शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योती मगरको जीवन : त्यो त भन्न मिल्दैन क्या !

आइतबार, १३ फागुन २०७४, १२ : १२
आइतबार, १३ फागुन २०७४

ज्योती मगर नेपाली सङ्गीतिक क्षेत्रकी ग्लामरस तथा सेक्सी गायिका हुन् । लोक गीत गाएर उदाएकी मगर अहिले म्युजिक भिडियो र स्टेज पर्फर्मेन्समा छाएकी छन् । खुलापन अपनाएर चर्चाको विषय बन्दै आएकी मगरका ‘ओए ज्योती देउन एक चोटि’, ‘ठोक्न सक्नेले लैजाऊ’, किसले मतायो’ जस्ता थुप्रै दोहोरो अर्थ लाग्ने गीतहरू सार्वजनिक भएका छन् । उनी विभिन्न महोत्सव आयोजकका रोजाइकी गायिका पनि हुन् । उनलाई महोत्सवको स्टेजमा उभ्याउन सकियो भने दर्शक भरिने आयोजकको बुझाइ रहेको छ । उनले पनि आफ्ना गोप्य अङ्ग देखिने पहिरन लगाउनेदेखि दोहोरो अर्थ लाग्नेसम्मका गीत गाएर महोत्सवमा आयोजकको चाहना पूरा गर्ने गरेकी छन् । त्यसैले पनि महोत्सवका लागि उनी महँगी गायिका पनि हुन् । उनी जहाँ जान्छिन्, केही न केही हङ्गामा गर्न पछि पर्दिनन् । मिडियामा कसरी हट केक बन्न सकिन्छ भन्ने राम्ररी बुझेकी उनलाई धेरैले अश्लिल गायिकाको ट्यागसमेत भिराएका छन् । लोक गायिका भएर चलचित्रका हिरोइनले भन्दा पनि छोटा लुगा लगाउने छाडा गायिका भनेर पनि केहीले उनलाई गालीसमेत गर्ने गर्दछन् । ‘कला’, ‘गला’ र ‘ग्ल्यामर’ एकसाथ प्रयोग गरेर चर्चाको केन्द्र विन्दुमा रहँदै आएकी गायिका ज्योतीका जीवनका पाटाहरू के कस्ता रहेका छन् भन्ने बुझ्ने सबैको इच्छालाई मध्यनजर गरेर गायिका मगरसँग रातोपाटीको मेरो जीवनका लागि कुवेर गिरीले गरेको कुराकानी ।

मेरो खाना

खानेकुरामा खासै शौखिन छैन । नेपाली दाल, भात र तरकारी मेरो मनपर्ने खाने खाने कुरामा पर्छ । यसमा गुन्द्रुक, मस्यौरा र माछा मासु मिसाउँदा पनि राम्रो हुन्छ । रेस्टुरेन्ट धेरै जानेमा म पनि एक हुँ । धेरैजसो खानेकुरा रेस्टुरेन्टमा नै खाइन्छ । रेस्टुरेन्टमा प्रायः खाने मःमः र चाउमिन नै हो । यो जहाँ पनि सजिलै पाइन्छ । पकाउन मलाई दाल, भात, तरकारी र मासु मात्र आउँछ । मीठो त भन्दिनँ, ठिकै ठिकै बनाउँछु ।

मेरो पोसाक

पोसाकमा शौखिन छु । छोटो वानपिस नै मलाई धेरै प्रयोग गर्न मनपर्छ । मन पर्ने कलर कालो हो । त्यसपछिका अन्य सबै ठिकै लाग्छन् । ग्रिन र पिङ्क बढी प्रयोग गर्ने गरेकी छु । पोसाकमा वार्षिक खर्च भन्ने हो भने धेरै हुन्छ होला । एउटा कार्यक्रमका लागि मिनिमम १० हजारको सपिङ गरेकै हुन्छु । महिनामै १० वटासम्म कार्यक्रम पर्ने गरेको छ । विषेश कार्यक्रम, चाड पर्वका आदिका लागि बुटिकमा पहिरन अडर गर्छु । अन्य समयका लागि पैसा र समयको कारणले यो सम्भव छैन । रेडिमेट किन्छु । बुटिक चाहिँ उत्तम बनेपाली नै रोज्ने गरेकी छु ।

मेरो फिटनेस

फिटनेसतिर जिरो छु । डाइटिङ, जिम, योगा सबै जिरो । घरमा फिटनेसको त्यस्तो केही समान पनि छैन । फिटनेस गर्नुपर्छ भन्ने लागेको छ । यो नभएर होला, सायद मोटी भइरहेकी छु । मन लागेको कुरा खानेबानी भएकोले ‘डाइटिङ’ छैन ।

मेरो अध्ययन

म अल्छी छु । पढ्न भनेपछि झन् अल्छी लाग्छ । पहिला पहिला धेरै पढ्न मन लाग्थ्यो । त्यति बेला कथा, उपन्यासहरू धेरै पढ्थे । लेखनमा गीतहरू लेख्ने रुचि छु । लेख्न पनि मुड अनुसार भरपर्छ । जतिबेला मुड आउँछ । त्यति बेला लेख्ने गरेकी छु । धेरैजसो रोमान्टिक गीत लेख्छु । कहिले काहीँ दुःख परेको बेलामा यस्तै खालका गीतहरू पनि फुर्छन् ।

मेरो घुमफिर

कामले नै घुमाउँछ मलाई । धेरै ठाउँ पुगिसकेकी छु । तर ती ठाउँमा गएपछि घुम्न, फोटो लिन अल्छी लाग्छ । अहिलेसम्म देशका ६० जिल्ला पुगेँ होला । विदेश १५, १६ वटा जति देश टेकेँ । नेपालको घुम्न मनपर्ने ठाउँ पोखरा हो । त्यहाँको रात्री जीवन राम्रो लाग्छ । विदेशमा मन पर्ने जापान नै हो । जापानी लाइफ विन्दास लाग्छ । त्यहाँका मानिसलाई भीआएपी बन्नुपर्छ, रेस्टुरेन्ट गएर अरूलाई देखाउनुपर्छ भन्ने छैन । बाटोमा बसेर पनि खाइरहेका हुन्छन् । त्यो जीवन मनपर्छ ।

मेरो फुर्सद

त्यस्तै महिनाको ४, ५ दिन मात्र फ्री हुन्छु । कामबाट थाकेर फर्किने वित्तिकै निदाउँछु । जति नै व्यस्त भए पनि स्टेज कार्यक्रम छोड्न मनै लाग्दैन । म्युजिक भिडियोको सुटिङ गर्न अहिले अल्छी लाग्न थालेको छ । सुटिङका लागि बिहानै उठ्नुपर्ने, नखाई नखाई काम गर्नुपर्ने भएर हो । फुसर्दको समय इन्टरनेटमा रमाउन मनपर्छ । म उज्यालो भएको, रात परेको केही थाहा पाउदिन इन्टरनेटमा रमाउन थालेपछि । घरको सरसफाइ पनि गर्ने गरेकी छु । फुर्सदको समय परिवारसँग चलचित्र हेर्न जाने, बाहिर खान जाने गर्दछु ।

मेरो खेलकुद

खेलतिर रुचि कति पनि छैन । वल्र्डकप आयो भने फुटबल हेर्ने गरेकी छु । यो समय फुटबलमा सबैले बाजी लगाएर हेरिरहेका हुन्छन् । त्यो समय रमाइलो लाग्छ । बच्चामा भलिबल खेल्थेँ । स्कुलमा यो मात्र थियो । खेलाडीमा मेसी मनपर्छ । बलसँग खेल्ने उनको शैली राम्रो लाग्छ ।

मेरो मोबाइल

एउटा मोबाइल सेट छ । सामसुङ ब्रान्डको । यसभन्दा पहिले २३ हजारको बोक्थेँ । अहिले फोटोका लागि भनेर राम्रो किनेकी छु । यसको मूल्य ९० हजार पर्छ । मेरो हातमा मेबाइल टिक्दै टिक्दैन । फुट्छ, हराउँछ, पानीमा डुब्छ । त्यसैले मोबाइल फेरिरहेकी हुन्छु । गीत रेकर्ड गर्न, भाइबर, फेसबुक, युट्युब आदिका लागि मोबाइल सजिलो भएको छ ।

मेरो टेलिभिजन

टिभी नहेरको धेरै भयो । पहिला पहिला टिभी हेरेर कोठाबाट बाहिर निस्कन्न थिएँ । अहिले टिभीमा आउने सबै मोबाइलबाट हेर्न सकिने भएकाले बानी छैन । सिरियलहरू, रियालिटी सो, अवार्ड सो हेर्न मनपर्छ । भ्याएको समय बेलुका टिभी हेर्छु । टिभी कलाकारमा मान्ने बुढा मनपर्छ । उनको हसाउने शैली अरूभनदा फरक र रियालटीले भरिएको छ ।

मेरो चलचित्र

धेरै चलचित्र हेर्ने गरेकी छु । हालै चलचित्र छक्का पन्जा २ पनि हेरेको थिए । मलाई चलचित्र हलमा हेर्न मनपर्छ । हेर्न मन लागेको चलचित्र हलमा गएर हेर्ने गरेकी छु । केही चलचित्र फुर्सदमा जाउँलाभन्दा भन्दै छुट्ने गरेका छन् । सानोमा हेरको चलचित्र मुग्लान धेरै राम्रो लाग्यो । यस चलचित्रमा दिलिप रायमाझीको भूमिका अहिले पनि सम्झना छ । मन नपरेका चलचित्र पनि धेरै छन् । धेरै ड्रामाले भरिएको चलचित्र मन पर्दैन । पहिले श्रीकृष्ण श्रेष्ठको अभिनय राम्रो लाग्थ्यो । अहिले दयाहाङ राई, सौगात मल्लहरूको अभिनय बेस्ट लाग्छ ।

मेरो रोग

अहिलेसम्म त्यस्तो रोग छैन है । केही पहिले डाइटिङ गर्ने भनेर खानपान कम गरेकी थिएँ । त्यो समय ग्यास्ट्रिकदेखि विभिन्न रोगले सताएको थियो । अहिले मज्जाले खाने गरेकी छु । त्यस्तो रोग देखिएको छैन । कहिले काहीँ एलर्जीले सताउँछ, त्यो पनि ओछ्यान फोहोर भएको समयमा । अहिलेसम्म जम्मा एक पटक ‘होलबडी चेकअप’ गराएकी थिएँ । त्यस्तै डेढ वर्ष अगाडि होला । चिन्तित मानिसलाई रोगले सताउँछ जस्तो लाग्छ मलाई । त्यसैले चिन्ता लिन्न रोगले पनि छोएको छैन ।  

मेरो भाषणशैली

कहिले कहिले गीत गाउने सिलसिलामा केही भाषण पनि ठोक्नुपर्छ ।  यस्तो अवस्थामा आफ्नै शैली प्रयोग गर्न मनपर्छ । स्टेजमा गएर जो कलाकार बोल्न जान्दैन, त्यो राम्रो हो जस्तो लाग्छ । किनभने कलाकारको काम बोल्ने होइन । नजानेर बोलेको बेस्ट हो भन्ने मेरो विचार छ ।

मेरो मापसे

मापसे गर्छु, तर सधैँ होइन । नेपाली ब्रान्डको तुम्बा मनपर्छ । यो तातोपानीसँग खाने भएकाले मज्जा लाग्छ । घरमा साथीभाइ आउँदा पिउने गरेकी छु । घरमा रक्सी सजाएर राख्दिनँ । अहिलेसम्म एक दुई चोटि खाएको मदिरा धेरै लागेको थियो । मदिराको नसा हटाउन साथीहरूले धेरै आइडिया दिए । तर काम गरेन । मेरो विचारमा मदिरा खाएपछि निन्द्रा लाग्यो भने आफै हट्छ । भाइ, नजिकका साथीहरूसँग बसेर मात्र मापसे गर्छु ।

मेरो सङ्गीत

गीत–सङ्गीत धेरै मनपर्छ । गाउनलाई लोक गीत गाउने गरे पनि सुन्नलाई सेन्टिमेन्टल मनपर्छ । गायिकामा अञ्जु पन्त मनपर्छ । मन पर्ने गीत समय अनुसार फरक फरक छन् । एक समय आफ्नो हल्का लभ परेको समयमा  ‘न बिर्सिएँ तिमीलाई, नपाएँ तिमीलाई’ मनपथ्र्यो । अहिले त्यही गीत वाइयात लागेर आउँछ । बाथरुम जाँदा, एक्लै बस्दा, सवारी चलाउँदा गीत गुनगुनाउने गरेकी छु ।

मेरो भूल

जानीजानी र अन्जानमा गरेका धेरै गल्ती छन् । गल्ती गरेर अहिलेसम्म सजाय पाएकी छैन ।  गल्ती अरूले थाहा पाए पो सजायको कुरो आउँछ । स्कुलमा म गुड गर्ल थिएँ । सजाएको कुरै भएन । आफूले गरेको धेरै गल्ती अरूलाई थाहा हुँदैन । कहिलेकाहीँ साथीभाइ मैले नगरेको गल्तीबाट रिसाइरहेका हुन्छन् । यो समय दुःख लाग्छ । यस्ता घटना थुप्रै छन् । भन्न मिल्दैन क्या ।

मेरो घर

घर काठमाडौँमा छैन । बनाउने सोच छ । सानो घर बनाउने हो । गाउँमा जन्मिएकी भएर होला, मलाई गाउँमा बार्दली निकालेका घरहरू निकै मनपर्छ । आफूले बनाएका घरको बार्दलीमा बसेर ऐना हेर्दै कपाल कोर्न मन छ । त्यो सायद सम्भव नहोला । छतमा बसेर घाम ताप्ने घर काठमाडौँमा बनाउने मन छ ।

मेरो राशि

मेरो हराएर जुराएको नाम नै छैन । बोलाउने नामबाट मेरो राशि मकर पर्छ । बिहान उठेर राशि हेर्छु । अहिलेसम्म मिलेकै छैन । ग्रहदशा धेरै पटक हेराएकी छु । विश्वास लाग्छ । शतप्रतिशत विश्वास लाग्दैन है । बितेको कुरा मिल्छ । भविस्य बताएको मिल्दैन । ग्रहदाशा हेराएपछि डर लागेर पूजासमेत गरेकी छु । हेराउँदा, खै, केके राखेर औँठी लागाउने सिफरिस गरिएको थियो । मैले अहिलेसम्म त्यसो गरेकी छैन ।

मेरो सौन्दर्य

सौन्दर्यतिर खासै रुचि छैन । यो फिल्डमा आएपछि मेकअप त गर्नु आवश्यक छ । तर म अल्छी भएकाले मेकअपमा ध्यान दिन्नँ । कहिलेकाहीँ फेसियल गर्ने गरेकी छु । अनुहारमा क्रिम लगाउँछु । मेकअपमा म्याक ब्रान्डको सामान प्रयोग गर्छु । बाँहिर हिँड्दा सम्झिएँ भने सेन्टसमेत छर्कन्छु । बिर्सिए त्यतिकै चलिरहेको छ । अहिलेसम्म मसाज गएकी छैन । जाने इच्छा छ ।

मेरो सपना

मानिसका जेनेरेसनहरू चेन्ज हँुदै जान्छन् । सबै जेनेरेसमा आफू छाइरहन पाउँ भन्ने एउटै सपना, चाहना जे भने पनि यही छ । समाजसेवातिर लाग्ने इच्छा छ । स्कुल पढ्दा आफू पढ्ने स्कुलमा कार्यक्रम गर्ने राम्रो स्टेज थियो । सङ्गीतका सामानहरू थिएनन् । आफू पढेको स्कुलमा स्टेज र म्युजिकका समान उपलब्ध गराउने सपना छ । यो ठूलो सपना पनि होइन । पूरा गरेर छाड्छु ।

 

मेरो मृत्यु

मृत्यु ठूलो सत्य हो । मृत्युबारे सोच्न किन पर्यो र ? यो आफ्नो समयमा आइहाल्छ । सहज मृत्यु होस् । मृत्युमा धेरैको साथ रहोस् । यही छ इच्छा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप