बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीलाई ‘हिमाली जिल्ला’ बनाउन पहल

मङ्गलबार, २२ फागुन २०७४, १६ : १६
मङ्गलबार, २२ फागुन २०७४

–कमल खत्री 

म्याग्दी– संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) सहित दर्जनौँ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको हैसियत दिनुपर्ने माग उठेको छ । जिल्ला समन्वय समितिको हालै बसेको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनाँै हिमशृङ्खला रहे पनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाका रुपमा सूचीकृत गरिएका कारण हिमाली जिल्ला बनाउन माग गर्ने निर्णय गरेको हो । 

जिल्लाको बढी भूभाग हिमक्षेत्रभित्र पर्ने भए पनि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसूची–१ मा म्याग्दीलाई पहाडी जिल्लाका रुपमा राखिनु त्रुटिपूर्ण रहेकाले हिमाली जिल्लामा समावेश गर्न सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । “हिमालै हिमालले घेरिएको जिल्लाको वास्तविक पहिचान नै ओझेलमा परेको छ, जिल्लाको हिमाली पहिचान खोसिँदा विकास निर्माणदेखि राज्यका महत्वपूर्ण अवसरबाट समेत वञ्चित हुनुपर्ने विडम्बनाको अन्त्य गर्न पहल गरेका छौँ,” जिसस प्रमुख केसीले भने। 

उनले हिमाली जिल्ला कायम गराउने मागलाई प्रदेशसभा र प्रतिनिधिसभा हुँदै सरकारसमक्ष पेश गरिने बताए । गत भदौमा सरकारले चार जिल्लालाई हिमाली जिल्लामा समावेश गरेको थियो । सोह्र वटा जिल्ला हिमाली जिल्लामा रहेकामा स्थानीय तहको शासन सञ्चालनसम्बन्धी विधेयकमा पहाडी जिल्लाको सूचीमा रहेका गोरखा, धादिङ, रामेछाप र पूर्वी रुकुमलाई हिमाली जिल्लामा वर्गीकरण गरिएसँगै अहिले हिमाली जिल्लाका रुपमा २० जिल्ला सूचीकृत छन् । 

म्याग्दीलाई हिमाली जिल्ला कायम गराउन आवश्यक मापदण्ड पुग्दासमेत पहाडी जिल्लाकै रुपमा कायम गर्नु विडम्बना रहेकाले यस विषयमा प्रदेश सरकारमार्फत संघीय सरकारको ध्यानाकर्षण गराउन संसदमा कुरा उठाउने प्रदेश सांसद विनोद केसीले बताए । उनले ४ नं प्रदेशको नामकरणसमेत हिमालकै पहिचानबाट राख्न आफूले राय प्रस्तुत गर्ने बताउनुभयो । म्याग्दीका जनतालाई पनि हिमाली जिल्लाका जनताले सरह राज्यका स्रोत र साधनमा पहुँच बढाउन हिमाली जिल्ला कायम गराउन आवश्यक रहेको उनको भनाइ छ । 

जिल्लाका दुई गाउँपालिकाको नामकरणसमेत हिमालकै नामबाट गरिएको छ । मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालबाट धौलागिरि गाउँपालिका र नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालबाट अन्नपूर्ण गाउँपालिका नामकरण गरिएको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा धौलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरा रहेका छन् । मानापाथी हिमालको चुचुरोसमेत मुदीमै पर्छ । धौलागिरि हिमालले रघुगंगा गाउँपालिकाको कुइनेमंगले र चिमखोलालाई समेत समेटेको छ । 

जिल्ला सदरमुकाम बेनीदेखि २६ कोष टाढाको दूरीमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जामा गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल रहेका छन् । पुथा हिमाल म्याग्दीको गुर्जा, डोल्पा र रुकुमको सिमानामा पर्छ । जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिकामा समेत हिमशृङ्खला रहेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अन्नपूर्ण प्रथमको आधार शिविर नै रहेको छ । बराह शिखर हिमालसमेत रहेको नारच्याङमा निलगिरि हिमालको दक्षिण र पूर्वी मोहडासमेत पर्छ । 

अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्वारतर्फको लेकले अन्नपूर्ण दक्षिण भेगलाई समेटेको छ । यिनै हिमालसँगै म्याग्दीमा दर्जनौँ हिमालका चुचुरा रहेका छन् । हिमालै हिमाल भएको म्याग्दी जिल्ला अहिलेसम्म भने पहाडी जिल्लाका रुपमा सूचीकृत छ । जिल्लाको अन्नपूर्ण, रघुगंगा र धौलागिरि गाउँपालिका प्रत्यक्ष रुपमा हिमालसँग जोडिएका कारण जिल्लालाई हिमाली जिल्लाका रुपमा सूचीकृत गराउन संसद्मा पहल गर्ने म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाले बताए । 

“गएको संसद्मा चार वटा जिल्लालाई हिमाली जिल्लामा थप गर्दासमेत म्याग्दीलाई छुट्याइएको रहेछ, हिमालै हिमाल भएको म्याग्दीलाई हिमाली जिल्ला कायम गराउन पहल गर्छु,” सांसद थापाले भने । म्याग्दीलाई हिमाली क्षेत्रमा समावेश गर्न नसक्नु नीतिगत र प्रक्रियागत त्रुटिमात्रै नभएर भौगोलिक विभाजनमा गरिएको गम्भीर कमजोरी र अन्याय भएको यहाँका सरोकारवालाको गुनासो छ । 

हिमाली क्षेत्रमा सूचीकृत नभएकै कारण पर्यटन रोयल्टी कम आउने गरेको छ भने हिमाली भेगले समेटिएका जनताले दुर्गमको सुविधा पाउन सकेका छैनन् । विशेष गरी हिमाली बस्तीमा विद्यार्थी संख्या कम हुने तर पहाडी जिल्लामा पुग्नुपर्ने विद्यार्थी संख्या नपुग्दा स्थानीयस्तरमा कतिपय विद्यालयले स्वीकृत नपाउने समस्या विद्यमान छ । “हामी हिमालको काखमा बस्छाँै तर, हामीलाई पहाडी जिल्लाको नागरिकका रुपमा सूचीकृत गरिएको छ, यो हामीलाई मान्य छैन भनेर आवाज उठाउँदै आएका छौं, अहिलेसम्म सुनुवाइ हुन सकेको छैन,” धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने । 

हिमाली बस्तीसमेत रहेको म्याग्दीले पहाडी जिल्लाका रुपमा सूचीकृत हुँदाको मार स्थानीय तह पुनःसंरचनाका लागि तयार गरेको जनसंख्याको मापदण्डमा पनि खेपेको छ । जिल्लामा पहाडी भूगोलको जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्दा कतिपय वडालाई अहिले पनि आफ्नो गाउँपालिकाको केन्द्रमा पुग्न अपायक परेको छ । यसअघि कायम रहेको धौलागिरि अञ्चलको नामकरणसमेत म्याग्दीकै मुदीमा अवस्थित धौलागिरि हिमालकै नामबाट गरिएको थियो । 

म्याग्दीमा रहेका हिमाली शृंखलामा ५१ वटा चुचुरा रहँदा पनि पहाडी जिल्लामा सूचीकृत भई जिल्लाको वास्तविक पहिचान नै गुमे सरह भएको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ बताउछन् । हिमाली भूगोल भएको म्याग्दी पहाडी जिल्लामा पारेका कारण बजेट विनियोजनदेखि पर्यटन प्रवद्र्धनमा समेत यसले प्रत्येक्ष असर पु¥याएको छ । हिमाल भएको म्याग्दी जिल्लाको पहिचान नै दबाइएका कारण पनि जिल्लामा पर्यटन रोयल्टीसमेत न्यून मात्रामा आउने गरेको छ । 

हिमाल आरोहणका लागि आउने आरोही पर्यटकबाट वर्षेनी पाउनुपर्ने रोयल्टी जिल्लामा नआएको भन्दै तत्कालीन जिविसले हिमाली जिल्लामा पर्ने प्रमाणसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई पत्राचारसमेत गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप