केन्द्रीय संस्करण

पर्यटकीय सम्भाव्यता र उद्यमशीलता

person access_timeफागुन २५, २०७४ chat_bubble_outline0

 
गरिबी न्यूनीकरणका लागि नेपालमा थुप्रै माध्यमहरू हुन् सक्छन् । यीमध्येको पर्यटन पनि एक हो । पर्यटनले एकातिर देशलाई अझै सुन्दर बनाउन सहयोग गर्छ भने अर्कोतिर स्थानीय स्तरमै रोजगारी सृजना गर्छ । पर्यटन एउटा यस्तो व्यवसाय हो, जसका लागि बेरोजगारले अन्त जानु पर्दैन, रोजगारी त्यही ठाउँमा आफैं आइपुग्छ । गोजीमा पैसा बोकेका मान्छेहरू देश विदेशबाट आउँछन् । तिनको गोजीबाट तिनलाई खुसी पारेर र वैध काम गरेर पैसा आफ्नो गोजीमा पार्ने हो । कतिपय देशहरूको मुख्य आयस्रोत नै पर्यटन छ । पर्यटनका लागि हामीसँग प्रशस्त मात्रामा नदीनाला, वन जङ्गल, हिमाल पर्वत, भीर पहरा, डाँडाकाँडा, गल्छी छहरा आदि प्राकृतिक चीज वस्तुहरू छन् । हामीले कृत्रिम वस्तुहरू (कतिपय देशमा कृत्रिम पहाड, कृत्रिम नदी, कृतिम छहरा, कृत्रिम ताल, कृत्रिम भीर, कृत्रिम गल्छी आदि बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिन्छ) बनाएर पर्यटक आकर्षित गर्नै पर्दैन । प्रकृतिले हामीलाई उत्कृष्ट स्तरका प्राकृतिक सम्पदाहरू प्रदान गरेको छ । मात्र हामीहरूले तिनीहरूलाई परिचालन गर्नु पर्ने आवश्यकता छ । उद्यमशीलता भनेको हात खुट्टा कम र दिमाग बढी चलाउने कुरा हो । गरिबीले सबैभन्दा बढी पिरोलेको र युवाहरू बढी विदेशिएको तर अत्यन्त पर्यटकीय सम्भावना बोकेको सुदूर पश्चिम र कर्णालीमा उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्न सकिने एउटा उदाहरण लिउँ - कर्णाली चिसापानीको पुल ।

कर्णाली चिसापानी पुल
कैलालीको चिसापानीबाट बर्दिया जिल्लाको बर्दिया वन्य जन्तु आरक्ष जोड्ने कर्णाली नदीको पुल बन्नुभन्दा पहिले समग्र सुदूरपश्चिम देशको बाँकी भूभागसँग भौतिक मात्र होइन भावनात्मकरूपमा पनि आज जतिको जोडिएको थिएन । वि.सं. २०५० साल मङ्सिर २८ गतेका दिन तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले यस पुलको उद्घाटन गरेका दिनदेखि सुदूरपश्चिमले केही ‘सुदूरता’ गुमायो । अर्थात् राजधानीलगायत बाँकी पूर्वीभागसँग गाँसिन पुग्यो । कर्णालीमा गाडी गुड्ने देशकै नमुना पुल बनेपछि यसक्षेत्रले काँचुली फेर्यो । यातायातका लागि त यसले सुदूरपश्चिमलाई देशको पूर्वी भागसँग जोड्ने अमूल्य योगदान दिएको छ नै । तर यस क्षेत्रका जनताले अझै यस पुलबाट पर्यटन विकासमा टेवा पुर्याउने गरी फाइदा उठाउन सकेका छैनन्, त्यसै सम्बन्धमा केही सम्भावित उद्यम व्यवसायहरूको यहाँ चर्चा गर्न चाहन्छु । 

१. कतिपय यात्रुहरू गाडीबाट ओर्लेर यस पुलमा फोटो खिच्ने गर्छन् । कतिपय मान्छेहरू यही पुललाई नै केन्द्रित गरी चिसापानी घुम्न आउँछन् । अतः यस पुलको छेउछाउमा (चिसापनाी क्षेत्रमा) कम्तीमा पनि ५ जना फोटोग्राफरहरू जसले तुरुन्तै फोटो प्रिन्ट गरेर दिन सकून् फोटोग्राफी व्यवसाय राम्रो चल्ने सम्भावना छ । ५ जनालाई रोजगारी सिर्जना भयो ।

२. त्यो फोटोग्राफरको छेवैमा फोटो फ्रेमिङ गर्ने कम्तीमा पनि ५ जनाको फोटो फ्रेमिङ व्यवसाय पनि चल्न सक्छ । यसले उक्त फोटो र कर्णाली पुलको मात्र फोटो पनि तयार पारेर फ्रेमिङ गरेर राखेका हुनेछन् ।  थप ५ जनालाई रोजगारी सिर्जना भयो ।

३. कतिपय मान्छेहरू वनभोज गर्न र घुमफिर गर्न कर्णाली चिसापानी आउँछन् । त्यसैले कम्तीमा पनि पाँचवटा वनभोज स्थल (पिकनिक स्पोट) चल्न सक्ने सम्भावना छ । यस्तो वनभोज स्थल जसको छेउछाउमा बाँस निगालोबाट बनेका सुन्दर वस्तुहरू उत्पादन भइराखोस्, बाबियो, अल्लो, भाँगो, केराको थुम जस्ता रेशाबाट बनेका सुन्दर वस्तुहरू उपहारका सामान उपलब्ध हुन सकून् । साथै अचार उत्पादन, दुग्धजन्य पदार्थ, सुकेको माछा, मासुको सुकुटी उपलब्ध होस् । भ्रमण गर्ने एउटा समूहमा कम्तीमा पनि ५ देखि बढीमा ५० जनासम्मको टोली हुन्छ । २० जना लघु उद्यमीलाई रोजगारी प्राप्त हुनेछ ।

४. त्यस्ता चार पाँच टोलीलाई विभिन्न परिकारहरू खुवाउने र रात बिताउन चाहने पर्यटकलाई बासको पनि व्यवस्था गर्ने हो भने यस हिसाबले कम्तीमा पनि एउटा वनभोज स्थलले २० जना कामदारलाई प्रत्यक्ष रोजगारी दिन सक्छ । पाँचवटा पिकनिक स्थलमा २० जनका दरले जम्मा १०० जनालाई रोजगारी प्राप्त हुनेछ ।

५. ती पर्यटकहरू रमाउन र पैसा खर्च गर्न आएका हुन्छन्, आफ्नो भ्रमणलाई सम्झनायोग्य बनाउन चाहन्छन् । अतः तिनीहरूलाई मुख्य सडकबाट घोडामा चढाएर माला लगाएर वनभोज स्थलसम्म लग्ने हो भने कम्तीमा पनि एउटा वनभोज स्थलले १० का दरले भए पनि ५० वटा घोडाले काम पाए । राति ती  घोडाहरूलाई विश्राम गर्नका लागि तबेला चाहिन्छ । एउटा तबेलामा १० वटा घोडाहरू बाध्न मिल्ने गरी भए पनि ५ वटा तबेला चाहिएला । उक्त तबेला धनीले प्रतिघोडा रू. ५० लिएर दैनिक रू. ५०० र मासिक रू. १५,००० कमाउन सक्छ । ५ जनालाई रोजगारी प्राप्त हुनेछ ।

६. ५० घोडाले काम पाउनु भनेको ५० जना घोडिया (घोडा चलाउने मान्छे ले पनि काम पाउनु हो । 

७. ती घोडाहरूले घाँस र दाना पानी खालान् कम्तीमा पनि ५० घोडाहरूलाई घाँस र दाना ख्वाउन दैनिक १० जनाले पनि रोजगारी पाउने भए । 

८. ती घोडाहरू कहिले काहिँ बिरामी पर्लान्, तिन्लाई औषधीमूलो पनि गर्नु पर्ला । यसको लागि कम्तीमा २ वटा एग्रोभेट पसल पनि चाहिन्छन् । २ जनालाई रोजगारी प्राप्त हुनसक्छ ।

९. मैले प्रत्येक घोडामा सवारी गर्ने पर्यटकलाई फूलमाला लगाएर वनभोज स्थलसम्म लैजाने कुरा गरेँ । यसका लागि कम्तीमा पनि दैनिक रूपमा ५०० वटा माला चाहिन्छन् । ती ५०० वटा मालाहरू घरमा बसी बसी अपाङ्गहरू (भिन्न क्षमता भएकाहरू) ले बनाउन सक्छन् । यसमा कम्तीमा पनि १० जना भिन्न क्षमता भएका मान्छेहरूले रोजगारी पाउँछन् । (१० जनालाई रोजगारी)

१०. दैनिक ५०० वटा मालाको लागि फूलको खेती गर्ने हो भने कम्तीमा पनि १० विगाहा जग्गा चाहिन्छ । पाँच कट्ठाका दरले जग्गा पाएका मुक्त कमैयाहरूलाई यसमा आबद्ध गराउने हो भने ४० परिवारको जग्गामा व्यावसायिक पुष्पखेती हुने भयो । प्रतिपरिवार १ जनालाई मात्रै पनि त्यसमा संलग्न गराउने हो भने पनि ४० जनाले प्रत्यक्ष रोजगारी पाए । 

११. घर फर्केर जाँदा ती ५०० जना पर्यटकमध्ये २०० जनाले मात्र पनि कम्तीमा रू. १०० बराबरको कर्णाली भ्रमणको चिनो किनेर लग्ने हो भने दैनिक रू. बीस हजारको लघु उद्यमबाट बनेका वस्तुहरूको कारोबार हुन सक्ने भयो । मासिक रूपमा हेर्ने हो भने रू. ६ लाख हुन्छ । कम्तीमा पनि ६ जना लघु उद्यमीहरू मासिक एक लाख कारोबारको गर्ने वातावरण तयार हुन्छ ।

१२. ती ५०० जना पर्यटकका लागि खाना पकाउन दैनिक रूपमा खाद्यान्न, तरकारी, दाउरा, दही दूध, घ्यू, माछा मासु चाहिएला । कसैले मद्यपान गर्छन् भने त्यो पनि चाहिएला, माछा मासु नखानेका लागि फलफूल चाहिएला । ती सबै आपूर्ति गर्ने मान्छेहरूले पनि रोजगारी पाए । एउटा वनभोज स्थलसँग १० जना मात्र पनि संलग्न हुने हो भने ५ वटा वनभोज स्थलमा ५० जना आवश्यक हुने भए । 

१३. ती मान्छेहरू कर्णाली चिसापानीको छेउछाउका मात्र होइनन्, जो पैदल आउलान् । टाढा टाढाबाट आउनका लागि यातायातका साधनहरू चाहिएलान् । ती यातायातका साधनका लागि इन्धन चाहिएला, बिग्रेपछि मर्मत गर्नुपर्ला त्यसैले यातायात व्यवसायी र तिनका कामदारले पनि रोजगारी पाउने भए । पेट्रोल पम्पवालाहरूको पनि राम्रै आम्दानी हुन सक्ने भयो । गाडी बिग्रेपछि ग्यारेजमा मर्मत सम्भार गर्नुपर्ला ग्यारेजवालाले पनि काम पाउने भए । २५ वटा हाइस गाडीलाई २ जना कर्मचारी र अन्य १० गरी ६० जनालाई रोजगारी सिर्जना हुन्छ । 

१४. ती ५०० जना मध्ये केही सामान्य नै भए पनि बिरामी पर्लान्, कम्तीमा गाडीमा यात्रा गर्दा टाउको दुखेको औषधि त किन्लान् । त्यसैले २ वटा औषधि पसल चाहिएलान् ।

१५. ती ५०० जनाले चिसो पेय पदार्थ अथवा चिया कफी, दूध, दही वा लस्सी, कुल्फी (मौसम अनुसार) खालान्, त्यसका लागि कम्तीमा पनि १० वटा यस्ता पसल आवश्यक हुन्छ ।

१६. ती वनभोज स्थलहरू नजिक एउटा मन्दिर हुने हो भने ती ५०० जना मध्ये कम्तीमा १०० जनाले पनि मन्दिरमा दर्शन गरेर रू. १० भगवानलाई भेटी चढाउने हो भने पनि रू. एक हजार प्रतिदिन मन्दिरमा आम्दानी हुने भयो । बसी बसी मासिक रूपमा ३० हजार रूपियाँ कमाउन पाएपछि त्यो मन्दिरका २ जना पुजारीको पनि गरिबी न्यूनीकरण हुने भयो । 

१७. उक्त क्षेत्रमा नेपालको विभिन्न क्षेत्रका व्यक्तिहरूको आकर्षण हुने भएकोले विभिन्न जातजातिका वेषभूषा झल्काउने पहिरन भाडामा उपलब्ध गराउन सकेको खण्डमा (दार्जिलिङतिरको जस्तै पर्यटकहरू यस भ्रमणलाई अझ सम्झन योग्य बनाउन सक्छन् । अतः यस्ता पोसाक र वेषभूषा भाडामा उपलब्ध गराउने कम्तीमा पनि १० वटा पसल आवश्यक पर्दछन् । 

१८. अहिलेलाई हामीले दैनिक ५०० जना पर्यटक (आन्तरिक र बाह्य गरी) मात्रको लक्ष्य लिएका छौं । अतः ती ५०० जना पर्यटकमध्ये कतिपयलाई त पथ प्रदर्शकको पनि आवश्यकता पर्ला । अहिलेलाई कम्तिमा पनि १० जना पथ प्रदर्शकको लक्ष्य राखौँ ।

१९. त्यसरी आउने पर्यटकहरूका ससाना बालबालिकाहरू पनि होलान् तिनीहरूको मनोरन्जनका लागि कम्तीमा पनि ५ वटा बाल उद्यानहरू वनभोज स्थल नजिकै आवश्यक पर्लान् । ती ५ वटा बाल उद्यानहरूको सञ्चालन र व्यवस्थापनमा प्रति उद्यान ५ जनासम्म जनशक्ति आवश्यक पर्ला । 

२०. माथि हामीले वयस्क व्यक्तिहरूको लागि कर्णालीको चिनो अथवा उपहार त भन्यौ तर बाल उद्यानमा खेल्ने यी ससाना नानीहरूलाई त आफू सुहाउँदो खेलौनाहरू आवश्यक पर्ला । प्रत्येक उद्यान छेउछाउमा कम्तीमा पनि ५ जना खेलौना बिक्रेताको आवश्यकता देखिन्छ । 

२१. चाहे त्यो आन्तरिक होस् वा बाह्य पर्यटक कर्णाली घुम्न आउने मान्छेले कर्णालीमा डुङ्गा सयर गरेन भने के कर्णाली घुमेको भयो र ? अतः कर्णाली छेउछाउमा सयर गर्न डुङ्गाहरू पनि उपलब्ध हुनेछन् । सुरुमा १० वटा डुङ्गा सञ्चालन मात्रको योजना बनाऔँ । कम्तीमा पनि एउटा डुङ्गामा १० जनाले बस्न मिल्ने गरिको होस् । एउटा डुङ्गा चलाउन २ जना चालक र यात्रुलाई टिकेट, लाइफ ज्याकेट आदि उपलब्ध गराउन, ओराल्न बसाल्न आदिमा २ जना गरी प्रतिडुङ्गा ४ जनाका दरले जनशक्ति चाहिन्छ । 

२२. त्यतिका व्यवसायीले राज्यलाई कर तिर्नेछन् र राज्यले पनि केही समाज कल्याण र सुरक्षाको प्रत्याभूति हुने कामहरू गरिदिनुपर्ने हुन्छ । अतः राज्यको तर्फबाट गोताखोरहरूको व्यवस्था गरिनु पर्छ । कम्तीमा पनि १० जना गोताखोर आवश्यक हुन्छन् । 

२३. यस प्रकार कर्णाली पुललाई पर्यटकीय गन्तव्य स्थल मानेर हामीहरूले आआफ्नो योग्यता र क्षमताले भ्याउने माथि उल्लेख गरिएका व्यवसायहरू गर्ने हो भने कम्तीमा पनि ४९७ जनाले अर्थात् लगभग पाँच सय जनाले प्रत्यक्ष र १,५०० जनाले अप्रत्यक्ष रोजगारी पाउन सक्ने देखिन्छ । अझ विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेर धेरै जना स्थानीय कलाकारहरूले समेत रोजगारी पाउन सक्छन् । यी माथिकामध्ये धेरै व्यवसायीहरूले केही न केही रूपमा सरकारलाई कर पनि तिर्नुपर्ने हुन्छ । त्यस बापत सरकारले मासिक रूपमा राम्रो कर पनि असुली गर्नेछ । त्यस बापतको उसले विभिन्न सञ्चार माध्यमहरूबाट पर्यटन प्रवद्र्धनका लागि विज्ञापन गरेर व्यवसायीहरूलाई सहयोग गर्न सक्छ । एकीकृतरूपमा उद्यमशीलता मार्फत गरिबी न्यूनीकरण गरी रोजगारी सृजना गर्ने यो एउटा नमुना मात्र हो । यस्ता र यसभन्दा धेरै राम्रा अरू उदाहरणहरू पनि हुन सक्छन् । तर एउटै कुरा ध्यानमा के राख्नु पर्यो भने, “गरे के हुँदैन, अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गर्ने ?”  

लेखक भट्टको ‘उद्यमशीलता विकासद्वारा गरिबी न्यूनीकरण’ नामक प्रकाशित पुस्तकको अंश । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X