बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लालबाबु पण्डितज्यू, यसरी डिजेलका गाडीले बढाउँदैछन् प्रदूषण

मङ्गलबार, २२ फागुन २०७४, १३ : ५५
मङ्गलबार, २२ फागुन २०७४

अधिकांश सार्वजनिक यातायात प्रदूषण चेकजाँचमा फेल !
 

आइतबार करिब २ घण्टा हामी एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय अन्तर्गतको भेहिकल फिटनेस टेस्ट सेन्टरमा बस्यौँ । यहाँ सवारीसाधनको प्रदूषण चेकजाँच गर्ने गरिन्छ । सवारीसाधनको साइलेन्सर अर्थात् धुवाँ फाल्ने स्थानमा मेसिन लगाएर कम्प्युटरको सहायतबाट सवारीसाधनको प्रदूषणको मापन अर्थात् चेकजाँच गर्ने गरिन्छ ।

आइतबार एकान्तकुनामा गरिएको सवारीसाधनको चेकजाँचमा डिजेलबाट चल्ने अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’ भए । २ घण्टाको समयभित्र चेकजाँज गरिएका ४६ वटा सवारीसाधनमध्ये ३२ वटा सवारीसाधन डिजेलबाट चल्ने सवारीसाधन थिए । डिजेलबाट चल्ने ३२ वटा सवारीमध्ये २७ वटा सार्वजनिक अर्थात् कालो प्लेट भएका भाडाका सवारीसाधन थिए । जसमा २१ वटा सवारीसाधन सवारी जाँचपासमा फेल भए । यसलाई प्रतिशतमा हेर्ने हो भने झण्डै ७८ प्रतिशत हुन आउँछ ।

कसरी हुन्छ सवारीसाधनको प्रदूषण जाँच ?

नेपाल सरकारले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको नियमित प्रदूषण चेकजाँच गराउनुपर्ने नियम बनाएको छ । यसका लागि डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँमा एचएसयू (HSU) अर्थात् धुवाँको बाक्लोपनाको मापन गरिन्छ भने पेट्रोलबाट चल्ने सवारीसाधनमा हाइड्रोकार्बन अर्थात् एचसी (HC)  र कार्बन मोनोअक्साइड अर्थात् (CO)  को जाँच गर्ने गरिन्छ । नेपाल सरकारले तोकेको मापदण्डअनुसार पेट्रोलबाट चल्ने सवारीसाधनमा हाइड्रोकार्बनको मात्रा १ हजार पीपीएम (हाइड्रोकार्बनको मात्रा नापिने सूचक) र धुवाँमा कार्बन मोनोअक्साइडको मात्रा ३ प्रतिशतसम्मलाई छुट दिएको छ । यसको अर्थ अधिकतम सीमा भनेको यही हो ।

त्यसैगरी डिजेलबाट चल्ने सवारीसाधनलाई दुई श्रेणीमा विभाजन गरिएको छ । सन् १९९७ भन्दा पहिले बनेको सवारीसाधनको एचएसयू अर्थात् धुवाँमा धुलोको कणको मात्रा ७५ भन्दा कम हुनुपर्ने उल्लेख छ भने १९९८ भन्दा पछाडिको सवारीसाधनको एचएसयू ६५ मानेको छ । ६५ एचएसयू भनेको २.४४ K-K  भनेको धुवाँमा धुलोको कण मापन गर्ने विधि हो) हुन्छ  । त्योभन्दा बढी भएको पाइएमा त्यसलाई प्रदूषण भएको मानिने छ ।

किन हुन्छन् सवारीसाधन प्रदूषण जाँचमा फेल ?
सवारीसाधनको नियमित मर्मतसम्भार गरे यसले प्रदूषणमा कमी ल्याउँछ । तर मानिसहरू बिरामी हुँदा मात्रै अस्पताल गएजस्तै सवारीसाधन पनि बिग्रिएमा मात्रै मर्मत गर्ने गरिन्छ । तर सवारीसाधनको नियमित चेकजाँच र मर्मतसम्भार आधारभूत विषय हुन् । सवारीसाधनमा समस्या नआए पनि यस्ता सवारीसाधनमा मोबिल परिवर्तन गर्ने, एअर फिल्टरलगायतका सामग्री फेर्नेलगायतका काम समय समयमा गरिरहनुपर्छ । पेट्रोलबाट चल्ने सवारीसाधनले फाल्ने एचसीको मापन भनेको नबलेको इन्धन हो । यसको अर्थ कि त इन्धनमै फोहोर छ वा त इन्जिनले राम्रोसँँग काम गरेको छैन । त्यसैगरी पेट्रोलबाट चल्ने सवारीसाधनले फाल्ने सीओ अर्थात् कार्बन मोनोअक्साइड भनेको इन्धन राम्रोसँग नबलेर निस्कने धुवाँ हो ।

मुख्यतः सार्वजनिक सवारीसाधनहरू दिनभर सडकमा गुडिरहने भएकाले एकातिर उनीहरूसँग मर्मतको समय हुँदैन भने अर्कोतिर कमाइकै पछाडि दौडिने भएकाले नियमित मर्मतमा ध्यान नै दिँदैनन् । जसका कारण यस्ता सवारीसाधनको प्रदूषण बढी नै छ ।

डिजेलबाट चल्ने सवारीसाधनको प्रदूषण अत्याधिक बढी

करिब एक साताअघि वातावरणमन्त्री लालबाबु पण्डित आफै रत्नपार्कमा रहेको प्रदूषण जाँच केन्द्रमा बसे । त्यहाँ वातावरण विभाग, इसिमोड लगायतका संस्थाले वायुप्रदूषणको मात्रा नाप्नका लागि आफ्नो मेसिन राखेको छ । नेपाल सरकारको मापदण्डअनुसार हावामा हुने पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रति घनमिटरसम्मलाई स्वच्छ भनेको छ । तर यस दिन रत्नपार्कमा धूलोमा प्रदूषणको मात्रा अर्थात् पीएम २.५ को मात्रा मापडण्डभन्दा बढी थियो भने हावामा ब्ल्याक कार्बनको मात्रा पनि अत्यधिक थियो । यद्यपि ब्ल्याक कार्बनको स्ट्यान्डर्ड भने अझै बनेको छैन । हावामा ब्ल्याक कार्बनको मात्रा बढ्नुको मुख्य कारण डिजेलबाट चल्ने सवारीसाधनको धुवाँ हो ।

सन् २०१५ मा भारतमा गरिएको एक अध्ययनअनुसार भारतको वायुप्रदूषणको कारकमध्ये ७० प्रतिशत कारक सवारीसाधनको धुवाँ हो । ७० प्रतिशतभित्र पनि ६२ प्रतिशत प्रदूषणको कारक डिजेलबाट चल्ने सवारीसाधन हुन् । यदि ६२ प्रतिशतलाई शतप्रतिशत मान्ने हो भने सवारीसाधनबाट हुने प्रदूषणमध्ये झण्डै ८९ प्रतिशत प्रदूषण डिजेलबाट चल्ने सवारीसाधनले गराउने गर्छन् । भारतमा जस्तै नेपालमा पनि अवस्था उस्तै छ । सन् २००५ मा गरिएको एक अध्ययनअनुसार नेपालमा भएको वायुप्रदूषणमध्ये ६० प्रतिशत कारक सवारीसाधन नै हुन् । तर २००५ पछिको १३ वर्षमा सवारीसाधनको चाप अत्यधिक बढेकाले प्रदूषणको दर पनि उत्तिकै बढेको छ ।

फितलो अनुगमन, सवारीको लापरवाही

हुन त नेपाल सरकारले सवारीसाधनको प्रदूषण नियन्त्रणका लागि योजना नै नबनाएको भने होइन । यद्यपि फितलो अनुगमन र सवारीधनी आफ्नो जिम्मेवारीबाट पन्छँदा सवारीसाधनको प्रदूषणले सीमा नाघेको छ । प्रदूषित सवारीसाधनका कारण स्वास्थ्यमा गम्भीर समस्या थपिँदै गए पनि न नियमनकारी निकायले प्रभावकारी अनुगमन गरेका छन्, न त सवारीधनी आफै सचेत बनेका छन् । जसका कारण सवारीसाधनको प्रदूषण दैनिक बढिरहेको छ ।

अहिले सवारीसाधनको खरिदबिक्री वा नवीकरण गर्दा अनिवार्य रूपले प्रदूषण जाँचपास गराउनुपर्छ । प्रदूषण जाँचपासका लागि लाग्ने शुल्क भनेको मात्रै ३५ रुपियाँ हो । योबाहेक निवेदनमा १० रुपियाँको टिकट टाँसे पुग्छ । तर समस्या नवीकरण शुल्कमा होइन । समस्याचाहिँ सवारीसाधनको नियमित मर्मतसम्भार हो । जुन सवारीधनीले नियमित मर्मतसम्भार गर्ने गरेका छन्, ती सवारीसाधनको प्रदूषण कम छ । जसले नियमित मर्मतसम्भार गर्दैनन्, उनीहरूको प्रदूषणको मात्रा एकदमै बढी छ ।

प्रदूषण जाँचपास प्रमुख भन्छन्, अधिकांश सवारीसाधन फेल

एकान्तकुनास्थित भेहिकल फिटनेस टेस्ट सेन्टरका प्रमुख मेकानिकल इन्जिनियर यमबहादुर क्षेत्रीका अनुसार अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण जाँचमा फेल हुने गरेका छन् । यस्ता सवारीसाधनले नियमित मर्मतसम्भार नगर्ने र धेरै गुड्ने भएको कारणले उनीहरू प्रदूषण जाँचमा फेल हुने गरेका छन् । ‘मुख्यत डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनहरू फेल हुने गरेका छन् । त्यसपछि हामी उनीहरूलाई मर्मत गरेर फेरि आउन भन्छौँ ।’

एक पटक सवारीसाधनको प्रदूषण जाँचपास गरेपछि एक वर्षका लागि हरियो स्टिकर दिने गरिन्छ । यद्यपि एक वर्षभित्रै सवारीसाधनले पुनः प्रदूषण फैलाएमा वा मापदण्डभन्दा बढी हानिकारक धुवाँ फालेमा मर्मत गरेर चलाउनुपर्छ । बेलाबेलामा गर्ने सरकारी निकायको आकस्मिक अनुगमनमा यस्ता सवारीसाधन फेल भएमा उनीहरूलाई एक हजारसम्म जरिवाना गराइन्छ र सवारीसाधन मर्मत गर्न लगाइन्छ । यसको अर्थ हरियो स्टिकर पाएको एक वर्षसम्म ढुक्कसँग सवारीसाधन चलाउन पाइन्छ भन्ने होइन, बरु नियमित मर्मतसम्भार गरी कन्डिसनमा राख्ने भनिएको हो ।

ट्याक्सीको प्रदूषण पनि उस्तै
डिजेलबाट चल्ने सवारीसाधन मात्रै होइन, पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदूषण पनि उस्तै छ । डिजेलबाट चल्ने सवारीसाधनको तुलनामा कम प्रदूषण गराउने भए पनि मारुती ८०० मोडलको पुराना ट्याक्सीको प्रदूषणको मात्रा पनि अत्यधिक बढी छ । सडकमा बढी गुड्ने तर नियमित मर्मतसम्भार कम गर्ने भएकाले १० वर्ष नाघेका यस्ता ट्याक्सी पनि प्रदूषण जाँचमा बढी फेल हुने गरेको बताउँछन्, भेहिकल फिटनेस टेस्ट सेन्टरका प्रमुख मेकानिकल इन्जिनियर यमबहादुर क्षेत्री ।

महानिर्देशक भन्छन्, उजुरी आएको २४ घण्टाभित्रै कारवाही गर्छु

रूपनारायण भट्टराई यतिबेला यातायात व्यवस्था विभागको महानिर्देशक छन् । लालबाबु पण्डित वातावरण मन्त्री भएलगत्तै विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालयमै बोलाएर सवारी प्रदूषण नियन्त्रणबारे कुरा गरे । स्पट एक्सनको कुरादेखि लिएर प्रदूषण न्यूनीकरणका विषयमा उनले निर्देशन पनि दिए, ‘प्रदूषण फैलाउने सवारीसाधनलाई तत्काल कारवाही गर्नु ।’

त्यसपछि विभागका महानिर्देशक भट्टराईले पनि २४ घण्टे कारवाही प्रक्रियालाई तीव्रता दिन थाले । यदि कुनै पनि सवारीसाधनले अत्यधिक धुवाँ फालेमा त्यस्ता सवारीसाधनबारे ट्राफिक प्रहरीको हटलाइन १०३ वा महानिर्देशककै भाइबार नम्बर ९८५१०९५४५० मा उजुरी गर्न आग्रह गरेका छन् । जनताको गुनासोको तत्काल सम्बोधन हुने र दोषी प्रमाणित भए २४ घण्टाभित्रै कारवाही गर्ने भट्टराईले दाबी गरे ।

प्रदूषण नियन्त्रणका लागि जनताको भूमिका पनि महत्वपूर्ण रहने भन्दै त्योबाहेक सवारीसाधनले लापरवाही गरे, यात्रुलाई दुव्र्यवहार गरे, बढी भाडा असुल गरे, ज्येष्ठ नागरिक, घाइते, अपाङ्ग, विद्यार्थी आदिलाई भाडामा छुट नदिए पनि उजुरी गर्नसमेत महानिर्देशक भट्टराईले आग्रह गरे ।

प्रदूषण नियन्त्रणका लागि सवारीसाधनलाई सडकमै चेकजाँज गर्ने कार्यलाई तीव्रता दिइएको भन्दै अब प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालगायतका सहरी स्थानमा प्रदूषण चेकजाँचलाई कडाइ गरिने पनि महानिर्देशक भट्टराईले दाबी गरेका छन् ।

सवारीसाधनबाट निस्कने धुवाँले कस्तो समस्या ल्याउँछ ?

यातायातका साधनबाट निस्कने धुलो र धुवाँले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने गरेको छ । हावामा हुसने र आँखाले देखिने धूलोले सामान्य रुघाखोकी मात्रै लगाए पनि आँखाले नदेखिने र सवारीसाधनको धुवाँले मानव स्वास्थ्यलाई गम्भीर असर गर्नसक्छ ।

वीर अस्पतालमा कार्यरत क्यान्सररोग विशेषज्ञ डाक्टर आरती शाहका अनुसार सवारीसाधनको धुवाँले पार्ने समस्या सामान्य धुवाँले गर्नेभन्दा कैयौँ गुणा बढी हुन्छ । सवारीसाधनबाट निस्कने, कार्बन डाइअक्साइड, कार्बनमोनो अक्साइड, हाइड्रोकार्बन, ब्ल्याक कार्बन आदिले मानव स्वास्थ्यलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको छ । सवारीसाधनबाट निस्कने यस्ता धुवाँले तत्कालका लागि रुघाखोकी, दम, निमोनियालगायतका स्वास्थ्य समस्या ल्याए पनि कालान्तरमा यसले क्यान्सरसम्म गराउनसक्ने शाहको चेतावानी छ । अहिले पनि चिसो समयमा यस्ता बिरामीको चाप बढी हुन्छ । कारण चिसो नभएर चिसो मौसममा यस्ता धुलोको कण माथि माथिसम्म नउड्ने र सतहमा तैरिने भएकाले समस्या बढी भएको उनको ठम्याइ छ । चुरोटका कारणले भन्दा पनि अहिले यस्तै प्रदूषित हावाका कारणले क्यान्सरका रोगी बढिरहेका छन् । उनी भन्छिन्, ‘अबको १० वर्षपछि क्यान्सर रोगीको सङ्ख्या दुई गुणाले बढ्छ ।’

कसरी रहने सुरक्षित ?
हावामा हुने यस्ता प्रदूषित तत्वबाट पूरै छुट्कारा पाउन त सम्भव छैन । यद्यपि हामीले केही सुरक्षाका उपाय भने अपनाउन सक्छौँ । अहिले बिहानको समयमा प्रदूषणको मात्रा बढी हुने भएकाले मर्निङवाक नगरेकै राम्रो भन्छिन्, डाक्टर आरती । त्यसबाहेक यात्रा गर्दा पनि सकेसम्म दिउँसोको समय उपयुक्त हुने उनी बताउँछन् । यसबाट बच्ने मुख्य उपाय भनेको सुरक्षित मास्क नै हो । अहिले बजारमा पाउने साधारण मास्क र मेडिकल मास्कले यस्तो प्रदूषण छेक्न नसक्ने भन्दै एन नाइन्टी फाइभ (N95)  मास्क लगाए केही हदसम्म सुरक्षित हुन सकिने उनी बताउँछन् । साधारण मास्कभन्दा यस्तो मास्क केही महँगो हुने भएपछि पीएम २.५ सर्टिफाइड भएको ल्ढछ मास्कले यस्तो प्रदूषणबाट केही हदसम्म बचाउने डाक्टर आरती शाहको भनाइ छ ।

x

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप