शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालकै अग्लो चिया

मङ्गलबार, २२ फागुन २०७४, ११ : ५६
मङ्गलबार, २२ फागुन २०७४

सूर्योदयको जिल्ला भनेर चिनिने इलामलाई पहाडकी रानीसमेत भन्ने गरिन्छ । इलामको सुन्दरता चियासँग समेत जोडिएको छ । इलाममा उत्पादित चिया विश्वप्रसिद्ध मानिन्छ । भीरपाखामा समेत पैसा फलाउने इलाममा चियासँग सम्बन्धित ऐतिहासिक उदाहरणहरू भेटिन्छन् । त्यसमध्ये एक हो– करफोक विद्यामन्दिर उच्च माध्यमिक विद्यालय पञ्चकन्या इलाममा रहेको चियाको बोट ।

करफोक विद्यामन्दिर उमावि प्राङ्गणको उत्तर–पश्चिममा रोपिएको चिया नेपालकै अग्लो भनेर दाबी गरिएको छ । चिया विस्तार योजना फिक्कल इलामका कृषि प्राविधिक विवेक भण्डारी भन्छन्, ‘हामीले नेपालका पुराना चियाका बोट अध्ययन र संरक्षण गर्दै आएका छौं । रोपिएकामध्ये करफोकको चियाको बोट अग्लो हुन सक्छ । अध्ययन जारी भएकाले नेपालकै अग्लो हो भनेर अहिले नै भन्न सकिँदैन ।’ कार्यालयबाहिर भएकाले चिया बोटको उचाइ भण्डारीले भन्न सकेनन् ।

करफोक विद्यामन्दिर उमाविले भने नेपालकै अग्लो चिया भनेर प्रचार–प्रसार गर्दै आएको छ । यसो भन्न थालिएपछि चियासँग सम्बन्धित इलाम आइपुग्दा चियाको बोट हेर्न करफोक आउने करफोक विद्यामन्दिर उमावि प्रधानाध्यापक दीनराज निरौलाले बताए । प्रधानाध्यापक निरौलाले थपे, ‘केही समयअघि स्थानीय उदय चापागाईंले डेनमार्कका नागरिकलाई चियाको बोट देखाउन ल्याएका थिए । चियाको बोट हेर्न स्वदेशीमात्रै होइन, विदेशीसमेत आउने गरेका छन् ।’ 

नेपालकै अग्लो चिया भनेर प्रचार–प्रसारपछि चिया विस्तार योजना फिक्कलले सो चियाको बोट संरक्षणका लागि घेराबारा गरेको कृषि प्राविधिक भण्डारीले जानकारी गराए । उनले सुनाए, ‘घेराबारापछि सो चियाको केही हाँगाबिँगा काटेर रिबनले बाँधेका छौं । हाँगाबिँगा काटेको ठाउँमा नयाँ टुसा अंकुरण भएपछि नर्सरीमा सार्ने योजना छ । नर्सरी विकसित भएपछि चियाखेती गरिनेछ । त्यसपछि सो चियाको गुणस्तर मापन गर्न सकिन्छ ।’ 

उत्पादित चियाको नाम ‘करफोर चिया’ राख्ने योजना रहेको प्रअ निरौलाको भनाइ छ । 

ऐतिहासिक बन्दै गएको सो चियाको बोट स्वर्गीय रानी ऐश्वर्यले रोपेकी हुन् । ‘मैले पनि अरूबाट यही सुनेको हुँ,’ निरौलाले प्रस्ट्याए, ‘कन्याम चिया बगान उद्घाटन गर्न इलाम आएका बखत स्व. रानीको हातबाट यो चिया रोपिएको ।’ उमावि प्राङ्गणमा राजा वीरेन्द्र र रानी ऐश्वर्यमध्ये राजाले रोपेको चिया नसरेको सोही उमाविमा अध्यापनरत देवी वाशिष्टले सुनाए ।

रानीले त्यतिबेला रोपको चिया हिजोआज नेपालकै अग्लो चिया भन्न थालिएको छ । रानीले रोपेको चिया काँटछाँट गरिएन, चिया पनि टिपिएन । करफोक विद्यामन्दिर उमाविकी पूर्वविद्यार्थी सुमित्रा राईको बुझाइ छ, ‘ऐतिहासिक बनाउन त्यसो गरिएको हुन सक्छ ।’ 

रानीले रोपेको चियाको बोट हेर्दा÷देख्दा उमाविमा अध्ययनरत विद्यार्थी, अध्यापनरत शिक्षक र अभिभावकलाई जेठ १९ ले झस्काउँछ । संवत् २०५८ जेठ १९ गते अकल्पनीय दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । 

तस्बिर : दीपेन्द्र राई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप