बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

के भयो ओली र प्रचण्डबीच आजको वान टु वान वार्तामा ?

आइतबार, १३ फागुन २०७४, २१ : ४०
आइतबार, १३ फागुन २०७४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ द्विपक्षीय छलफल भएको छ । 

राजधानी बाहिर रहेका प्रचण्ड साँझ काठमाडौँ फर्किए लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच करिब ४५ मिनेट छलफल भएको छ ।

बालुवाटार स्रोतका अनुसार आजको छलफल मन्त्रिपरिषद विस्तारमा केन्द्रीत रहेको थियो ।  स्रोत भन्छ, माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भोलि बिहानसम्म माओवादीबाट सरकारमा सहभागी हुने सातै जना मन्त्रीहरुको नाम बुझाउने बताएका छन् ।

माओवादीले मन्त्रीहरुको नाम बुझाएर भोलि साँझ चार बजे मन्त्रीहरुको सपथको तयारी गरिएको पनि बुझिएको छ ।

त्यस्तै, अन्य प्रमुख पदको भागबन्डाको विषयमा पनि दुई नेताहरुबीच छलफल भएको थियो ।

यता, माओवादी स्रोतका अनुसार यसपटक माओवादीले कसैको पनि ‘नेतृत्व’मा भनेर मन्त्रीहरु नपठाउने भएको छ । पार्टी एकीकरणको चरणमा रहेको भन्दै विगतको अभ्यास तोडेर सरकारमा सहभागी हुने मन्त्रीहरु सबै ओलीकै नेतृत्वमा सहभागी हुने पार्टी अध्यक्ष प्रचण्डले आफ्ना निकटस्तहरुलाई सुनाउने गरेका छन् ।

यसो त प्रधानमन्त्री ओलीले पनि यसपटक एउटै पार्टीको सरकार भएका कारण कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने धारणा यसअघि नै प्रष्ट पारिसकेका छन् ।

थोरै पदका लागि धेरै आकाँक्षी देखिएपछि माओवादीलाई मन्त्रीहरुको नाम टुंग्याउन सकस परिरहेको छ भने एमालेले पनि मन्त्रीहरुको नाम टुंग्याउने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई नै सुम्पेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप