केन्द्रीय संस्करण

टिप्पणी : प्रचण्ड तपाईंलाई के बाध्यता छ ?

person access_timeफागुन २५, २०७४ chat_bubble_outline0

काठमाडौँ– ‘अपारदर्शी र षडयन्त्रकारी । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका लागि पालैपालो उपयोगका पात्र । मूल नेतृत्वलाई दबाब र घेरबन्दीमा पारेर बारम्बर लाभको पद प्राप्ति । मन्त्री हुँदा विभिन्न व्यपारीको हितमा काम । कहिले प्रचण्डको कित्तामा कहिले वैद्यको कित्तामा । कहिले बेइजिङको आफ्नो, कहिले दिल्लीको साइनो ।’

माओवादी नेता कृष्णबहादुर महरामाथि उनका पार्टी नेताहरूले यस्ता दर्जनौँ आरोप लगाउँछन् । तर महराले पार्टीभित्र चित्त बुझ्दो जवाफ दिएको अहिलेसम्म समाचार बाहिर आएका छैनन् ।

अनगन्ती प्रश्नहरूको घेरामा रहेका यी नेता प्रचण्डका लागि चाहिँ ‘अनिवार्य’ जस्ता छन् । यो चाहिँ बढो गजब छ ।

यसअघि पटक–पटक लाभको पद लिएका महराले फेरि पाँच वर्षका लागि ‘राम्रो जागिर’ पाएका छन् ।

प्रतिनिधिसभामा सभामुख चयन हुँदैछन् ।

औपचारिकता मात्र बाँकी छ ।

एमालेसँगको शक्ति बाँडफाँड अनुसार सभामुख माओवादीको कोटामा थियो ।

माओवादीले महरालाई अगाडि सार्यो ।

तर पार्टीको कुनै औपचारिक समितिले महराको नाम अनुमोदन गरेको होइन ।

राष्ट्रपति र उपराष्ट्रपति दोहोर्याउने सहमति जुट्यो ।

सभामुखमा नयाँ व्यक्तिको ‘इन्ट्री’ भयो ।

महराको उम्मेदवारी दर्ता, हेर्नुहोस् १३ तस्विर

यसमा प्रचण्डलाई फकाउन सक्ने र दबाबमा राख्नसक्ने महराको ‘शक्ति’ मुख्य कारण बन्यो ।

महरालाई सभामुख बनाउने प्रचण्डको निर्णयले उठाएको प्रश्न हो, ‘खासमा महरालाई कुनै न कुनै लाभको पद दिइरहनुपर्ने प्रचण्डलाई त्यस्तो के बाध्यता छ ?’

यसअघि संविधानसभामा यिनै महराले यो पद लत्ताएका थिए ।

त्यसबेला आवश्यक नठानेको पद यसबेला महरालाई खुबै प्यारो लाग्यो ।

यसअघि चार पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भइसकेका महरा फेरि किन सभामुख ?

मैले माओवादीका धेरै केन्द्रीय नेतासँग जवाफ जान्न खोजेँ ।

कसैसँग जवाफ भेटिनँ ।

उनीहरू भन्छन्, ‘प्रचण्डलाई बाध्यता छ, बाध्यता ।’

विगतदेखि प्रचण्डको ‘विश्वासपात्र’का रूपमा अवसर धेरै पाए ।

महराले लाभको पद कति लिए, केही तथ्य हेरौँ ।

अहिलेसम्म महरा ५ पटक सांसद भए ।

महराको संसदमा पहिलो उपस्थिति ०४८ मै भएको हो ।

तत्कालीन संयुक्त जनमोर्चाबाट उनी रोल्पाबाट विजयी भएका थिए ।

यतिखेर संयुक्त जनमोर्चाले देशभरबाट जम्मा ९ सिट जितेको थियो ।

०६४ र ०७० का दुई संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन जितेर सभासद भए ।

गृहजिल्लामा चुनाव लड्न नपाएपछि दाङ झरे, २०७४ मा ।

त्यहाँ स्थानीय नेताको टिकट खोसे ।

शङ्कर पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर, आफू प्रतिनिधिसभाका लागि सुरक्षित भए ।

अनि ०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य भएर आए ।

महराका लागि कुवेर ओलीले उम्मेदवारी फिर्ता लिए ।

२०६३ मा बनेको अन्तरिम संसदमा माओवादीका तर्फबाट कृष्णबहादुर महराले नेतृत्व गरेका थिए ।

त्यहाँबाट सिंहदरबार छिरेका महरालाई त्यसपछि पछाडि पर्नुपरेको छैन ।

उनका लागि सिंहदरबारको ढोका सधैँ खुला छ ।

प्रचण्डले उनका लागि २४ घण्टा नै ‘लिफ्ट’ खुला गरिदिएका छन् ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार–०६३ मा महरा सञ्चारमन्त्री भए ।

प्रचण्ड नेतृत्वको सरकार–०६५ मा महरा फेरि सञ्चार मन्त्री भए ।

यतिमा मात्र उनको रुचि पुगेन ।

२०६७ मा गृहमन्त्री भए ।

त्यसपछि उनी प्रचण्ड नेतृत्वको सरकारमा २०७३ मा उपप्रधानसहित अर्थमन्त्री भए ।

सरकार परिवर्तन भयो, देउवा प्रधानमन्त्री भए ।

फेरि महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाए ।

देउवा सरकारबाट बिदा भएपछि अहिले सभामुख ।

यसलै त महरा ‘माओवादीका गच्छदार’का रूपमा परिचित छन् ।

माओवादीभित्रको एउटा सत्य हो, आन्दोलनमा लड्ने धेरै र लाभ लिने थोरै भए ।

साधन–स्रोत र अवसरको न्यायोचित वितरण नभएको भनेर पटक–पटक विवाद जन्मिए र माओवादी पार्टी पटक–पटक फुट्यो पनि ।

तर, पनि प्रचण्डलाई कुनै असर गरेन ।

प्रचण्डलाई धम्की र दबाबमा राखेर लाभको पद लिनेहरूलाई केही मतलव भएन ।

माओवादीभित्र लाभका पदहरूको कसरी दुरुपयोग हुन्छन् भन्ने गतिलो उदारण महरा हुन् ।

शान्ति प्रक्रियामा आएदेखि माओवादीमा उनले जस्तो लाभको पद अरू नेताले पाएका छैनन् र भविष्यमा पनि पाउन कठिन छ, जतिन्जेल उनले प्रचण्डलाई दबाबमा राख्न सक्छन् ।

महरा माओवादीभित्रका यसकारण ‘विजयकुमार गच्छदार’ हुन्, जो हरेक ठाउँमा हरेक पटक सुविधाका लागि अग्रपङ्क्तिमा आउँछन् ।

माओवादीका डकुमेन्ट र सार्वजनिक मञ्चमा नेताहरूले दिएका अभिव्यक्तिलाई मान्ने हो भने माओवादी आन्दोलनको उठान पछाडि पारिएकाहरूको सशक्तीकरणसँग जोडिएको थियो । तर महराजस्ता नेताहरूमा रहेको पदको ‘चरम भोक’ले माओवादीका डकुमेन्ट र सार्वजनिक मञ्चमा नेताहरूले दिएका अभिव्यक्ति निकै गलत सावित हुन्छन् ।

मोहनविक्रम सिंहले नारायणकाजी श्रेष्ठलाई ‘राजनीतिक व्यापारी’ भन्छन् । माओवादी आन्दोलनमा महराको ठूलो योगदान होला तर उनले जति लिएका छन्, त्यो मोहनविक्रम सिंहकै भाषामा भन्ने हो भने ‘राजनीतिक व्यापारी’ भन्दा कम छैन । ‘राजनीतिक व्यापारी’को चरित्र आफ्नो हितका लागि जे पनि गर्न तयार हुने हो । नाफा–घाटाको तराजुमा बसेर राजनीति गर्ने हो ।

५० करोडको टेपकान्ड होस् वा टेलिकम कम्पनीलाई लाइसेन्स दिँदा नै होस्, महराको विवादित छवि छताछुल्ल भएको थियो । तैपनि प्रचण्डका लागि महरा नभई नहुने अचम्म लाग्दो छ । कुन केमेस्ट्रीले काम गरेको छ ? राजनीतिको ‘इन्साइड स्टोरी’ कुनै दिन बाहिर आउलान् ।

संसदीय राजनीतिविरुद्ध मोर्चा कस्दा महराले के सोचेका थिए ?

हुन सक्छ, शक्ति, पद र प्रतिष्ठा ।

कतिपय माओवादी नेताहरूको भनाइमा, कम बोल्ने तर ‘जायज–नाजायज’ सबै गर्न सक्ने अद्भूत क्षमताका धनी छन् महरा ।

यही महान क्षमता प्रचण्डलाई मन परेको हुन सक्छ र पटक–पटक जहाँ पनि महरालाई अगाडि सार्छन् ।

कतिपय त, बेइजिङ र दिल्लीलाई एकै पटक डिल गर्न सक्ने ‘डबल डिप्लोमेसी’ महराको सबैभन्दा ठूलो क्षमता मान्छन् । महराको यही कार्यशैली प्रचण्डलाई मन परेको हुन सक्छ ।

पार्टीभित्र केहिले वैद्य खेमामा कहिले प्रचण्ड खेमामा बसेर ‘डबल गेम’को भूमिका निभाउन सक्ने दुर्लभ कला महराको ठूलो सम्पत्ति मान्नेहरू पनि छन् ।

विवादास्पद व्यापारीहरूसँगको घनिष्टतालाई लिएर पटक–पटक मिडिया रिपोर्ट पनि बाहिर आउँछन् ।

माओवादीका एक पूर्वमन्त्रीको भनाइ मान्ने हो भने मन्त्री हुँदा महराले जति प्रचण्डलाई चाहिने साधन स्रोत अरू नेताले जुटाइदिन्नन् । सीता म्याडमको पनि सद्भाव छ ।

प्रचण्ड महराको यही कार्यशैलीप्रत्ति खुसी छन् ।

तर, माओवादीका नेता स्व. पोष्टबहादुर बोगटीले ‘प्रचण्डलाई राजनीतिक र साङ्गठनिक अफ्ठ्यारो परेको बेला महराले असहयोग गर्ने गरेको’ सुनाउँथे ।

खरिपाटी भेला होस् कि धोवीघाट बैठक, महराले त्यस्तै देखाएका थिए पनि ।

यो सत्य के हो भने महरासँग माओवादी आन्दोलनका महत्वपूर्ण र संवेदनशील सूचना छन् । आर्थिक कारोवारका केही ‘घटना’ पनि जोडिएका छन् ।

प्रचण्डलाई यी कुराले दबाब बनाइरहेको पनि हुन सक्छ ।

बेलाबेला प्रचण्डले ‘मदन भण्डारी दुर्घटना प्रकरण र राजदरबार काण्ड दोहोरिने खतरा छ’ भन्छन् ।

के प्रचण्ड आफ्नैहरूबाट पनि भयभित छन् ?

फागुन २३ गते रातोपाटी अनलाइनमा ‘जीवनसाथी बचाइदिन पूर्व जनमुक्ति सेनाका कमाण्डरको आग्रह’ शीर्षकमा समाचार छापिएको थियो ।

जसमा पूर्वजनमुक्ति सेनाका एक जुनियर कमान्डर जीवनकुमार विकले आर्थिक अभावका कारण श्रीमतीको ज्यान जान लागेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् । 

अछामको पञ्चदेव विनायक नगरपालिका–७ स्थायी घर भएका विक उपचारका लागि श्रीमती लिएर काठमाडौँ आएका छन् । तर अर्थ जुटाउन नसक्दा उपचार हुन सकेको छैन ।

समाचारमा विककी श्रीमती धनसरा विक ढाडसँग सम्बन्धित रोगबाट थला परेकी उल्लेख छ ।

काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि भर्ना भए पनि आवश्यक खर्चको जोहो गर्न नसक्दा अस्पतालले बाहिर निकालिदिएको विकले सुनाएका छन् ।

सहयोगका लागि सबैतिर धाए पनि आवश्यक रकम कतैबाट नजुटेको उनले गुनासो सुनाएका थिए ।

‘म विगत तीन महिनादेखि श्रीमतीको उपचारका लागि काठमाडौँमा भौतारिहरेको छु । तर पनि उपचार गर्न सकेको छैन । उपचारका लागि सबैसँग सहयोगको अपेक्षा गरेको छु’ विकले भनेका छन् ।

अस्पतालले धनसराको ढाडको सिटी गाइड गरेर अप्रेसन गर्नुपर्ने त्यसका लागि तीन लाख रकम आवश्यक भएको बताएको छ ।

विकले सेना समायोजनमा अवकाश रोजेका थिए ।

महराले पटक–पटक लाभको पद लिइरहँदा यी कमान्डरको मनमा के खेले होला ?

पूर्वजनमुक्ति सेनाका कमाण्डर जीवनकुमार बिककी विरामी श्रीमति 

माओवादीले राजनीतिक स्वतन्त्राका लागि सङ्घर्ष गरेको थियो ।

तर, आज पद माग्नुपर्ने र दिनुपर्ने माओवादी संस्कृति देखिन्छ ।

राजनीतिक स्वतन्त्राका लागि लडेकाहरू ‘दास’ जस्ता देखिन्छन् ।

प्रचण्डले स्वतन्त्राका लागि धेरै मानिसलाई सङ्घर्ष गर्न सिकाए ।

तर माओवादीभित्रै ‘दास’ हरू धेरै जन्माए ।

न पार्टीभित्र छलफल हुन्छ ।

न अवसरको न्यायोचित वितरण ।

र त अब आफ्नै बलबुतामा गरिखान कठिन हुन्छ कि भनेर एकतातिर कोर्स अगाडि बढाए ।

माओवादीमा महरा धेरैका ‘सर’ हुन् ।

त्यसैले ‘सर’का सबै ‘गल्तीमा छुट’ छ ।

माफ छ ।

‘सर’का गल्तीलाई ‘माथि’ बाटै छुट छ ।

‘सर’ले नै गलत नजिर बसाएपछि, पढाएपछि विद्यार्थीबाट के आशा गर्नु ?
 

नेत्र पन्थी

नेत्र पन्थी रातोपाटीका समाचार सम्पादक हुन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X