आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मलाई गलत हुनबाट रोक्नुहोस्ः मन्त्री यादव

सोमबार, १४ फागुन २०७४, २२ : ०१
सोमबार, १४ फागुन २०७४

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताउनुभएको छ । 

आज सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 

“भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु,” मन्त्री यादबले भन्नुभयो । 

“अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ”, उहाँले भन्नुभयो । 

मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । 

संविधानको निर्देशअनुसार समाजवादको आधार तयार गर्नेगरी काम गर्ने पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराउँदै एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उल्लेख गर्नुभयो । 

उहाँहरुले अहिलेको मुख्य समस्या मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याउने तयारीमा लागेको बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप