शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले  गल्ती स्वीकार गर्यो

सोमबार, २१ फागुन २०७४, २१ : ३६
सोमबार, २१ फागुन २०७४

दार्चुला- नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ । 

भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो । महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन् । अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति लिएर मात्रै काठे पुलबाट आवागमन सञ्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ । नेपालको व्यास गाउँपालिका वडा नं २ का विभिन्न ठाउँमा चार वटा काठेपुल नेपालको सहमतिविनै लगाएको थियो । 

नेपाली भूमिमा बनाइएको बाटो केन्द्र सरकारको अनुमतिपछि मात्रै सञ्चालन गर्ने आजको बैठकमा सहमति भएको हो । भारतीय पक्षले व्यास – २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चार पुल निर्माण गरेको थियो । साथै नेपाली भूमिमा डेढ किमी सडक र झण्डै दुई किमी गोरेटो बाटोसमेत निर्माण गरिएको छ । 

बैठकमा नेपालको बांगबगर पारि भारतको खोतिलाबाट खसेको पहिरो व्यवस्थापनका विषयमा समेत दुई देशका प्राविधिकको टोलीले अध्ययन गर्ने सहमति भएको नेपालका तर्फबाट बैठकमा सहभागी प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । 

बैठकमा सीमापार अपराध नियन्त्रण, नेपाल भारत जोड्ने प्रस्तावित झोलुङ्गे पुल, बांगबगर खोतिला पहिरो, व्यास क्षेत्रका बासिन्दाको आवतजावत, वन तथा वन्यजन्तुको ओसारपसार र चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको दार्चुलाका प्रजिअ जनार्दन गौतमले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप