बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यी प्रधानमन्त्री, जसले गर्दैछन् नेपालको ‘अर्थपूर्ण’ भ्रमण

सोमबार, २१ फागुन २०७४, १० : २९
सोमबार, २१ फागुन २०७४

एजेन्सी– १९८८ मा राजनीतिमा प्रवेश गर्दैगर्दा साहिद खाकान अब्बासले पाकिस्तानको प्रधानमन्त्री हुन्छु भनेर सोच्न सक्ने कुरा पनि थिएन । इतिहास हेर्ने हो भने पाकिस्तान निर्माणयता त्यहाँको राजनीतिमा सेना, भुट्टो र सरिफको मात्र शासन रह्यो । राजनीतिमा लगभग तीन दशक यात्रापछि सेना ब्यारेकमा, भुट्टो विपक्षीमा र सरिफ भ्रष्टचार काण्डमा जुद्धैगर्दा अब्बास पाकिस्तानका प्रधानमन्त्री भएका छन् ।

पाकिस्तानको सर्वोच्च अदालतले नवाफ सरिफलाई भ्रष्टचारी घोषित गरेर प्रधानमन्त्रीका लागि अयोग्य रहेको भनेपछि सरिफले २९ जुलाई २०१७ मा राजीनामा गरे ।

नवाफले अब्बासलाई दुई कारणले प्रधानमन्त्रीमा छानेका थिए । पहिलो उनको नवाफ परिवारप्रतिको निष्ठा र दोस्रो नवाफका परिवारका अर्को व्यक्ति संसदको सदस्य नभएको परिस्थिति । प्रारम्भमा नवाफले अब्बासलाई ४५ दिनका लागि मात्र प्रधानमन्त्री बनाइएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउँदै

प्रारम्भमा पञ्जाब प्रान्तमा मुख्यमन्त्री रहेका नवाफका भाइ सेहबाज सरिफलाई नवाफको कारबाहीपछिको लाहोरमा खाली भएको पदबाट राष्ट्रिय सभाका लागि निर्वाचित गराएर संसदमा ल्याउने योजना थियो ।

पछि नवाफले पाकिस्तानको ३४२ संसदीय सिटमा १८३ सिट रहेको पञ्जाब राज्यमा भाइको सट्टा अरू नेतृत्वको निवार्चनमा जाने दाउ नखेल्ने निर्णय गरे । त्यो निणर्यसँगै अब्बासीको प्रधानमन्त्रित्व अवधि ४५ दिनबाट जुन २०१८ सम्मको आम निर्वाचनसम्म लम्बिएको हो ।

सरिफप्रतिको निष्ठा
५८ वर्षीय अब्बासीको पाकिस्तानमा रहेको सबैभन्दा बलियो परिचय भनेको ‘उनी नवाफप्रति उग्र निष्ठा राख्छन’् ।

सन् १९९९ मा श्रीलङ्काबाट फर्किंदै गरेका सेनाका प्रमुख प्रवेज मुसरफको प्लेन अपहरण गर्न खोजिएको आरोपमा निर्वाचित प्रधानमन्त्री नवाफ सरिफलाई अपदस्थ गरियो । अब्बास सो समय नवाफको पार्टीबाट राष्ट्रिय सभामा निर्वाचित सदस्य थिए । ‘कू’अघि उनी सरकारी पाकिस्तान अन्तर्राष्ट्रिय एअरलाइनको प्रमुख थिए ।

आफ्नो दुई वर्षे कार्यकालमा सो सरकारी निगमको काँधमा रहेको भारी ऋणमुक्त गरेको भनेर वाहवाही पाएका अब्बासीलाई मुसरफले अपहरणमा मिलेमतो गरेको आरोप लगाए । सेनाको पक्षमा आए सजाए नहुने भनेर लोभ्याउन खोजिएको अवस्थामा अब्बासले आफ्ना नेता र राजनीति गुरु सरिफलाई धोका दिनुको साटो जेल रोजे । उनी दुई वर्षपछि जेलमुक्त भएका थिए ।

मुसरफको शासन अवधिमा सरिफ साउदी अरब निर्वासित भएका थिए । त्यो समय अब्बासले पनि राजनीति छाडेर निजी विमान कम्पनी खोलेर बसे । सो समय उनले खोलेको हवाई कम्पनी ‘एअर ब्लु’ हाल पाकिस्तानको सबैभन्दा सफल निजी विमान कम्पनी मानिन्छ ।

अब्बास २००७ मा नवाफ सरिफ देश फर्किएपछि मात्र राजनीतिमा फर्किएका थिए ।

पेट्रोलियम मन्त्रीको रूपमा चर्चा

अब्बासीको पाकिस्तानमा प्रसिद्धि उनको पेट्रोलियम मन्त्रीका क्रममा गरेका कामले भएको थियो । सन् २०१३ को आम निर्वाचनमा नवाफ सरिफको पार्टीले बहुमत पायो । अब्बास नवाफको सरकारमा पेट्रोलियम मन्त्री भए । उनले सो समय डिजेलले चलिरहेका थर्मल प्लान्टलाई एलपीजी ग्यासमा बदलेर राष्ट्रको कोषमा अरबौँ डलर बचत गराए । उनले यसका लागि कतारसँग सम्झौता गरेका थिए । पहिले सो सम्झौतामा निक्कै ठूलो रकम भ्रष्टाचार भएको भनेर राष्ट्रिय चर्चा पाएको थियो । पछि गरिएको अध्ययनले त्यसो नभएको भन्ने प्रमाणित गरेपछि उनको प्रयासको प्रसंशा भयो ।

पाकिस्तानमा धेरैले सरिफको राजीनामा पछि अब्बासले प्रधानमन्त्री पद पाउने कारणमा अघिल्लो सरकारमा उनले कायम गरेको स्वच्छ छविले काम गरेको विश्वास गरिन्छ । अब्बास सरिफ सरकारमा सबैभन्दा स्वच्छ छविको सदस्य मानिन्छन् ।

प्रधानमन्त्रीका रूपमा

४५ दिन प्रधानमन्त्री बन्ने हल्लाबीच अब्बासले प्रधानमन्त्री भएपछि राष्ट्रिय सभालाई दिएको पहिलो सम्बोधनमा ‘आफू ४५ दिन प्रधानमन्त्री भए पनि ४५ घण्टा भए पनि प्रधानमन्त्रीको कुर्सी ओगट्न मात्र नभई केही काम गरेर देखाउने’ बताए । उनी प्रधानमन्त्री भएपछि पहिले आफू पेट्रोलियम मन्त्री हुँदा सुरु गरेका कामलाई निरन्तरता दिइरहेका छन् । उनले अर्थ मन्त्रालय अन्तर्गत रहेका कमिटी आफूअन्तर्गत लिएका छन् । यसले गर्दा उनले केही उलेख्य कदम चाल्ने अनुमान गरिए पनि उनले नवाफ सरिफको समयमा लिइएका नीतिलाई अघि बढाउनेमा ध्यान दिएको देखिन्छ ।

अमेरिकासँगको खराब सम्बन्ध

अमेरिकाले केही पहिलेदेखि नै अफगानिस्तानी उग्रपन्थीविरुद्धको युद्धमा मित्रशक्ति मानेको पाकिस्तान इमानदार नरहेको गुनासो गरिरहेका थिए । अफगानिस्तानले बारम्बार आफूहरूको देशमा हमला गरेर तालिबान लडाकुहरू पाकिस्तानको सीमामा पार गर्ने र तिनले पाकिस्तानी सेनाको संरक्षण पाइरहेको आरोप लगाइरहेको थियो ।

ट्रम्प प्रशासनले यो बारेमा ठोस कदम चाल्ने चेतावनीबीच अब्बासले प्रधानमन्त्रित्व लिएका थिए । २१ अगस्टमा २०१७ मा अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानले आतङ्कवादलाई सहयोग गरिरहेको आरोप लगायो । अब्बासको कूटनीतिक प्रयासका बाबजुद अमेरिकाले १ जनवरी २०१८ मा पाकिस्तानलाई दिइरहेको २५ करोड अमेरिकी डलर सुरक्षा सहयोग बन्द गर्ने घोषणा गर्यो । त्यसको पाँच दिनपछि अमेरिकाले पाकिस्तानलाई दिइरहेको सम्पूर्ण सहयोग बन्द गर्ने घोषणा गर्यो ।

विज्ञहरूका अनुसार अमेरिकाको यो कदम पाकिस्तान पछिल्लो समय चीनसँग नजिकिएको प्रतिक्रियामा आएको मानिन्छ । चीनले ‘चीन–पाकिस्तान आर्थिक कोरिडोर’ नामक ६२ अर्ब अमेरिकी डलरको परियोजना सन् २०१३ मेदेखि पाकिस्तानमा सञ्चालन गरिरहेको छ ।

अमेरिकाको यो निर्णयपछि अब्बासीले अमेरिकाको सहयोग निक्कै ‘महत्वहीन’ रहेको बताएर आफू अमेरिकासँग ननिहुरिने सङ्केत दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप