शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

...त्यो भित्रको कथा त भन्न सक्दिनँ– करिमा बेगमको अन्तरवार्ता

बुधबार, १६ फागुन २०७४, ११ : २७
बुधबार, १६ फागुन २०७४

पहिलो संविधानसभा निर्वाचन (२०६४) सालमा पर्सा–१ बट चुनाव जितेकी करिमा बेगम ०६६ मा कृषि राज्यमन्त्री बनिन् । कृषि राज्यमन्त्री हुँदा राम्रो गाडी नदिएको भन्दै पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर चर्चामा आएकी बेगम अहिले प्रदेश २ को प्रदेशसभा सांसद भएकी छिन् । समानुपातिकतर्फबाट प्रदेशसभा सांसद बनेकी बेगम सङ्घीय समाजवादी फोरमको केन्द्रीय सदस्यसमेत हुन् । वीरगञ्ज स्थायी घर भएकी बेगम गत साता प्रदेशसभाको बैठकमा सहभागी हुन जनकपुर जाँदा त्यहाँको ‘होटल मानकी’मा बसेर बैठकमा सहभागी भइन् । प्रदेश २ को अस्थायी राजधानीमा सधैँ होटलमा बसेर राजनीति सम्भव छ भन्ने रातोपाटीको जिज्ञासामा उनले भनेकी छिन्, ‘होटलको बसाइ महँगो हुन्छ, जनकपुरमा डेरा खोज्दै छु ।’
 

दुई नम्बर प्रदेशकी प्रदेश सांसद करिमा बेगमसँग रातोपाटीका लागि राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
 
एक पटक निर्वाचित सांसद, मन्त्री पनि हुनुभयो । अहिले चाहिँ समानुपातिकबाट प्रदेश सभाको सांसद भएर शपथ लिँदा, बैठकमा सहभागी हुँदै गर्दा कस्तो अनुभव गर्नुभएको छ ?
काम गर्नका लागि ठिकै छ । जहाँ पनि बसेर काम गर्ने हो । त्यो बेलामा पहिलो पटक संविधानसभाको निर्वाचन भएको थियो । हामी सांसदमा पुग्दा अर्कै खालको हौसला थियो । तर पनि कहिले के हुन्छ, कहिले रूखमा पनि बढी फल लाग्छ, कहिले कम फल लाग्छ । त्यसले केही छैन, जुनबाटोबाट हिँडे पनि जनताको र देशको सेवा गर्न र काम गर्न पाएँ । त्यसमा हर्ष छु खुसी लाग्छ ।

हैन, पहिले त्यो पदमा पुगिसकेको मान्छे, त्योभन्दा यो त सानो क्षेत्र हो जस्तो लाग्दैन ?
अब त्यो भित्रको कथा त भन्न सक्दिनँ तर पनि जे छ एकदम राम्रो छ खुसी छु ।

केन्द्रको राजनीति र प्रदेशको राजनीतिमा कस्तो अन्तर पाउनुभो ?
केन्द्रको राजनीति समुन्द्र हो, प्रदेशको राजनीति पोखरी हो । समुन्द्रमा एकतिरबाट तर्दै तर्दै जाँदा पूर्रै समुन्द्र तर्न धेरै समय लाग्छ । पोखरीमा एउटा आहालबाट डुबुल्की हानेपछि अर्को आहालमा निस्किन सकिन्छ । पोखरीको पानीको अन्दाज हुन्छ तर समुन्द्रको पानीको अन्दाज हुँदैन ।

प्रदेश सांसदका रूपमा तपाईंको आफ्नो, काम, अधिकार र कार्यक्षेत्रको बारेमा जानकार हुनुहुन्छ ?
जानकार छु, थाहा छ ।

तपाईं वीरगञ्जको स्थायी बासिन्दा हुनुहुन्छ, जनकपुरमा प्रदेश संसदको बैठकमा आउँदाजाँदा उतैबाट आउनुहुन्छ कि डेरा लिनुभएको छ ?
अप्ठ्यारो छ, अहिलेसम्म डेरा पाइरहेको छैन । अनि जनकपुर काठमाडौँ भन्दा पनि महँगो छ, जनकपुर धार्मिक र पर्यटकीय स्थल भएकाले महँगाई बढी छ । तर अहिले हामी जति सांसद आएका छौं यहाँ केही न केही हुन्छ, अझ भनौँ दुई नम्बर प्रदेशका जनता राम्रोसँग बाँच्न, कमाउन र हातमुख जोर्न सकून् ।

दुई नम्बर प्रदेश गरिबीको रेखामा पनि एकदमै तल छ, बेरोजगारी त्यस्तै छ, विकास हुन सकेको छैन । जनकपुर प्रदेशको अस्थायी राजधानी भएको छ, यहाँको जनताले अहिले हर्षित छन् । दुई नम्बर प्रदेशका सबैको चाहना के छ भने लोकतन्त्र र सङ्घीयताको जुन उपलब्धि हामी पाएका छौँ त्यसमा  दुई नम्बर प्रदेश २२ जिल्लाको हुनुपर्छ । ८ जिल्लाको मात्रै हैन ।  हाम्रो पहिले जुन २२ जिल्लाको माग थियो त्यो २२ जिल्ला नै समेट्नुपर्छ, मात्रै यो टाउको दिएर जिउ काट्न पाइँदैन । हाम्रो पूरै जिउ चाहियो पूरै जिउ भए पो मान्छे स्वस्थ हुन्छ ।

अस्थायी राजधानीमा सक्रिय राजनीति गर्नका लागि डेरा लिन खोज्दा पाउनुभएन् ?
डेरा खोज्दै छु, अब यहाँ आउने जाने गरिरहनुपर्छ । यहाँको नियमावली बनाउनुपर्छ, सदनबाट नियम कानुन सबै पारित गर्नेपर्छ । सधैँ वीरगञ्जबाट भ्याउन सम्भव पनि छैन । अस्थायी रूपमा बस्नुपर्ने आवश्यकता छँदैछ, चार पाँच दिनको कामका लागि सधैँ होटलमा बसेर सम्भव पनि हुँदैन् । होटलमा बसेर कति दिन भ्याउने ? त्यसैले मलाई यहाँ डेरा आवश्यक छ, डेरा खोजी राखेको छु ।

वीरगञ्जले राजधानी सार्नुपर्छ भनेर आन्दोलन पनि गरेको थियो, अब के छ राजधानी सार्ने विषयमा ?
अब हामी प्रयास गर्छौं किनकि हाम्रा पाँच जिल्ला एकातिर छन्, तीन जिल्ला अर्कातिर छन् । बहुमत वीरगञ्जतिर भएको हुनाले हामी प्रयास गरिरहेका छौँ, अब हेरौँ के हुन्छ, पछिको कुरो हो ।

पहिलो नम्बरमा विकासको समस्या छ । दुई नम्बरमा बेरोजगारी, तीन नम्बरमा गरिबीको समस्या छ । अहिले कहीँ केही छैन, अलिअलि बाटो सुधार हुँदै छ, त्यसले हुँदैन । भन्छन् नि, अनुहार हेरेर जिउलाई थाहा हुँदैन,  जिउमा के छ भनेर ।

मुलुकले एउटा फड्को मारेको छ, सङ्घीय राज्य प्रणालीसमेत लागू भइसकेको परिवेशमा तपाईंहरू राजधानी आफ्नो घरमा बनाउनेतिर लाग्नुहुन्छ कि विकासका कामतिर ध्यान दिनुहुन्छ ?
जनताका कामका लागि हामी लागेका छौँ । ‘हाम्रो होस्, मेरो होस् म मात्र हुँ’ यस्तो नहोस् । लोकतन्त्र र सङ्घीयताको मतलव  के हो,  सबैका लागि हो । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा पुरानो भइसक्यो, जे छ मेरै लागी भएको छ भन्ने होईन यो परिवर्तन हामी सबैको लागी हो । सबैका लागि साधन, सुविधा, विकास रोजगारी अनि के छ भने जति पछाडि परेको छ सबैका लागि हो । खाएको मान्छेलाई के खुवाउने ? जो भोकै मरिरहेको छ, तिनीहरूलाई खुवाएर जगाउने हो ।

दुई नम्बर प्रदेशको समस्या चाहिँ के देख्नुभएको छ ?
दुई नम्बरको समस्या बढी जर्जर छ । आर्थिकदेखि लिएर, बेरोजगार र गरिबीको समस्या जर्जर छ । यसलाई सुधार्नमा समय लाग्छ तर राम्रै हुन्छ ।

तपाईंले केही सुधारको प्लान बनाउनुभएको छ ?
हाम्रो प्लानिङ अब हुन्छ ।  प्लानिङ छ भनेर मात्रै हुने कुरा हैन, एउटा भिजन बनाएर सबै साथीभाइ सबै विधायकलाई राखेर टेबुल टक गरेर मात्रै सुधारको प्लान बनाउन सकिन्छ । करिमा बेगमले मात्रै सुधारको प्लान बनाएर हुँदैन, सबै मिलेर बनाउनुपर्छ ।

तापाईंले पहिचान गरेका यहाँका समस्या के–के हुन् ?  
पहिलो नम्बरमा विकासको समस्या छ । दुई नम्बरमा बेरोजगारी, तीन नम्बरमा गरिबीको समस्या छ । अहिले कहीँ केही छैन, अलिअलि बाटो सुधार हुँदै छ, त्यसले हुँदैन । भन्छन् नि, अनुहार हेरेर जिउलाई थाहा हुँदैन,  जिउमा के छ भनेर । त्यस्तै मुख्य हाइवेको बाटो भएर मात्र हुँदैन, यहाँ थुप्रै समस्या छन् । अब विस्तारै यहाँ राजधानी आयो, अब विस्तारै विकासको मूल फुट्छ ।

यहाँका गरिबीलाई अन्त्य गर्नका लागि म यो भूमिका खेल्न सक्छु भन्ने तपाईंको केही अठोट छ ?
दुई नम्बर प्रदेशको गरिबी र बेरोजागरी अन्त्य गर्नका लागि पहिला त यहाँको सिगरेट फ्याक्ट्री छ, हाम्रो वीरगञ्जको चिनी मिल काराखाना छ यस्ता ठूला उद्योग  सञ्चालन गर्नुपर्छ । काँग्रेसको पालामा जसरी बन्द भएको थियो, त्यो उद्योगलाई सञ्चालन गरेर रोजगारी सिर्जना गर्न सकिन्छ । जनकपुर चुरोट कारखाना सञ्चालन हुनासाथ १० हजारले रोजगारी पाउँछन्, वीरगञ्जको चिनी मिल सुरु हुनासाथ कम्तीमा पाँच हजारले रोजगारी पाउँछन् । रोजगारीको अवसर नहुँदा यहाँका श्रमशक्ति विदेश पलायन भइरहेका छन् । उनीहरूलाई रोक्नका लागि केही त गर्नै पर्छ । हाम्रो देशका युवा विदेशमा नजाउन्, यहीँ रोजगारको अवसर सिर्जना गर्नका लागि मुख्मन्त्रीसहित हामी बसेर एउटा ठोस योजना ल्याउँछौँ ।

यहाँ सदिऔँदेखिको दाइजो प्रथा, छुवाछूत अन्त्य गर्नका लागि चाहिँ तपाईंको भूमिका के हुन्छ ?  
हामी दाइजो प्रथाविरुद्धको आवाज त उठाइ नै रहेका छौँ । घरेलु हिंसा र दहेज प्रथाका कारणले थुप्रै चेलिबेटीले पीडा भोगिराखेका छन् । थुप्रै चेलिबेटीहरूलाई गाली गलौज गर्ने, जलाएर मार्ने शोषण गर्ने यो चलिरहेको छ । त्यसैले यो कुरा त पुरानो भइसकेको छ, यसमा हामीले आवाज उठाएका छौँ, काम गरिरहेका छौँ । यहाँ ‘छोरी पढाऊ, दहेज हटाऊ’ भन्ने अभियान चलिरहेको छ । 

(फोटो : कृष्ण खड्का) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप