बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सफल नारी : टेलिकमकी एमडी भन्छिन्, ‘मुस्किलले पढ्न पुग्ने पैसा थियो, बच्चा च्यापेर पढेँ’

कामिनी राजभण्डारी : ‘प्रेरक नारी व्यक्तित्व’
बिहीबार, २४ फागुन २०७४, १३ : ५०
बिहीबार, २४ फागुन २०७४

नेपाल टेलिकमको सय वर्षको इतिहासमा कामिनी राजभण्डारी पहिलो महिला प्रबन्ध निर्देशक हुन् । संविधानले महिलालाई हरेक क्षेत्रमा आरक्षणको सुविधा उपलब्ध गराएको बेला कामिनीले भने खुल्ला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको सर्वोच्च पद हाँसिल गर्न सफल भएकी थिइन् । १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसको अघिल्लो दिन बुधबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुग्दा उनी भर्खरै ‘सिर्जनशील महिला मञ्च’ले आयोजना गरेको कार्यक्रममा सम्मानित भएर कार्यकक्षमा छिरेकी थिइन् । 

केही समयअघि मेनेजमेन्ट एसोसिएसनबाट समेत अवार्ड जितेकी राजभण्डारी आफूले आफैंलाई मूल्याङ्कन गर्दै भनिन्, ‘सरकारलाई ट्याक्स तथा भ्याट तिर्ने कम्पनीहरूमा नेपाल टेलिकमलाई दोस्रो नम्बरमा माथि उठाएको छु, यति ठूलो संस्था हाँकिरहेको हुनाले अझै अगाडि बढ्नुस् भनेर अवार्ड र सम्मान दिनुभएको होला ।’ 

१ करोड ८० लाख प्रयोगकर्ता रहेको नेपाल टेलिकमको बागडोर उनले सम्हालेको वर्ष दिन पूरा भइसकेको छ । यसबीचमा उनको नेतृत्वमा टेलिकमले प्राप्त गरेको उपलब्धिको लामो फेहरिस्त तयार भइसकेको छ । एउटी सफल महिला प्रबन्धका रूपमा आफूलाई सावित गरिसकेकी राजभण्डारी भन्छिन्, ‘सम्मानको हौसलासँगै अझै राम्रो गर्ने सोचिरहेकी छु ।’ 

‘टेलिकमको एमडी जस्तो पदमा पुग्नका लागि गरेको सङ्घर्षलाई अहिले कसरी सम्झिनुहुन्छ ?’ रातोपाटीकर्मीको जिज्ञासा भुइँमा खस्न नपाउँदै उनले भनिन्, ‘धेरै सङ्घर्ष गरेको छु, टेलिकमको जागिरे भइसके पनि मैले पढाइ छाडिन्, दुई वर्षको छोरा च्यापेर बैङ्ककमा गएर मास्र्टर पूरा गरेँ त्यसैले सङ्घर्षको बीचबाट नै यो ठाउँमा आइपुगेको हुँ ।’ 

१९८५ मा भारतको चण्डिगढबाट इन्जिनियरिङ पास गरेपछि राजभण्डारी नेपाल टेलिकममा ज्वाइन भएकी थिइन् । उनका बुबा पनि इन्जिनियर थिए, बाबुकै प्रेरणाले एसएलसी पास गर्नासाथ कोलम्बो प्लानअन्तर्गतको छात्रवृत्ति पाएर भारतको चण्डीगढमा पढ्न पुगेकी राजभणडरीले त्यतिबेला नै आफूलाई अब्बल सावित गरिसकेकी थिइएन् । ‘एसएलसी पास गर्ने बेलादेखि नै मेरो  मनमा लागिसकेको थियो, म अब इन्जिनियर हुन्छु, चन्डीगढबाट डिस्टिङ्सन ल्याएर इन्जिनियर पास आउट भएँ ।’ उनले भनिन्, ‘त्यसपछि मैले नेपाल टेलिकममा ज्वाइन गरेको, मैले काममा धेरै महत्व दिएँ, काममै रमाएँ, अनि प्रोमोनसनमा पनि कसैलाई भनिन् ।’ 

कम्पनीले दिएको हरके जिम्मा सफलतापूर्वक सम्पन्न गर्दै जाँदा उनको प्रमोसन पनि कहीँ कतै रोकिएन । ‘कसैलाई भनसुन नगर्दा पनि आफ्नो क्षमताका कारण प्रमोसन भयो’, उनी भन्छिन्, ‘आफ्नो स्वार्थ पूरा गर्ने काम कहिल्यै गरेको छैन, अहिले पनि गर्दिनँ ।’ 

सफल हुन ‘लक्ष्य’ चाहिन्छ 
कामिनी टेलिकमको तालिम केन्द्रमा थिइन्, टेलिकमको जागिर करिब १५ वर्ष पूरा भइसकेको थियो । उनले अफिसबाट बिदा लिएर इन्जिनियरिङमा मास्टर्स गर्ने लक्ष्य लिइन् । ‘त्यसपछि एआईटी बैङ्ककमा टेक्नोलोजीमा मास्टर्स गर्न गएँ’ उनले भनिन्, ‘टेलिकमबाट बे–तलबी पाइने छुट्टीलाई मैले सदुपयोग गरेँ । किनभने सफल हुन भिजन चाहिन्छ, गोलबिना काम गरेमा तपाईं त्यो ठाउँमा कहिल्यै पुग्न सक्नुहुन्न ।’ 

ससाना दुई छोरा र परिवार छाडेर बैङ्ककमा मास्टर्स गर्न पुगेकी कामिनीले पछि दुई वर्षे छोरालाई पनि आफूसँगै लगिन् । ‘श्रीमान नेपाल एयरलाइन्समा जब गर्नुहुन्थ्यो, उहाँको नाममा आउने फ्री टिकट सदुपयोग गरेर आउने जाने गर्थें’ विगत सम्झँदै उनले भनिन्, ‘सानो बच्चा लिएर पढ्दा सुरुमा धेरै होमसिक भयो, पैसा थिएन पढ्न मात्र मुस्किलले पुग्थ्यो ।’

श्रीमानले ब्याचलर मात्रै पूरा गरेको हुनाले आफूले मास्टर्स पढ्ने आकाङ्क्षा राख्दा समाजले केही भन्छ कि भन्ने उनको मनमा नआएको हैन । तर उनले मास्टर्स पढ्ने अठोट गरेकै कारण अहिले नेपाल टेलिकमको सर्वोच्च पद हाँसिल गर्न सफल भइन् । ‘टेलिकमको एमडी हुनका लागि सबैमा स्ट्रोङ थिएँ तर पढाइ नभएको भए के हुन्थ्यो भन्नुस् त ?’ उनले प्रश्नात्मक शैलीमा भनिन्, ‘त्यसैले जीवनमा लक्ष लिएर अगाडि बढ्नुपर्छ, डिटरमिनेसन हुनुपर्छ र सधैँ सकारात्मक एटिच्युड राख्नुपर्छ ।’ 

 

संविधानले महिलाका लागि छुट्याएको आरक्षण सकारात्मक भए पनि नारीहरूले आफ्नो शैक्षिक योग्यता बढाउनुपर्ने तर्क गर्छिन् राजभण्डारी । ‘महिला भएर आरक्षणमा मात्र बस्नुहुन्न, तपाईंले आफूले आफैलाई विकास गर्नुपर्छ’ उनी भन्छिन्, ‘आफ्नो शैक्षिक योग्यता बढाउनुपर्छ, आफ्नो क्षमता बढाएमा प्रतिस्पर्धा गर्न सकिन्छ तर संविधानले दिएको आरक्षण पनि छाड्नु हुँदैन ।’ 
सफलताको लक्ष चुम्नका लागि सङ्घर्ष गरिरहेका महिलाहरूलाई ‘लक्ष’ राख्न अनि त्यसलाई हाँसिल गर्न प्लान बनाउन सुझाउँछिन् । उनी भन्छिन्, ‘गोल मिट गर्ने प्लान बनाउँदा समस्या आउँछ तर समस्या देखेर डराउनु पर्दैन ब्यालेन्स गरेर जान सक्नुपर्छ ।’ 

फोर–जीदेखि चाइना–नेपाल कनेक्टिभिटीसम्म 
नेपाल टेलिकम अहिले चौथो जेनेरेशन अझ भनौँ ‘फोर–जी युग’मा आइपुगेको छ । फोर–जी प्रविधिमार्फत डाटाबाट भ्वाइस र मल्टिमिडिया पनि दिने प्रविधि राजभण्डारीले नेपालमा पहिलो पटक २०१७ जनवरीमा सुरु गरेकी थिइन् । 

‘पोखरा र काठमाडौंबाट सुरु गरिएको फोर–जी प्रविधि अब देशभर फैलाउँदै छौं’ प्रफुल्ल मुद्रामा उनले भनिन्, ‘सार्वजनिक खरिद ऐनमा टेकेर हामीले ग्लोबल टेन्डर गरिसकेका छौँ, उक्त टेन्डर अहिले मूल्याङ्कनको चरणमा छ, त्यसपछि सातवटै प्रदेशमा एकै पटक फोर–जी बिस्तार हुनेछ ।’

फोर–जी नेपाल टेलिकमको टर्निङ प्वाइन्ट हो । नेपाल टेलिकमको सय वर्षको इतिहासमा काठमाडौँ र पोखराका मोबाइल प्रयोगकर्ताले हाइस्पिड डाटाको मजा लिन पाएका छन् । त्यो सुविधा सातवटै प्रदेशमा विस्तार हुँदा नेपाल टेलिकमले इतिहासमा अर्को फड्ेको मारिसकेको हुनेछ, जुन कामिनीकै कार्यकालमा सम्पन्न हुँदै छ । 

‘सय वर्षको इतिहासमा अझै राम्रो गर्न सकेकोमा खुसी छ तर पनि अझै केही गरौँ भन्ने मलाई लागिरहेको छ’ कामिनी भन्छिन्, ‘टेलिकममा धेरै अवसर देखिरहेको छु । कम्पनीलाई अझै माथि ल्याउन सक्छौँ जस्तो लाग्छ । त्यसका लागि लागिरहेको छु ।’  

कामिनी कार्यकालको अर्को उपलब्धि भनेको चाइना टेलिकम र नेपाल टेलिकमबीच इन्टरनेट कनेक्टिभिटीको सुरुवात भएको छ । रसुवागढीबाट पहिलो पटक नेपाल–चीन इन्टरनेट कनेक्टिभिटीको सुरुवात भएको छ । 

नेपाल टेलिकमको बिलिङ सिस्टममा पनि अहिले परिवर्तन भएको छ, वाई–म्याक्स, सीडीएमए र एडीएसएल प्रयोगकर्ताहरूले एउटै बिल पाउने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । 

त्यस्तै कम्पनीको साधारण सभा इतिहासमा पहिलो पटक समयमा भएको छ । ‘पहिलो पटक सबैभन्दा बढी ५५ प्रतिशत डिभिडेन्ड दिएका छौँ, कर्मचारीको वृत्ति विकास समयमा भएको छ’ कामिनी भन्छिन्, ‘कम्पनीमा सवारी–साधन प्रयोगसम्बन्धी नयाँ नीति लागू भएको छ, जसका कारण सवारी–साधनको दुरूपयोग रोकिएको छ ।’ 

राजभण्डारीकै कार्यकालमा लामो समयदेखि हुन नसकेको कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव भएको छ । ‘नमस्ते क्रेडिट’को सफ्ट लन्च भइसकेको छ, जुन योजनामार्फत अब प्रिपेड मोबाइल प्रयोगकर्ताले सर्भिस चार्ज बिना लोन प्राप्त गर्न सक्छन् । 

पुरुषलाई भेदभाव गरेको छैन, महिला अगाडि बढे !

नेपाल टेलिकममा १२ प्रतिशत महिला कर्मचारी छन् । माथिल्लो तहमा एक प्रतिशत पनि महिला छैनन्, सायद । तर महिला एमडी भएर सफलतापूर्वक कम्पनी ड्राइभ गरेपछि तल्लो तहका महिला कर्मचारीमा समेत हौसला मिलेको बताउँछिन् राजभण्डारी । उनी भन्छिन्, ‘हामी किन नसक्ने भनेर आफू आफैंमा विकास गरिरहेको देखिरहेको छु । मैले पनि यहाँका महिला कर्मचारीलाई आफ्नो शैक्षिक योग्यतामाथि बढाउन, स्किल बढाउन र लक्ष्य राखेर अगाडि बढ्न हौसला दिने गरेकी छु ।’  

‘महिला प्रमुख हुँदा कतै महिलाको पक्षमा काम गरेर पुरुष कर्मचारीलाई भेदभाव त गर्नुभएको छैन ?’ उनी भन्छिन्, ‘छैन छैन, उहाँहरूलाई मैले भेदभाव गरेको छैन् । मैले भन्ने गरेको छु, तपाईंहरू मलाई महिला नठान्नुस्, हामी समान हौँ ।’ 

टेलिकमको इतिहासमा प्रबन्ध निर्देशक मात्र हैन, विभगीय प्रमुखका रूपमा पनि महिला अगाडि बढिसकेको छन् । जीएसएम मोबाइलको विभागीय प्रमुखप्रतिमा प्रधान महिला छिन् । त्यस्तै कम्पनी सचिव पनि महिला कर्मचारीले नै ड्राइभ गरेको अवस्था छ । टेलिकमका १५ विभागमध्ये दुई जना विभागीय प्रमुख महिला छन् । 

‘उहाँहरू महिला भएर हैन, आफ्नो सीप र क्षमताले त्यहाँ पुग्नुभएको हो’ कामिनी भन्छिन्, ‘आज प्रवक्ता पनि महिला हुनुहुन्छ अनि मेजर प्रोजेक्ट महिलाले ड्राइभ गरेका छन् ।’ 

१ करोड ८० लाख जनतालाई सेवा दिइरहेको टेलिकमका १३ विभागीय प्रमुख पुरुष भए पनि उनीहरूबाट प्रवन्ध निर्देशकका रूपमा कामिनीले राम्रो सपोर्ट पाइरहेकी छिन् । यसरी आधा आकाश ओगटेका नारी समुदायको लागि कामिनी राजभण्डारी एक ‘प्रेरक व्यक्तित्व’का रूपमा उदाउन सफल भइसकेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप