शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सौतेनी आमा किन स्याहार्छन् लिम्बू समुदायमा

आइतबार, २७ फागुन २०७४, १२ : ३३
आइतबार, २७ फागुन २०७४

संसारमा मानव जातिको उपस्थितिको चित्रलाई सरसर्ती हेर्ने हो भने हरेक जाति, समुदाय एवम् समाजका आआफ्नै संस्कार, संस्कृति, भाषा, लिपि तथा मान्यता हुन्छन् । 
उनीहरूबीच ती चीजहरू स्थापित साथै विकसित हुनु अथवा हुँदै जानुमा ती जाति वा समुदायभित्र व्याप्त चेतनामा भर पर्छ । 

चेतनामा विशालता भएको समुदायमा संस्कार, संस्कृति एवम् मान्यता आदि, मानवीय हितलाई पहिलो प्राथमिकतामा राखेर उदार किसिमले स्थापित हुँदै जान्छन् भने दरिद्र चेतद्वारा गाँजिएको समुदायले स्थापित गर्दै लाने संस्कार, संस्कृति तथा मान्यताहरू असमान वा अनुदार किसिमले विकसित हुँदै जान्छन् ।

 शासकहरूले जारी गर्ने ऐन कानुन पनि चेतनाको स्तरबाट नै प्रभावित भएका हुन्छन् किनभने शासकहरू पनि समाजकै अङ्ग हुन् ।

सस्कृतिविद डा. जगमान गुरुङका अनुसार वि.स. १८८३ सालमा सरकारबाट जनताको नाममा ‘आइन्दा भाउजु नस्याहार्नु’ भन्ने व्यहोराको रुक्का जारी भएको थियो नेपालमा । तर त्यसमा जुम्ला र मानिएको किराँत भेगमा छुट दिइएको थियो ।

 धेरैजसोले यो संस्कारलाई असामाजिक तथा अनैतिक विषयको रूपमा बुझेको पाइन्छ ।

यसमा ‘भाउजु स्याहार्ने’ भन्ने कथनलाई कसले कसरी बुझ्ने भन्ने कुरा विशेष महत्वपूर्ण भएर आउँछ । याक्थुङ (लिम्बू) समुदायमा ‘दाइको श्रीमती भाइको हक’ भन्ने उक्ति नै छ । त्यो आफ्नै ठाउँमा छ । तर बाबुआमाको अनुपस्थितिमा दाजुभाउजुलाई आमाबुबा सरह सम्मान गर्ने प्रचलन अद्यपि छ । विशेष परिस्थितिमा देवरले भाउजुलाई श्रीमतीका रूपमा स्याहार्नु अथवा श्रीमतीका रूपमा ग्रहण गर्न सक्नु, समाजद्वारा ग्रहण गर्न दिइनु आफैमा महान कुरा हुन् । 

विशेष परिस्थिति भन्नाले, दाजु खसेर भाउजु विधवा भएमा देवरले श्रीमतीका रूपमा स्वीकार गरे र त्यसमा भाउजुले स्वीकृति जनाए एक निरश जीवन जिउनुपर्ने सम्भाव्यताबाट नारीको उदार हुन्छन् । लोग्ने बितेको आइमाईलाई दुलाहा माग्न आउने कुरा असम्भव प्रायः हुन्छ नै । मेला हाट भर्दै हिँड्न धान नाच्दै हिँड्न आफ्नै नैतिकताले पनि नदेला । बाँकी जीवन विधवा भएर काट्न पक्कै सहज नहोला । त्यो अवस्थामा चिनजान भई आएका, नातामा भाउजु र देवर एक अर्काबीच राजीखुशी मिले यो मानवीय हितको कुरालाई एक उदार समाजले पक्कै स्वीकार गर्न सक्दछ । अझ अवस्था हेरेर एक उदार समाजले मानविय भलोको लागी अप्रत्यक्ष रूपमा दबाब नै पनि दिन सक्दछ । त्यसै पनि पितृसतात्मक समाजमा आमा बाऊ पछि दाजु पनि नरहेको अवस्थामा घरको जिम्मा पनि स्वतः मुनिको भाइको काँधमा नै आउने गर्दछ । 

त्यस्तै, जीवनमा प्रेम जोकसैसँग हुँदैन, विशेष व्यक्तिसँग मात्र सम्भव हुन्छ । यस्तो सन्दर्र्भमा देवरले भाउजु भगाउँदा समाजले मान्यता दिने संस्कार आफैंमा उदारताको अर्थपूर्ण नमुना हो । हाडनाताको सम्बन्ध नभएको जोकसैसँग पनि वैवाहिक सम्बन्ध गाँसिन सक्दछ ।

डा. जगमान गुरुङका अनुसार रङ्गनाथ पौड्याल वि.सं. १८९६ सालमा नेपालको मुक्तियार भएपछि तत्कालीन राजा श्री ५ सुरेन्द्रको पालामा कानुन मन्त्रालयद्वारा छापिएको ऐनमा जारी रुक्का अनुसार ‘अब देखी सानीआमा नस्याहार्नु’ भनिएको छ । त्यसमा याक्थुङ समुदायका प्रतिनिधि व्यक्तित्वहरूद्वारा यसमा पनि छुट पाऊँ भनी राजा समक्ष बिन्ती हालिएको कुरा गुरुङले उल्लेख गरेका छन् ।

यहाँ सानीआमा भन्नाले आफ्नै आमाको बहिनी भन्ने पनि बुझिन्छ र बाउले ल्याएको कान्छी श्रीमती भन्ने पनि बुझिन्छ । उल्लेखित सानीआमा भनेको अन्य नाता नजोडिने ‘सौतेनी आमा’ हो । सौतेनी आमा कहिल्यै पनि आफ्नै आमा जस्तो हुन सक्दैनन् भन्ने मनोविज्ञान याक्थुङ समुदायमा ब्याप्त चेतनाले राम्रोसँग बुझेको छ । हाडनाताको सम्बन्ध कहीँबाट नजोडिएको खण्डमा कसैले सौतेनी आमा भगाउनु अथवा विशेष परिस्थितिमा श्रीमतीका रूपमा ग्रहण गर्नुलाई याक्थुङ समुदायले सहज रूपमा लिनु भनेको विचार, सोचमा विशालताको उपज हो । 

उल्लेखित याक्थुङ समाजलेस्वीकार गरेका प्रचलन ‘भाउजु स्याहार्ने’ तथा ‘सौतेनी आमा स्याहार्ने’ विषयहरू सम्भोग एवम् वासनासँग मात्रै जोडेर हेर्ने विषय होइनन् । उक्त संस्कारहरू, विशेष अवस्थामा खडा हुने सामाजिक समस्याको अगाडि, मानवीयताको संवेगदेखि सम्बन्ध विज्ञानसम्मको जोडघटाउ समेटी सूक्ष्म एकाइसम्म टेकेर स्थापित भएका बढो वैज्ञानिक र अर्थपूर्ण समाधान हुन् । यी प्रचललनहरू असामाजिक र अनैतिक होइनन् । तर यी खुल्ला मन, विचारको उदार मनोविज्ञानबाट विकसित संस्कारलाई साँघुरो सोचबाट मुक्ति पाउन नसकेको चिन्तनले पचाउन सकेको भने पाइँदैन । 

अन्त्यमा, उतिखेर याक्थुङ समुदायमा चलिआएको ‘भाउजु स्याहार्ने’, ‘सौतेनी आमा स्याहार्ने’ जस्ता संस्कारहरू समुदायभित्र अनिवार्यका विषय भने होइनन् । एकाध रूपमा घट्ने घटनाहरू हुन् र यस्तो पनि होइन कि दाजु सँगसँगै भाइले भाउजु स्याहार्ने र बाउ सँगसँगै सौतेनी आमा स्याहार्ने । विशेष परिस्थितिले यस्ता अवस्थाहरू जन्माएको खण्डमा समाजले सहज रूपमा स्विकार गरिदिने विषय मात्रै हुन् । 


अन्य समुदायमा त्यस्ता प्रकृतिका परिस्थितिहरू आइपरे विभिन्न सजायको भागिदार बन्नुपर्ने अवस्था हुँदा, याक्थुङ समुदायले यस्ता कुराहरू सहज रूपमा स्वीकार गर्न सक्नुको रहस्य मुन्धुम सभ्यता, मुन्धुम दर्शनभित्रको विशालता हो । याक्थुङ समुदायले प्रेम होस् या मानवता गहन रूपले बुझेको छ भन्ने यी उल्लेखित विषयहरू बलिया दस्तावेज हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

परिहास सुब्बा
परिहास सुब्बा
लेखकबाट थप