बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच दिनदेखि विद्युत् अवरुद्ध हुँदा धौलागिरिको जनजीवन प्रभावित

आइतबार, २७ फागुन २०७४, ११ : १८
आइतबार, २७ फागुन २०७४

पर्वत । विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । 

जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो । दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार–व्यवसाय र सञ्चार माध्यम चौपट बनेका हुन् । 
यस क्षेत्रमा सञ्चालित दुग्धजन्य उद्योग, चाउमिन, दालमोठलगायत एक दर्जनभन्दा बढी उद्योग समस्यामा परेका छन् । 

त्यस्तै झण्डै दुई दर्जनभन्दा बढी सञ्चार माध्यम प्रभावित भएका छन् । दैनिक दश घण्टाभन्दा बढी विद्युत् जाने भएकाले एफएम रेडियो र केबुल टेलिभिजन दिनभर बन्द गर्ने गरिएको छ । ‘लाइन बेलुका ५ बजे आउने भने पनि ७ बजेसम्म आउँदैन, त्यतिबेलासम्म ब्याट्री र जेनेरेटरले पनि धान्दैन’ त्यसैले बन्द गरेर बस्नुको विकल्प नभएको रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले बताए । 

नेपाल विद्युत् प्राधिकरणले मोदी–पोखरा १३२ केभी प्रसारण लाइनअन्तर्गत टावर नं ३५ बदली गर्न नयाँ टावर फेर्नका लागि फागुन २३ गतेदेखि लगातार विद्युत् सेवा बन्द गरेको हो ।

सन् २००० मा मोदीखोला जलविद्युत् केन्द्र निर्माण गर्ने बेलामा बनाइएको उक्त टावर जीर्ण भएकाले अहिले परिवर्तन गर्नु परेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखाका प्रमुख विजयराज रेग्मीले बताए । उनले भने, “शनिबार साँझदेखि नियमित विद्युत् दिने तयारी भए पनि वर्षाका कारण काम गर्न नसकेकाले लम्बिएको हो ।” 

यो सँगै गर्मीयाम लागेपछि यस क्षेत्रमा विद्युत् अनियमित हुने गरेको छ । खोलामा पानीको बहाबसमेत कम हुँदा उत्पादन घटेको छ भने हावाहुरीका कारण पटक पटक विद्युत् अवरुद्ध हुने गरेको छ । एक दिनमै पचासौँ पटक लाइन आउने जाने समस्याले झनै समस्या उत्पन्न हुने गरेको छ ।

टावर मर्मत सँगै अन्य क्षेत्रका रूखबिरुवा काट्ने र लाइनसमेत सफा गर्न वितरण शाखालाई निर्देशन दिएको प्रजिअ राजेश पन्थीले बताए । कुश्मामा सबस्टेसनसमेत सञ्चालनमा आइसकेकाले पर्वतमा समस्या भए पनि अन्य जिल्लामा विद्युत् नियमित गर्ने र अन्य जिल्लामा समस्या भए पनि पर्वतमा नियमित गर्न सकिने भएकाले अबदेखि लामो समय विद्युत्मा समस्या नआउने पनि शाखा प्रमुख रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप