ वटा दल मिलेर बनेको राजपा यो निर्वाचनमा सहभागि बनेन । तर, पार्टीको नीति विपरित कपिलबस्तुमा राजपाका कार्यकर्ता चुनाव लड्ने मात्र होइन जितेरै देखाए । कपिलबस्तुको शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका निसार अहमद खाँ विजयी बने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप